१८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सन खोप



भगवती तिमल्सिना, काठमाडौं  । 

बुधबारबाट अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरू गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप भण्डारण गरेर राख्नुभन्दा आम नागरिकको पहुँचमा पु¥याउन निर्देशन दिएलगत्तै स्वास्थ्य मन्त्रालयले १८ वर्ष उमेर पुगेका नागरिकलाई बुधबारबाट जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरू गरेको हो । यो खोप आज बिहीबारसम्म लगाउन सकिनेछ ।

२०७८ असार २८ गते अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन एन्ड जोन्सन खोप दुई दिन ५० देखि ५४ वर्षका ज्येष्ठ नागरिकलाई मात्र लगाउँदै आएको थियो । तर, हिजो बुधबारबाट काठमाडौंमा १८ वर्षभन्दा माथिका सबैले पाउने गरी कार्यक्रम शुरु गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताउनुभयो ।अमेरिकाले नेपाल सरकारलाई सहयोगस्वरूप कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोपमध्ये स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४६ हजार मात्रा उपलब्ध गराएको थियो । उक्त खोप दुई दिनमा तोकिएको उमेर समूहका ४६ हजारले लगाएको र अझै १ लाखलाई लगाउन पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।यो खोप एक मात्रा मात्र लगाए पुग्छ । जति छिटो खोप लगाउन सक्यो उत्तिकै छिटो अन्य खोप भित्र्याएर भण्डारणलाई सहज बनाउन मद्दत पुग्ने खोप शाखाको ठम्याइ छ । चीनबाट खरिद गरिएको ४० लाखमध्ये ८ लाख मात्रा खोप नेपाल भित्रिएको र अझै ३२ लाख मात्रा खरिद गरिएको खोप आउँन बाँकी छ ।

त्यसै गरी जापान सरकारले १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप कोभ्याक्सअन्तर्गत यही जुलाईमा उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । साथै चीन सरकारले पनि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष थप १६ लाख मात्रा खोप अनुदानस्वरूप उपलब्ध गराउने प्रतिबद्धता गरिसकेको छ । नेपालले कूटनैतिक पहल गर्दै कोरोनाविरुद्धको खोप समयमै भित्र्याएर १८ वर्षमाथिका नागरिकलाई लगाउने कार्य चैत मसान्तभित्र सम्पन्न गर्ने जनाएको छ ।यता अघिल्लो सरकारले नेपालका लागि १ करोड ५० लाख बराबरको खोप खरिद प्रक्रिया अघि बढिसकेको र १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि समेत ६० लाख मात्रा खोप खरिदको प्रक्रिया अघि बढिसकेको सम्बोधनका क्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको थियो ।सरकारले देशव्यापीरूपमा पहिलाभन्दा बढी स्थानमा केन्द्र बढाएर खोप लगाउन शुरु गरेको छ । काठमाडौंमा पनि भीडभाड कम गर्ने उद्देश्यले ५५ भन्दा बढी खोप केन्द्रमा जोन्सन एन्ड जोन्सनको खोप सञ्चालन गरिएको र अझै दुई दिनसम्म यो अभियान जारी रहने स्वास्थ्य सेवा विभागअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खड्काले बताउनुभयो ।

अमेरिकाको सहयोगमा प्राप्त खोप देशभरका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई यो खोप दिइँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्