लागूऔषधसहित चार युवा पक्राउ



इलाम, (नेस)

देश निषेधाज्ञामा रहेको बेला इलाममा भने लागू औषध प्रयोगकर्ता र कारोबारी बढेको छ । लकडाउनको मौका छोपी कारोवारीले विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधको प्रयोग र कारोबार गरिरहेको पाइएको हो ।

यसै क्रममा झापासँग समिा जोडिएको इलामको दक्षिणी माई नगरपालिकामा लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले झापातर्फबाट मोटरसाइकलमा दानाबारीस्थित शितलीतर्फ आउँदै गरेका चार जना युवालाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट करीब पाँच ग्राम ब्राउनसुगर फेला पारेको थियो ।

लागूऔषधसहित उनीहरु पक्राउ गरेपछि प्रहरीले उनीहरुले प्रयोग गरेका प्रदेश नम्बर१–०१३प ७२२२ र ना३२प ६९१९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले माई नगरपालिका ८ का २८ वर्षीय थापा, सोही स्थानका ३० वर्षीय कुविरसिंह तामाङ, सोही नगरपालिका १ का २२ वर्षीय रुपेशकुमार खत्री र वडा नम्बर ३ का २३ वर्षीय सुदीपकुमार दनुवारलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेपछि लागूऔषध बिक्री गर्ने अन्य गिरोहको पहिचान गरी खोजी गर्ने बाटो खुलेको इलामका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी लालध्वज सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्