१६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने जापानको घोषणा



काठमाडौं, (नेस) । 

जापान सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमिचुले उक्त घोषणा गर्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

जापानमा उत्पादन गरिएको एस्ट्राजेनेका भारतको सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै भएको उल्लेख गर्दै विज्ञप्तिमा यो खोप आएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा पर्खेर बसेका करिब १० लाख जेष्ठ नागरिकसहित १३ लाख ६५ हजार बढी नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

दूतावासले यो खोप जुलाई मध्यदेखि अगस्ट अन्तिम सातासम्म आइपुग्ने बताएको छ । जापानी राजदूत किकुता युताकाले खोप सहयोग नेपाल र जापानबीचको लामो मैत्री सम्बन्धलाई झल्काउने बताउनुभयो । उहाँले कोरोना महामारीको कठिन समयमा यो खोपले धेरै नेपाली नागरिकको जीवनरक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्