असफलतालाई कहिल्यै स्वीकार नगर्नुहोस्



  • प्रेम रावत

हामी आफ्नो जीवनको हरेक मोडमा हार मान्दछौँ । जीवनमा समस्याहरू आउँछन् । अनि, समस्या जति ठूलो हुन्छ त्यति नै हामी आपूmले आफूलाई सानो महसुस गर्न थाल्छौँ । त्यसपछि त्यो समस्याबाट छुट्कारा पाउनका लागि हामी के–के मात्र गर्दैनौँ र ! तर, हाम्रो जीवनमा एउटा यस्तो मौका पनि आयो जसलाई पूरा गर्न हामीले आफ्नो पूरै शक्तिलाई खर्च गरेका थियौँ । कैयौँ पटक हामी सफल हुन सकेनौँ । त्यो असफलतालाई हामीले स्वीकार गरेनौँ । यो कुरा त्यो समयको हो । जब हामी बाल्यावस्थामा थियौँ अनि हामी हिँड्न सिकिरहेका हुन्थ्यौँ । कुनै बेला लड्नुभयो होला तर तपाईँँको प्रमुख उद्देश्य हिँड्नु नै थियो । यस क्रममा असफल पनि हुनुभयो तर तपाईँँले असफलतालाई कहिल्यै पनि स्वीकार गर्नुभएन । फेरि अर्को पटक उभिनुभयो अनि हिँड्न शुरु गर्नुभयो । एकदिन सफल पनि हुनुभयो । किनभने, तपाईँँले हार मान्नुभएन । त्यसको परिणामस्वरूप तपाईँँ हिँड्न सक्ने हुनुभयो । तपाईँँले हिँड्न सक्नुभएको दिन एउटा यस्तो ठूलो सफलता प्राप्त गर्नुभयो, तपाईँँले एउटा यस्तो साँचोलाई खोल्नुभयो अब तपाईँँ जुनसुकै ठाउँमा जानका लागि सक्षम हुनुभयो । त्यसको मूल कारण भनेको हारलाई स्वीकार नगर्नु (हिम्मत नहार्नु) नै थियो । तर, अहिले तपाईँँ कोशिश गर्नुभन्दा पहिला नै असफलताका बारेमा सोच्नुहुन्छ । प्रारम्भमै सफलता प्राप्त हुँदैन भनेर सोच्न शुरु गरेपछि तपाईँँलाई कसरी सफलता हात पर्ला र ! तपाईँँ आफ्नो जीवनमा असफलता होइन, सफलताका बारेमा सोच्नुहोस् । त्यसपछि मात्रै सफलता प्राप्त गर्न सकिन्छ ।

तपाईँँ जीवित हुनुहन्छ । तपाईँ जीवित रहुन्जेलसम्म तपाईँमाथि कृपा भइरहेको हुन्छ । तपाईँ यस संसारमा जुन–जुन कार्य गर्न चाहनुहुन्छ, ती सबै सम्भव छन् ! कुनै पनि कुरा असम्भव छैन । तर, सबैभन्दा पहिला तपाईँ नै जीवित हुनु अत्यावश्यक छ । यदि तपाईँ जीवित नै हुनुहुन्न भने त सबै कुरा असम्भव नै हुन्छन् । तर, तपाईँँ जीवित हुनुहुन्छ भने ती सबै कुराहरू सम्भव हुन्छन् । त्यसका लागि हिम्मत हुनु आवश्यक छ । त्यो साहस तपाईँभित्रै छ । यो श्वास तपाईँँभित्र आइरहुन्जेलसम्म तपाईँँ हारेको व्यक्तिजस्तो भएर होइन, जितेको व्यक्तिजस्तो गरी जिउनुहोस् ।

एउटा कथा छ । एउटा सानो कुकुर थियो । एकदिन त्यो घुम्दा–घुम्दै घना जङ्गलमा पुगेछ । जङ्गलमा पुगिसकेपछि यताउता हेर्दै गर्दा उसलाई सिंहको गन्ध आएको आभास भयो । नभन्दै उसका अगाडि सिंह नै आइरहेको थियो । ऊ डरले फर्केर जान लाग्दै थियो । त्यही बेला उसले एउटा हड्डीको एकदमै ठूलो रास फेला पार्‍यो । हड्डीको रासका अघि पुगेपछि अब उसले बच्ने उपायका बारेमा सोच्न लाग्यो !

यत्तिकैमा सिंह पछाडिबाट गर्जँदै आइपुग्यो । सिंहले एउटा सानो कुकुर हड्डीको थुप्रोका अघि बसिरहेको देख्यो । आइरहेको सिंहपट्टि पिठ्युँ फर्काउँदै उसले भन्यो, ‘सिंहलाई खानुको मजा नै अर्काे छ ! यत्तिका धेरै सिंहलाई खाइसकेँ तर अभैm पनि मेरो भोक मेटिएको छैन । हुनसक्छ, अब एउटा अर्काे सिंहलाई खान पाए मेरो भोक मेटिन्थ्यो कि !’

जसै त्यो सिंहले सानो कुकुरको कुरा सुन्यो अनि ऊ सोचमा पर्‍यो , ‘यो कुकुरले त सिंहलाई पनि खाँदो रहेछ । के थाहा, अब यसले मलाई पनि खाने हो कि !’ त्यसपछि सिंह डरले त्यहाँबाट टाप कस्यो ।

एउटा बाँदर रुखमा बसेर यी सबै घटनालाई हेरिरहेको थियो । त्यसपछि उसले त्यो सिंहकहाँ गएर भन्यो, ‘यो सानो कुकुर धेरै छट्टु रहेछ । त्यसले कुनै पनि सिंहलाई खाएको होइन । तपाईँँ त यो जङ्गलको महाशक्तिशाली राजा हुनुहन्छ । तपाईँँलाई त्यो कुकुरले मूर्ख बनाइरहेको छ ।’

बाँदरको कुरा सुनेपछि सिंहलाई त्यो कुकुरसित एकदम धेरै रिस उठ्यो । उसले बाँदरलाई आफ्नो पिठ्युँमा राखेर त्यो कुकुर भएतिर दौड्यो ।
कुकुर त त्यहीँ बसिरहेको थियो । उसले दुईजना नै आइरहेको देखेपछि सोच्न लाग्यो, ‘अब के गरुँ !’ कुकुरले फेरि दिमाग लगायो । सिंहतिर पिठ्युँ फर्काएर ठूलो–ठूलो स्वरले भन्न लाग्यो– ‘त्यो बाँदर कहाँ गयो ? त्यसलाई आधा घण्टापहिल्यै मैले सिंहलाई खोजेर ल्याउन पठाएको थिएँ । हैन, यत्तिका बेरसम्ममा पनि लिएर आउँदैन ।’

त्यो सिंहले यो कुरा सुनेको मात्र के थियो, बाँदरलाई तल फ्याँकेर पुनः भाग्न शुरु गर्‍यो । त्यसपछि कुकुर त्यहाँबाट ठूलो चलाखीपनाका साथ आफ्नो बुद्धिलाई प्रयोग गर्दै जङ्गलबाट बचेर बाहिर आयो ।

यस्तै प्रकारले हामीले पनि जीवनमा कुनै अप्ठ्यारो आइपर्‍यो भन्दैमा असफलतालाई स्वीकार गर्नुहुँदैन । आफ्नो संयमतालाई बिर्सनुहुँदैन । जुन कुरामा हामीले असफलतालाई स्वीकार गर्छाैँ, त्यसमा हामी पक्कै पनि असफल नै हुन्छौँ । तर, असफलतालाई स्वीकार नगरीकन साहसका साथ अगाडि बढ्छौँ भने अवश्य पनि सफलता प्राप्त हुन्छ ।

परिस्थिति राम्रो होओस् या नराम्रो तर त्यस्तो परिस्थितिमा तपाईँको व्यवहार कस्तो प्रकारको हुन्छ ? कसरी तपाईँ त्यो परिस्थितिलाई सम्हाल्नुहुन्छ ? किनभने, कतिपय मानिस चिन्ता गरिरहन्छन् तर चिन्ता गरेर केही हुनेवाला छैन । वास्तवमा यो परिस्थितिबाट पार हुनका लागि तपाईँलाई जुन शक्तिको आवश्यकता पर्छ त्यो तपाईँभित्र नै छ । त्यसको स्रोत कोही अरू व्यक्ति नभएर तपाईँ स्वयम् नै हुनुहुन्छ । तर, त्यसका लागि तपाईँले आफूतर्फ मोडिएर नियाल्नुपर्नेछ, अरूतर्फ होइन । हामी अरूलाई हेरेर के सोच्न थाल्छौँ भने, ‘ती मानिसहरूले मेरा बारेमा के भनिरहेका होलान् ?’

यदि कसैले तपाईँका बारेमा सोच्नुपर्छ भने त्यो व्यक्ति स्वयम् तपाईँ नै हुनुहुन्छ । अरू कोही हुन सक्दैन । तपाईँ आफ्ना बारेमा के सोचिरहनुभएको छ ? तपाईँ आफैँसँग खुशी हुनुहुन्छ कि हुनुहुन्न ? तपाईँ बिहानै उठेर आफ्ना बारेमा यही सोच्नुहुन्छ– मेरो आजको दिन राम्रोसँग बितोस् या अरूको चिन्ता गर्नुहुन्छ ? वास्तवमा जो–कोही पनि व्यक्ति आफूबाट टाढा जान त सक्छ तर उसलाई आफ्नो निकटमा कसरी आउने भन्ने बारेमा थाहा हुँदैन । यस्तो परिस्थितिमा ऊ त हराइरहनेछ । मानिसको अहिलेको अवस्था ठीक त्यस्तै छ । मानिस यो संसारमा हराइरहेको छ । उसलाई आफूतर्फ फर्केर कसरी आउने भन्ने कुराका बारेमा ज्ञात छैन ।

तपाईँसँग सबैथोक छ तर तपाईँलाई त्यो कहाँ छ भन्ने नै थाहा छैन ! जुन शान्तिको तपाईँलाई खोजी छ त्यो त तपाईँसँग पहिलादेखि नै छ । यद्यपि मानिसहरू यो कुरालाई स्वीकार नगरीकन शान्तिको खोजीमा तल्लीन हुन्छन् । अनि सोच्छन्, ‘के गरेर मलाई शान्ति प्राप्त हुन्छ होला ?’ तर, जुन शान्तिको तपाईँलाई खोजी छ, त्यो शान्ति त तपाईँभित्रै छ । केवल त्यसलाई स्वीकार गर्नु आवश्यक छ ।

जीवनलाई सफल पार्ने हो भने यसलाई स्वीकार गर्नु आवश्यक छ । यो जीवन तपाईँको हो । अरू कसैको प्रतीक्षा नगर्नुहोस् । यो संसार बदलियोस् या नबदलियोस् तर तपाईँ त परिवर्तन हुन सक्नुहुन्छ नि ! जुन दिन तपाईँ परिवर्तन हुन शुरु गर्नुहुनेछ, संसार पनि परिवर्तन हुनेछ । यो संसारमा खराबी पनि छ र राम्रा कुरा पनि धेरै छन् । मात्र आफूभित्रको राम्रोपनालाई बाहिर ल्याउनु आवश्यक छ ।

कतिपय कुराहरू तपाईँलाई मन पर्दैनन् । जुन कुरा तपाईँको रुचि विपरीतको हुन्छ, जुन चीजसँग तपाईँलाई घृणा उत्पन्न हुन्छ त्यो चीजका पछि किन लागिरहनुहुन्छ ? त्यसबाट अर्कोतिर मोडिनुहोस् । जब तपाईँ त्यसको विपरीत दिशातर्फ मोडिनुहुन्छ तब मात्रै तपाईँ त्यो चीजबाट बाहिर निस्कन पाउनुहुन्छ । यही कुरालाई मानिसहरूले भुल्छन् । उनीहरूलाई लाग्छ– यस्तो गर्‍यौँ भने त काम बिग्रन्छ । बिग्रँदैन, किनकि जुन सहानुभूति तपाईँलाई चाहिएको छ, त्यो तपाईँभित्रै छ । जुन शान्ति तपाईँलाई चाहिएको छ त्यो पनि तपाईँभित्रै छ । धैर्यता पनि तपाईँभित्रै छ । अनि, तपाईँलाई रक्षा गर्नेवाला पनि भित्रै छन् । ठीक यसै गरी– जुन आनन्दको तपाईँलाई खोजी छ, जुन सुखको तपाईँलाई आवश्यकता छ– ती सबै कुरा तपाईँभित्र नै छन् । डराएर केही पनि हुने छैन । चाहे जस्तोसुकै कठिनाइ तपाईँको जीवनमा आओस्, तपाईँभित्र त्यो शक्ति हुन्छ । तपाईँभित्र त्यो हौसला पनि हुन्छ र तपाईँ त्यो कठिनाइसँग जुध्न पनि सक्नुहुन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्