कोरोनाको तेस्रो लहर रोक्न “स्वर्ण प्राशन”



– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक) वैश्विक महामारी निमत्याउने कोरोना भाइरसलाई नियन्त्रण गर्न विश्वव्यापी पहल निरन्तर भइरहेका छन् । आमसञ्चारका माध्यमहरु एवं सामाजिक सञ्जालमार्फत यस महामारीको विषयमा यथेष्ट सामग्रीहरु प्रचार भइरहेका छन् । तर पनि यस रोगप्रतिको डर भने घट्नुको सट्टा वृद्धि भई नै रहेको छ । यस महामारीका कारण मानिसको मृत्यु हुने क्रम पनि रोकिएको छैन । यस रोगको अर्र्को लहर आउने चर्चा पनि हुन थालेको छ, जसले गर्दा जनसमुदायमा थप भय भएको छ । यस रोगको प्रथम एवं प्रारम्भिक उपचार भनेको यसको संक्रमण हुन नदिनु हो । दोस्रो रोग लागिसकेपछि आफ्नो रोग–प्रतिरोधात्मक क्षमताले यसबाट पार पाउनु हो । तेस्रो वा दीर्घकालीन उपाय भनेको यस रोगका विरुद्ध जति सक्दो चाँडो भ्याक्सिन लगाउनु नै हो । रोगको कारक भाइरसविरुद्ध शरीरमा एन्टिबडी वा इम्युनिटी स्थापित गराउनु हो । जसलाई प्राविधिक भाषमा हर्ड इम्युनिटी भनिन्छ । हर्ड इम्युनिटी विकास हुनु भनेको मानव जनसंख्याको सबैलाई प्राकृतिकरुपमा संक्रमण भएर निको हुनु हो, सबैमा स्वाभाविकरुपमा एन्टिबडी बन्नु हो । अथवा भ्याक्सिन लगाएर सबैको शरीरमा भाइरसविरुद्धको एन्टिबडी उत्पादन गराउनु हो । त्यसो नहुँदासम्म यो अवसरवादी भाइरसले कमजोर इम्युनिटी भएकाहरुलाई रोगी बनाउँछ ।
रोग–प्रतिरोधात्मक क्षमता कमजोर भएका १६ वर्षमाथिको उमेर समूहको जनसंख्यालाई यस रोगको प्रथम र दोस्रो लहरले संक्रमित बनाइरहेको छ । संक्रमणबाट निको हुँदै धेरैको शरीरमा प्राकृतिकरुपमै एन्टिबडी बनीसकेको अवस्था छ । अब यस भाइरसको खोज भनेको रोग–प्रतिरोधात्मक क्षमता कमजोर भएको अर्को समूह हो । त्यो समूह भनेको अब १६ वर्षमुनिका बालबालिका नै हुन् । यसैको आधारमा विशेषज्ञहरुले अब तेस्रो लहरमा बालबालिकाहरु बढी प्रभावित हुन सक्ने भनी बताइरहेका छन् । अहिले उपलब्ध भ्याक्सिनहरु बालबालिकाहरुलाई लगाउन नमिल्ने र क्वारेन्टिन एवं आइसोलेसनमा पनि बालबालिकालाई राख्न सम्भव नहुने भएकोले गर्दा विश्वव्यापीरुपमा तेस्रो लहरप्रति चिन्ता र चासो बढेको छ । सम्भावित उपायहरुको अध्ययन एवं खोजी भइरहेका छन् । यस परिस्थिमा बालबालिकालाई सहजरुपमा जोगाउन आयुर्वेदीय स्वर्ण प्राशन विधि (आयुर्वेदीय भ्याक्सिनेसन) अति उत्तम विकल्प हुन सक्ने देखिन्छ ।
स्वर्ण प्राशनको मूल उद्देश्य भनेको बच्चाहरुको शरीरको रोग–प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरुको शारीरिक एवं मानसिक क्षमताको वृद्धि गराउनु हो ।
आयुर्वेदको ग्रन्थ, कश्यप संहिता (बालरोग) का अनुसार शून्य महिना देखि १६ वर्षसम्मका बच्चाहरुमा रोग–प्रतिरोधात्मक क्षमता बढाउन स्वर्ण प्राशन एक अद्भूत आयुर्वेदीय औषधि हो । यसमा सुनको पाउडर, मह र औषधियुक्त घिउ मिश्रित हुन्छ । यसको अर्धठोस योग बच्चालाई चाट्न लगाउने (लेहन गर्ने) विधान छ । तर अहिले यसलाई थोपाको रुपमा दिइन्छ, जसलाई स्वर्ण प्राशन विन्दु पनि भनिन्छ । यसलाई बच्चाहरुको आयुर्वेदीय इम्युनिटी भ्याक्सिनको रुपमा मान्न सकिन्छ । हजारौं वर्षदेखि उपयोग हुँदै आएको स्वर्ण प्राशन विधि पूर्णतः वैज्ञानिकरुपमा प्रमाणित मात्र नभएर पूर्णतया सुरक्षित पनि छ । सही तरिकाले प्रयोग गरे यसको कुनै पनि साइड इफेक्ट हुँदैन तर शतप्रतिशत प्रभावकारी भने हुन्छ । बच्चाहरुलाई जन्मघुटी खुवाउने चलन चलेको छ, जुन स्वर्ण प्राशन विधिकै एक प्रतीक हो । स्वर्ण प्राशन नेपाली एवं भारतीय समाजमा प्राचीन एवं परम्परागतरुपमा बच्चाहरुलाई गराइने १६ संस्कारमध्येको एक संस्कार पनि हो । दक्षिण भारतमा यो विधिको प्रयोग अहिले व्यापकरुपमा भइरहेको पाइन्छ । स्वर्ण प्राशनको औषधयुक्त गाईको घिउमा अमला, बोझो, ब्राह्मी, गुडुची, जेठीमधु, अश्वगन्धा, शंखपुष्पी आदि घटकहरुको निश्चित मात्रा राखिन्छ र विशेष विधिबाट विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा तयार पारिन्छ । स्वर्ण प्राशनको मूल उद्देश्य भनेको बच्चाहरुको शरीरको रोग–प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरुको शारीरिक एवं मानसिक क्षमताको वृद्धि गराउनु हो । स्वर्ण प्राशन दिनुभन्दा पहिले चिकित्सकले केही मापदण्ड जस्तै– बच्चाको उमेर, तौल, उचाइ, खानपान शैली, पटक–पटक हुने स्वास्थ्य समस्या एवं रोग आदिको आवश्यक अध्ययन गर्छन् । त्यसपछि प्रत्येक महिना पुष्य नक्षत्रको दिन यो सेवन गराइन्छ । चिकित्सकले अपनाउनुपर्ने सावधानीहरुका बारेमा पनि जानकारी प्रदान गर्छन् । स्वर्ण प्राशनका फाइदा: स्वर्ण प्राशनले प्राथमिकरुपमा रोग–प्रतिरोधात्मक क्षमता बढाउँछ । बच्चाहरुमा पटक–पटक हुने स्वास्थ्य समस्याहरु– रुघाखोकी, ज्वरो, पेटको दुखाइ, टाउको दुखाइ, अपच आदि समस्या स्थायीरुपमा हटाउँछ । शरीरको सर्वाङ्गिण विकासको लागि आवश्यक तत्वहरुको पूर्ति गर्दछ । शरीरभित्र जमेर रहेका विषालु पदार्थहरुलाई शरीरबाट बाहिर निकाल्छ र छालालाई सुन्दर बनाउँछ । आँखा र कानको शक्ति बढाउँछ । स्वर्ण प्राशन गरिएको बच्चाको बुद्धि, पेटको अग्निबल र शारीरिक बल बढ्नुको साथै ओज एवं सुन्दरता बढाउँछ । स्मरण शक्ति एवं ग्रहण शक्ति अति नै सबल बनाउँछ । साथै नकारात्मक ऊर्जाहरुबाट पनि सुरक्षा प्रदान गर्दछ । यो पवित्र तथा मंगलकारक पनि हुन्छ । नवीन अध्ययनहरुका अनुसार स्वर्ण प्राशन एन्टिअक्सिडेन्ट, एन्टिडिपे्रसन, एन्टिक्यान्सर, एन्टिब्याक्टिरियल तथा एन्टिर्‍युम्याटोइड पनि हुने देखाएको छ । स्वर्ण प्राशनले कुनै एक रोग विशेषको विरुद्धमा इम्युनिटी (स्पेसिफिक इम्युनिटी) विकास गर्दैन तर सबै खाले रोगका विरुद्धमा इम्युनिटी उत्पादनका लागि कोषहरु र जैव रसायनलाई सक्रिय बनाउँछ । अतः अहिलेको कोरोना भाइरसमा जति म्युटेसन भए पनि सबै खाले म्युटेसन्सका विरुद्ध स्वर्ण प्राशन प्रभावकारी रहनेछ । स्वर्ण प्राशन बनाउने तरिका: १० मि.लि. महसँग ५ सय मि.ग्रा. स्वर्णभष्मलाई २० मिनेट जति मर्दन गरिन्छ । त्यसपछि ४० मि.लि. ब्राह्मीघृत (औषधयुक्त तयारी घृत) थपेर फेरि पनि ४० मिनेट मर्दन गरेपछि स्वर्ण प्राशन तयार हुन्छ । स्वर्ण प्राशनको निर्माण आयुर्वेद चिकित्सकको निरीक्षण एवं निर्देशनमा मात्र गर्नुपर्ने हुन्छ । मात्रा : यो थोपाको रुपमा भर्खर जन्मेको बच्चादेखि १६ वर्षको बच्चालाई खुवाइन्छ । बिहान खालि पेट र सूर्योदयभन्दा पहिले सेवन गराइन्छ । शुरुको १ महिनादेखि ६ महिनासम्म स्वर्ण प्राशन दैनिक दिन सकिन्छ । त्यसपछि प्रत्येक पुष्य नक्षमा (प्रत्येक २८ दिनमा) दिनु उपयुक्त मानिन्छ । शुरुको ६ महिनासम्म २/२ थोपा, त्यसपछि ४/४ थोपा खुवाउनुपर्ने शास्त्रीय निर्देश छ (एक थोपामा ५ मि.लि. हुन्छ) । तर महामारीको अहिलेको अवस्थामा बच्चालाई १ देखि २ महिनासम्म दैनिकरुपमा खुवाउनु सुरक्षात्मक हुनेछ । पखाला चलेको, ज्वरो आएको, अपच आदि भएको बिरामी बच्चालाई स्वर्ण प्राशन गराइँदैन वा चिकित्सको सल्लाहमा मात्र गराइन्छ । तयारी स्वर्ण प्राशन अन्य भ्याक्सिनजस्तै संवेदनशील हुन्छ, जसलाई न धेरै तापमा न अति चिसोमा संरक्षण गरेर (रुम तापक्रममा) राख्नुपर्छ । जाडोमा घिउ चिसो भएर स्वर्ण प्राशन जम्न गएमा त्यसलाई भाँडोसँगै मनतातो पानीमा राख्ने र पग्लिसकेपछि हल्लाएर पुनः प्रयोग गनुपर्छ । यस विधिको अभ्यास विशेषतः आयुर्वेदीय बालरोग विशेषज्ञहरुले गराउँछन् । नेपालमा हालसम्म ५ जना मात्र त्यस्ता बालरोग विशेषज्ञ छन् । उनीहरु कसैले पनि यसको औपचारिक अभ्यास गराएको पाइएको छैन । अन्य विषयका विशेषज्ञ आयुर्वेदीय चिकित्सकहरु पनि यो विधिको अभ्यास गराउने आधिकारिक व्यक्ति हुन् तर नेपालमा २/३ जना आयुर्वेद स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सकले मात्र यसको औपचारिक अभ्यास गराउने गरेको तथ्यांक छ । यस अतिरिक्त केही चिकित्सकले स्वर्ण प्राशन विन्दु बेच्ने र त्यससम्बन्धी परामर्श दिने मात्र गरेको पाइन्छ । भारतमा (विशेषतः दक्षिण भारतमा) भने यसको अभ्यास धेरै स्थानमा र धेरै चिकित्सकले गर्ने गरेको पाइन्छ । तयारी स्वर्ण प्राशन विन्दु खरिद गर्न सकिन्छ । यो आयुर्वेदीय प्राकृतिक, सुरक्षित एवं प्रभावकारी विधि कोभिड–१९ महामारीको तेस्रो लहरबाट बालबालिकालाई सुरक्षित राख्ने एक उत्तम विकल्प हुन सक्छ । नेपालमा यसको सहज उपलब्धता एवं आधिकारिक प्रयोगका लागि सबैले मिलेर पहल गरौं । यसको व्यवस्थापन सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्