उत्कर्षमा पुगेको दोस्रो कोरोनाको अनखट



टंक पन्त

कारोना महामारीको दोस्रो लहरपछि तेस्रो लहर झन् खतरा हुँदै छ, सतर्क रहनू भनी स्वास्थ्य मन्त्रालयले तारन्तार ध्यानाकर्षण गराएको समाचार बनाएर घर फर्केको दिन रातिदेखि मलाई नै रुघा, खोकी, ज्वरोले सताउन पो थाल्यो । असहज महसुस हुन थालेको त दुई दिन अगाडिदेखि नै थियो । तैपनि म जेनतेन अफिस गएकै थिएँ । निकै गाह्रो भएपछि भने अफिस पनि जान सकिन ।

अघिल्लो दिन लेखनकुञ्जमा कमल ढकालसहितका साथीहरुसँग निकै गाह्रो भएको कुरा गर्दै गर्दा ‘होइन फेरि दुःख दिने त होइन ?’ भनेर सामान्य छलफल पनि भएको थियो । तर मैले दुई डोज खोप लगाइसकेको र त्यसमा पनि अघिल्लो महामारीका समयमा संक्रमणले नराम्ररी थला परेर नयाँ जीवन पाइसकेको हुनाले त्यो सम्भव नभएको कुरा कन्फिडेन्सका साथ साथीहरुसँग भनेको थिएँ । मेरो कन्फिडेन्सको आधार दुवै डोज खोप नै थियो । तर मेरो कन्फिडेन्समा नराम्रो वज्रपात हुने संकेत देखिँदै त छैन भन्ने आशंका हुन थालेको थियो ।अफिसबाट घर पुगेकै दिन साँझदेखि निकै गाह्रो बनायो । रुघा, ज्वरो, सामान्य खोकी मात्र नभएर शरीरका पूरै अंगहरु दुख्न थाले । अर्को दिन अफिस जान नसक्ने स्थिति भएपछि खबर गरेँ । झन् पछि झन् गाह्रो हुँदै गयो । ग्रिनसिटी अस्पतालका अध्यक्ष मेरा मित्र लोकबहादुर टण्डनसँग पनि कुरा भयो । उहाँले भन्नुभयो, ‘तुरुन्तै जाँच गराउनै पर्छ, नत्र तपाईं मात्र नभएर परिवारमा छरिन्छ । जाँच गर्नै पर्छ मित्र ।’नभन्दै अर्को दिन घरमै उहाँले पीसीआर जाँच गराउने व्यवस्था गरिदिनुभयो । स्वास्थ्यकर्मी घरमा आएर तपार्इं आइसोलेसनमा हो भनी सोधेका थिए । मैले त्यसो भन्दा पनि हुन्छ भनी उत्तर दिएँ । स्वास्थ्यकर्मीले स्वाब लिएर जाँदा पनि मलाई पोजिटिभ आउँछ भन्ने कल्पना गरेको थिइन तर साँझ मोबाइलमा म्यासेज आयो– कोभिड रिपोर्ट पोजिटिभ ।

रुघा, खोकी, ज्वरो भएको हुनाले आइसोलेसनमा त बसेकै थिएँ । मोबाइलमा म्यासेज आउनासाथ एकैछिन् त परिवारमा सुनाउने हिम्मत पनि गरिन । एक्कासि आँखाभरि आँसु पनि आएछ । किन होला मलाई नै दोहो¥याई दोहो¥याई कोभिड नै देखिनुपर्ने भन्ने प्रश्न मैले आफैंले आफैंलाई गरेँ । मैले परिवारलाई आँसु देखाउन हुँदैन, किनकि उनीहरुलाई थप पीडा हुन्छ भन्ने ठानेँ र एकैछिन् पछि मात्रै मनमा अनेक प्रश्न र कुरा खलिरहेको बेला अर्को कोठामा अफिसकै काम गर्दै बसेकी श्रीमती र छोरीलाई बोलाएर म्यासेज देखाएँ । मनमा निकै कुरा खेलिरहेको भए पनि परिवारलाई त्यो महसुस हुने स्थिति बनाइन ।गत मंसिरको अन्तिमतिर पनि कोरोनाले छोएर निकै थला परेको थिएँ । त्यतिखेर पाएको पीडा सम्झिँदा अहिले पनि शरीर जिरिङ्ग हुन्छ । त्यतिखेर कैयौं रात सुतिन । राति छट्पटिएर बत्ती बाल्दा पनि अँध्यारो देखिएको थियो । त्यस्तो अवस्थाबाट बाँचेको अर्थात् एकपटक लागिसकेको र खोप पनि लगाएको हुनाले दोहोरिँदैन भन्ने कुरा सही हुँदो रहेनछ भन्ने परिवारमा भयो । सिंहदरबार र अफिसबाहेक अन्यत्र भीडभाडमा जाने गरेको पनि थिइन भने कतिपय भेटघाटमा जाँदा पनि माक्स छोड्ने गरेकै थिइन । तैपनि किन यस्तो आइलाग्यो भन्ने प्रश्न त्यस दिन रातभरि नै उब्जिरह्यो । साँच्चै भन्ने हो भने आफन्त, नजिकका नातेदार, दाजुभाइ, साथीभाइ जो–कसैलाई पनि अप्ठ्यारो पर्दा जहिले पनि सम्भव भएसम्म अग्रभागमा रहेर सेवा पनि गर्ने गरेको छु । त्यो सेवा मलाई परेको बेला पनि गरुन् भन्ने उद्देश्यले भन्दा पनि मैले गर्नुपर्छ भन्ने मान्यताका साथ गर्ने गरेको छु । तर पनि अनेक प्रश्न फेरि पनि स्वाभाविकरुपमा उठ्दो रहेछ । धर्म, संस्कृति र परम्परालाई मैले शिरोधार्य गर्ने गरेको छु । त्यसैले पनि मैले सकारात्मक लक्ष्यको अपेक्षा गर्ने गरेको छु ।

कारोना महामारीले विश्वलाई नै तहसनहस पारेको छ । आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, पर्यटन एवं हरेक क्षेत्रमा पारेको प्रभावले गर्दा समृद्धि र विकासमा ठूलो धक्का लागेको छ । हरेक क्षेत्रको उद्योग व्यवसाय चौपट भएको छ । त्यो चौपटका दिनहुँ समाचार बनाउनुपर्ने पत्रकारले दुई–दुईपटक कोरोना भयो भनेर खबर सुनाउन कति गाह्रो भयो होला, सहजै अनुमान गर्न सकिन्छ । त्यो पनि तेस्रो लहर झन् खतरा छ भन्ने गरिएको हुनाले पनि मनमा निकै डर लागेको थियो । त्यसैले पनि मैले खबर गरेका र फोनबाट फेरि भएछ है भनी सोध्ने आफन्त अनि नजिकका नातेदारसँग कुरा गर्दा निकै असहज भएको थियो । मलाई निकै भावुक बनाएको थियो । मेरा आँखाबाट आँसुका धारा बगेका थिए । मोबाइलको म्यासेन्जरमा कुरा गर्दागर्दै अनुहार नदेखाई कुरा गर्न बाध्य भएको थिएँ । एकातिर आफूलाई चिन्ता, अर्कोतिर आफन्त र नातेदारलाई चिन्ता । किनकि यसभन्दा अघि मैले निकै सास्ती भोगेको थिएँ । त्यो सास्ती मैले कसैलाई शेयर मात्र होइन १३ दिनसम्म कोरोना भयो भनेर कसैलाई भन्दा पनि भनिन । धेरैले गाली पनि गरेका थिए । हामी आफन्त र नजिकका भएकोके अर्थ भयो भन्ने प्र्रश्नको ओइरो नै लागेको थियो । त्यसैले पनि यसपटक आफन्तजन र अफिसमा समयमा नै जानकारी गराएँ ।
महामारीको पीडा अति साह्रै भोग्नेमा धेरै नागरिक थिए र छन् पनि । कतिले ज्यान नै गुमाए भने कतिले अहिले पनि कोरोनाका विरुद्ध कठोर संघर्ष गरिरहेका छन् ।

कैयौंले कोरोनालाई जितेर पनि विकनेस महसुस गरिरहेका छन् । यस्तो अवस्थामा मैले दोस्रोपटक कारोनालाई फेस गर्नुपर्दा अलिक बढी चिन्ता हुने नै भयो । किनकि तेस्रो लहर बढी खतरा छ भन्ने कुरा स्वास्थ्य मन्त्रालयले पनि गर्दै आएको छ । त्यसले पनि बढी चिन्तित बनायो । पहिलोपटक कारोना महामारीले अस्तव्यस्त बनाउँदा १३ दिनसम्म मोबाइल नै अफ गरेको थिएँ । त्यति बेला मेरी श्रीमती बाहिर गएकी थिइन् । सम्पूर्ण हेरचाह छोरी इशिकाले गरेकी थिइन् भने यसपटक श्रीमती घरमै भएको कारण र पहिलेको जस्तो अस्तव्यस्त हुने गरी गाह्रो नभएकोले मोबाइल अफ गर्नुपरेन भने अफिसमा पनि नियमित सम्पर्क र समाचार रिपोर्टिङको आवश्यक संयोजन गर्न सम्भव भयो । तर पनि चार दिन तीन रात अलिक बढी असहज नै भयो । शरीरका प्रत्येक पार्ट–पार्ट दुखेर चल्न र चट्पटाउन भएन । केही दिन रुघा, ज्वरो र खोकी पनि आयो । ज्वरो र खोकी धेरै नआएकोले कोरोनालाई जित्न सक्छु भन्ने आँट भने बढ्दै गएको थियो । जति आँट बढेको भए पनि तीन रात तीन दिन सुत्नै भएन । कति कुरा परिवारमा शेयर गरे, कति गर्न पनि सकिन । एक रात त रोएरै बित्यो भन्दा पनि हुन्छ । यति छट्पटी भयो कि त्यसको कुनै सीमा नै भएन । न निद्रा लाग्छ, न आरामसित बस्न सकिन्छ । के गरौं, कहाँ जाऊँ, कसो गरौं भन्ने भैरह्यो । अनि अर्को दिन पुनः चिकित्सकसँग सम्पर्क गरेँ । चिकित्सकले भाइरससँग तपाईंका शरीरका पार्ट–पार्टले संघर्ष गर्दा त्यस्तो हुनु स्वाभाविक हो र त्यसले तपाईंलाई हित नै गर्छ नआत्तिनू भनेपछि थप केही राहत भयो । राहत हुँदा पनि अप्ठ्यारो महसुस त भई नै रहेको थियो ।

कोरोना महामारीको निरन्तर समाचार अपडेप र अनुभवसँगै कोरोना महामारीले निम्त्याएको संकट र यसले सबैलाई पिरोलेको अवस्थाप्रति संवेदनशील हुँदाहुँदै पनि दोस्रोपटक आफैंले भोग्नुपरेको कोरोना संक्रमणको पीडाले निकै आहत बनायो । कस्ता–कस्ता हस्ती अनि राष्ट्र र परिवारका लागि केही गरेर देखाउने क्षमतावान् व्यक्तित्वहरुलाई कोरोनाकै कारण हामीले गुमाएका घटना आँखाअगाडि आउने गर्छन् । खोप लगाइसकेको भए पनि पुनः संक्रमण देखा पर्दा आएका अनेक प्रश्नहरुसमेत अनुत्तरित नै छन् । तर पनि ममा कुनै हालतमा कोरोनालाई जित्छु भन्ने आँट भने पहिलेको तुलनामा यसपटक बढी नै रहेको थियो । र, आखिर जितेँ पनि । चिकित्कसका अनुसार विकनेस त कम्तीमा तीन महिना रहने छ । तीन महिना मैले आफूलाई बलियो बनाउने गरी आवश्यक व्यवस्थापन गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्