लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफलको बाटो खुल्यो



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान विरुद्ध पेश भएको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । विशेष अधिवेशन आह्वान बदर गरी पाउं भनी अधिवक्ता प्रवेश केशी रिट निवेदन लिएर शुक्रबार सर्वोच्च अदालत पग्नु भएको थियो । आइतबार रिटका विषयमा छलफल हुंदा हकदैयाको अभावमा दर्ता गर्न नमिलेपछि दरपीठ भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताउनु भयो । ‘हकदैयाको अभावमा रिट दर्ता गर्न मिलेन र दरपीठ भयो’– प्रवक्ता दाहालले बताउनु भयो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी चार दलको गठवन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन बोलाउन समावेदन गरेका थिए । नेपाली कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेको लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नु भएको छ ।

सर्वोच्चले रिट दर्ता नगरेपछि अब साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन बस्ने बाटो खुलेको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने छ । यो संगै बैशाख महिनादेखि लुम्बिनी प्रदेश सरकार जोगाउने र ढालेर नयां सरकार बनाउने सत्ता पक्ष र विपक्षीको प्रयासको छिनोफानो यही साता भित्र हुने छ ।

प्रदेश सभामा हाल कायम ८० सांसद मध्ये वहुमतको सरकार बनाउन ४१ मत चाहिन्छ । अहिले मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा सत्तारुढ एमालेका ३८ सांसद मात्र छन् । विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना सांसद रहेका छन् । विपक्षी गठवन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कूल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउने गरि प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्