कोभिड निको भएपछिको समस्या र समाधान



– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक) कोभिड १९ निको भएर पीसीआर नेगेटिभ आएपछि पनि (पोस्ट कोभिड) समस्याहरु देखा पर्न सक्छन् । यस्तो अवस्थामा केही नियमहरुको पालना गर्नु जरुरी हुन्छ । यस्ता समस्याहरु कतिपय सामान्य खालका हुन्छन् भने कतिपय जटिल प्रकारका हुन्छन् । कतिपय यस्ता समस्याको तत्कालै व्यवस्थापन नगरे ज्यानकै जोखिम हुन सक्छ । यस्ता समस्यामध्ये के–कस्ता समस्यामा घरमै बसेर समाधान गर्ने र कस्तो अवस्थामा अस्पताल वा चिकित्सककहाँ जाने भन्ने बारेमा यहाँ चर्चा गरिएको छ ।
कोभिडपछि फैलिन सक्ने ब्ल्याक फंगस (म्युकरमाइकोसिस) को समस्याले आँखा, नाक र अनुहार नै बिगार्नेदेखि ज्यान नै जाने डर हुन्छ र समयमै उपचार गरे सन्चो हुने हुँदा चनाखो हुनुपर्छ । 

घरै बसेर गर्न सकिने

घाँटी खसखस हुने: कोभिडबाट उम्केपछि पनि कतिपय व्यक्तिलाई घाँटीमा अप्ठ्यारो हुने, खसखस हुने, अड्केको जस्तो हुने हुन्छ । त्यस्तै अलिकति चिसो परे पनि स्वर बस्ने वा सामान्य खोकीको अनुभव हुने हुन्छ । यस्तो अवस्थामा नून मिसाएको मनतातो पानी जलनेतिको भाँडो वा करुवामा राखी नाकको एक प्वालबाट छिराएर, अर्कोबाट निकालेर जलनेतिको अभ्यास गर्दा फाइदा हुन्छ । नूनपानी वा फिटकिरी पानीले गरर्र तथा कुल्ला गर्ने, खालि पेटमा मनतातो पानी पिएर बान्ता गर्ने जस्ता प्राकृतिक उपचारका विधिहरु अभ्यास गरेर लाभ पाउन सकिन्छ ।
यसपछि सादा पानीको बाफ लिनुपर्छ । घाँटी, छाती र ढाडमा तातोले सेकेर हल्का मालिस गर्ने, तातोपानी तथा तुलसी चिया, गरम मसलायुक्त फिका चिया वा तातो पानीमा कागती हालेर पिउने वा अदुवाको रसमा मह हाली चाट्ने वा पिप्ला, सुठो र मरिचमा मह मिसाई खाने गर्दा यस्ता समस्याहरु समाधान हुन्छन् । कमजोरी: पोस्ट कोभिड लक्षणका रुपमा यस्तो समस्या हप्तौं वा महिनौंसम्म पनि रहन सक्छ । यस्तो अवस्थामा ठीक मात्रामा पानी पिउने, पोषिलो खानेकुरा सन्तुलित किसिमले खाने गर्नुपर्छ । यस्तै घाममा बसेर शरीरमा तेल मालिस गर्ने र खुट्टादेखि टाउकोसम्मका हल्का अंग व्यायामलगायत आरामदायी आसन, प्राणयाम र ध्यानको अभ्यास गर्दा फाइदा पुग्छ । यस्तो समस्या बिस्तारै ठीक हुन्छ, डराउनुपर्दैन । जीउ दुख्ने: कोभिड निको भएपछि धेरै समयसम्म शरीरको विभिन्न भाग दुख्ने हुन सक्छ । यस्तो दुखाइ प्रायः व्यक्तिहरुलाई हल्का किसिमले मांसपेशी र जोर्नीहरुमा हुन सक्छ । तर कसै–कसैलाई भने अलि बढी नै दुखेको महसुस हुन सक्छ । तर यत्तिकैमा आत्तिनुपर्दैन । यस्तो अवस्थामा दुखेको भागमा दिनमा एकपटक बिहान वा दिउँसो तातोले तीन मिनेटजति सेकेर तुरुन्तै त्यसमा चिसो पट्टीले सेक्ने गर्नुपर्छ । यही तातो–चिसो पालैसँग सेक्ने प्रक्रियालाई पाँचपटक दोहोर्‍याउनुपर्छ । साथै बेलुकातिर हट वाटर ब्याग वा तातो पानीले पाँच मिनेटजति सेक्ने, दुखेको ठाउँलाई घाममा पारेर तेल मालिस गर्ने, तातो पानीमा खुट्टा डुबाउने गर्न सकिन्छ । यसरी नै एक गिलास मनतातो पानी पिएर टाउको तथा आँखामा चिसो पट्टी लगाई आधा घण्टाजति बिहानको घाम तापेपछि नुहाउने गर्दा पनि जीउ दुख्ने कम हुन्छ । तातो र चिसो पानीले ५–५ मिनेटजति पालैपालो ५ पटक जति दोहोर्‍याउँदै नुहाउने विधिलाई प्रयोग गर्दा पनि यस समस्यामा लाभ हुन्छ । आंशिक वा पूर्ण शरीरको बाफ–स्नानको प्रयोग, चिसो पट्टी, माटोको लेपन, तीतेपाती थिचेर कपडामा पोको पारी तताएर त्यसले सेक्नेजस्ता प्राकृतिक चिकित्साका विधिहरुले पनि दुखाइ निको पार्न सहयोगी हुन्छन् । दुखाइमा सुधार भएपछि हल्का यौगिक सूक्ष्म व्यायामहरुको अभ्यास गर्न सकिन्छ । मांसपेशी दुखेकै अवस्थामा पनि तन्काउने व्यायामले लाभ मिल्छ । टाउको दुख्ने: पोस्ट कोभिडका सामान्य लक्षणहरुमध्ये टाउको दुखाइ पनि धेरैलाई हुने हुन्छ । यस्तो अवस्थामा जलनेतिको प्रयोग गरेर नाक सफा गरेपछि सादा पानीको बाफ पाँचदेखि दश मिनेट प्रयोग गर्न सकिन्छ । तर यी अभ्यासपछि निहुँरिएर कान थुनी शरीर हल्लाउँदै बाहिरतिर बलपूर्वक नाकले श्वास छोड्ने एवं आकशतिर हेरेर छिटो–छिटो श्वास लिने÷छोड्ने भस्त्रिका प्राणायाम गर्नु अनिवार्य छ । टाउकाको तेल मालिस, बाफ लिने, हातगोडाका औंलाका टुप्पाहरुमा हातको औंलाले थिचेर गरिने मालिस, गर्दन, कञ्चट, निधार र कानमा गरिने हल्का थिचाइयुक्त मालिस, आँखा चिम्लेर आँखा र निधारमा गरिने चिसो रुमालको पट्टी वा मडप्याक, हट फुट बाथजस्ता प्राकृतिक चिकित्साका विधि टाउको दुखाइमा निकै लाभदायक छन् । आरामदायी र ध्यानात्मक आसन, अनुलोमविलोम र भ्रामरी प्राणायाम तथा ध्यानको प्रयोले पनि टाउको दुखाइलाई निको पार्न सहयोग गर्छ । तनाव र अनिद्रा: कोभिड कालमा धेरै व्यक्ति तनाव, डर, चिन्ता, डिप्रेसनजस्ता मानसिक समस्याबाट पनि सताइएका हुन्छन् । यस्तो अवस्थामा सकेसम्म एक्लै बस्नुहुँदैन । अनावश्यक खबर वा सोसियल मिडियाका नकारात्मक कुराहरुलाई बेवास्ता गर्नुपर्छ । रमाइला कुराहरु हेर्ने–सुन्ने–पढ्ने, घर–परिवारमा सौहार्द सम्बन्ध कायम गरी रमाइलो वातावरण बनाउने, नाच्ने, गाउने, उत्प्रेरणात्मक विषयहरु पढ्ने गर्नुपर्छ । साथै सिर्जनशीलता बढाउने जस्तै– कथा, कविता, चित्रकला वा आपूmलाई मन पर्ने कामहरु गर्ने गर्नुपर्छ ।
यस्तो अवस्थामा समयमै उठ्ने, एक–डेढ घण्टा योगका विभिन्न अभ्यासहरु (शोधन क्रियाहरु, सूक्ष्म–स्थुल व्यायाम, आसन, प्राणायाम, धारणा–ध्यान, मुद्रा–बन्ध) गर्ने गर्दा अनेक मानसिक समस्याहरु हट्छन् र मीठो निद्रा लाग्न थाल्छ । सूर्य नमस्कारको अभ्यास क्षमताअनुसार तीनदेखि बाह्र चक्रसम्म गर्दा पनि कैयौं शारीरिक तथा मानसिक समस्याहरुमा लाभ पाउन सकिन्छ । आवश्यक परेमा सुत्नुअघि पनि खाना खाएको तीन घण्टापछि यस्तै अभ्यासहरु पुनः गर्नुपर्छ । योगनिद्रा अभ्यास विधिको प्रयोग करिब एक घण्टा गर्ने, विधिवत् ओम् उच्चारणयुक्त ध्यान गर्ने, आध्यात्मिक अभ्यासहरु गर्ने लगायत अन्य विभिन्न योग पद्धति जस्तै– कर्मयोग, भक्तियोग आदिको अभ्यासले अनेक मानसिक समस्या स्वयं समाधान गर्न मद्दत पुग्दछ । यसरी नै माथि टाउको दुख्दा प्रयोग गरिएका प्राकृतिक चिकित्साका विधिहरु पनि मानसिक समस्याहरु भएको अवस्थामा प्रयोग गर्न सकिन्छ ।

अस्पताल जानै पर्ने अवस्था

कोभिड–१९ निको भएपछि पनि केही यस्ता अवस्थाहरुप्रति सचेत हुनु जरुरी छ, जसका लागि घरमै बसिराख्नुहु“दैन । तत्कालै थप उपचार नलिए ज्यान नै जोखिममा पर्न सक्छ । कोभिड–१९ निको भएपछि पनि केही यस्ता अवस्थाहरुप्रति सचेत हुनु जरुरी छ, जसका लागि घरमै बसिराख्नुहुँदैन । तत्कालै थप उपचार नलिए ज्यान नै जोखिममा पर्न सक्ने हुँदा समयमै चिकित्सकीय सल्लाह र उपचारको अनिवार्य आवश्यकता हुन्छ ।
श्वास फेर्नमा कठिनाइ, खोकी: सास फेर्न धेरै गाह्रो हुन थाल्यो भने वा खोकी बढ्यो भने स्वास्थ्य संस्थामा गइहाल्नुपर्दछ । सुत्दा, बसिराख्दा वा सामान्य हिँडाइमा पनि दम बढेमा वा छातीमा समस्या भएमा समयमै अस्पताल पुगी उपचार लिनुपर्छ । यस्तो अवस्थामा छातीको संक्रमणको जाँच, अक्सिजन, नेबुलाइजेसन वा आवश्यक जाँच तथा उपचारको आवश्यकता आदिको निक्र्यौल गर्नुपर्ने हुन्छ । घरमै बस्दा संक्रमण भए बढ्ने र उपचार नपुग्ने हुन्छ । रक्तचाप घटबढ: यदि सामान्यभन्दा रक्तचाप निकै नै तल–माथि भएमा त्यसका लागि पनि चिकित्सकलाई देखाइहाल्नुपर्छ । ज्वरो आउने: ज्वरो आइहाल्यो भने पनि तत्कालै अस्पताल लैजानुपर्छ, सिटामोल खाँदै घरमा बस्ने होइन ।
तीव्र कमजोरी र रिँगटा: यदि कमजोरी, जीउ दुख्ने/गल्ने समस्या, रिँगटा लाग्ने आदिमा आफ्नो प्रयासले समस्या कम नभई झन् वृद्धि हुन थालेमा अस्पतालमा पुगिहाल्नुपर्छ । कालो ढुसीको लक्षण: कोभिडपछि फैलिन सक्ने ब्ल्याक फंगस (म्युकरमाइकोसिस) को समस्याले आँखा, नाक र अनुहार नै बिगार्नेदेखि ज्यान नै जाने डर हुन्छ र समयमै उपचार गरे सन्चो हुने हुँदा चनाखो हुनुपर्छ । यसका लक्षणहरुमा नाक, मुख, आँखावरिपरि र अनुहारमा नै दुख्ने, रातो हुने, कालो दाग आउने, सुन्निने, आँखाको ढकनी सुन्निने, देख्ने क्षमता घट्ने, नाकबाट रगत तथा बाक्लो सिँगान बग्ने, ज्वरो आउने, मुखभित्र घाउ आउने, दाँत दुख्ने वा हल्लिनेजस्ता लक्षणहरु देखिएमा तुरुन्तै अस्पताल पुगिहाल्नुपर्छ ।
छटपटी, बेचैनी, निराशा: यदि डर, चिन्ता र तनाव भएर स्वयंले प्रयास गर्दागर्दै पनि निको नभएमा तुरुन्तै अनलाइन मनोपरामर्श लिइहाल्नुपर्छ वा मनोचिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । अत्यधिक निराशा, छटपटी, आत्महत्याको विचार आयो भने अस्पताल वा मनोचिकित्सकको उपचार अनिवार्य छ । यस्तो अवस्थामा आफैँ ठीक हुन्छ भनेर घरमै बस्ने गर्नुहुँदैन । यसरी नै अन्य मानसिक समस्या जस्तै– साइकोसिस भइहालेमा पनि मनोचिकित्सकीय उपचार जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्