कास्की अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक



कास्की ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले “कृषि पर्यटन र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार” को दीर्घकालीन भिजन तय गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरद्धारा सोमबार घोषणा गरिएको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रमले बिशेष गरी युवालाई कृषिमा आकर्षण गराउन युवा स्वरोजगार र युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।अध्यक्ष युवराज कुँवरले सबै वडामा तालिममार्फत रोजगारी सिर्जना गर्न युवा रोजगार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । पालिकाले आगामी आर्थिक वर्षमा कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण वैदेशिक तथा स्वदेशमा रोजगार गुमाएका युवाहरुलाई उनीहरुको क्षमता अनुसार स्वरोजगार बनाउने, पदमार्ग, पर्यटकीय क्षेत्रको विकास, शिक्षाका गुणस्तर सुधार एवं सामाजिक सुरक्षाको क्षेत्रमा यसअघि संचालित कार्यक्रमहरुलाई पालिकाले निरन्तरता दिएको छ ।

गाउँपालिकाले युवालाई स्वरोजगार तुल्याउन तीन महिने हाउस वायरिङ, प्लम्विङ, ड्राईभिङ, सिलाई बुनाई, ब्युटिसियन ट्रेडिङ, हेयरकटिङ, वर्कसप लगायतका अन्य व्यवसायिक तालिम गराउने नीति लिएको छ ।गाउँहरु खाली भएको र कृषिमा परनिर्भरता बढ्दै गएको बेला गाउँपालिकाले घरघरमै करेसाबारी अभियान संचालनको घोषणा पनि गरेको छ ।गाउँपालिकाको नीति तथा कार्यक्रममा ‘एक घरः एक बहुपोषणयुक्त करोसाबारी’ को अवधारणा ल्याएको छ। करेसाबारीमा पदमिना, कुरिलो, कागती, तुलसी, मरहठ्ठी, लेमनग्रास, मेवा, धनियाँ, घ्युकुमारी जस्ता आयुर्वेदिक महत्व रहेका बिरुवाहरुको उत्पादनसहित उपयोग गर्ने कार्यक्रम राखिने अध्यक्ष कुँवरले घोषणा गरेका छन। रैथाने बाली संरक्षणमा जोड दिँदै आएको पालिकाले कोदो संरक्षणको लागि अनुदानको व्यवस्था पनि गरेको छ ।

पर्यटकीय क्षेत्र समेटिएको पालिकाले पर्यटकीय होटल र रेष्टुरेण्टले कोदोको परिकारलाई मेनुमा अनिवार्य बनाएको छ । गाउँपालिका अध्यक्ष कुँवरले खाना खेर फाल्ने प्रवृत्ति अन्त्यको लागि ‘खाना नफालौं’ अभियान संचालन गर्ने घोषणा पनि गरेका छन् ।एक परिवार, एक दुहुनो गाइभैंसी,व्यावसायिक तरकारी खेतीलगायतका कृषिसँग सम्बन्धित कार्यक्रमलाई अनुदान दिइने पनि पालिकाको घोषणामा छ ।पशुधन बीमा कार्यक्रम सञ्चालन गर्ने, बहुवर्षे भुइँघाँस, पोषिलो हिउँदेघाँस, बहुवर्षै डालेघाँसका बिरुवाहरु लगाउने तथा नर्सरी स्थापना गर्ने योजनालाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । यसैगरी प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकमा फोटो सुट केन्द्र स्थापना गर्ने र सो गाउँलाई सांस्कृतिक गाउँको रूपमा घोषणा गर्नका लागि आवश्यक पूर्वाधार संरचनाहरु निर्माण गरी परम्परागत सांस्कृतिक गाउँको बनाउने पालिकाको घोषणा छ ।गाउँपालिकामा सङ्घीय सरकारबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गण्डकी प्रदेश सरकारबाट सञ्चालित मुख्यमन्त्रीवातावरण मैत्री नमुना कृषि गाउँ कार्यक्रमलाई प्रभावकारी तुल्याउँदै त्यस क्षेत्रमा कृषिको विशेष पकेट क्षेत्र स्थापना गर्ने नीति अङ्गिकार गरिने गाउँपालिकाले जनाएको छ ।

घर पालुवा जनावर कुकुरहरूमा विशेष पहिचान भएको स्वर र सुरक्षाका दृष्टिले समेत अब्बल भोटे प्रजातिको कुकुर यस गाउँपालिकाको उपल्लो भेकमा पाइने भएकोले सो को लगत अद्यावधिक गर्ने, संरक्षण गर्ने र कुकुरको छाउरा उत्पादन गरी बिक्री वितरण गरी आयआर्जन गर्नेतर्फ उत्प्रेरणा अभिवृद्धि गर्ने नीति अबलम्बन गरिने उहाँले बताउनुभयो गाउँपालिका भित्रका जलविद्युत उत्पादनको सम्भावनालाई उजागर गर्दै साना तथा ठूला जलविद्युत आयोजना सञ्चालन गर्न लगानीकर्तालाई आकर्षण गर्नुका साथै त्यस्ता आयोजनामा पालिकावासीको लगानी समेतको सुनिश्चिता गरी जलविद्युततर्फको “एक घर एक शेयर सदस्य” हुने नीतिलाई अंगिकार गरी स्थानीयवासी समेत ती आयोजनाबाट लाभान्वित हुने अवसरको सिर्जना गरिने अध्यक्ष कुँवरले बताउनुभयो ।हस्तकलाका सामाग्री र परम्परागत खाद्य पदार्थ ९सिन्की, गुन्द्रुक मह, कफी, अलैंची आदि० लाई यस गाउँपालिकाको विशेष ब्राण्डको रूपमा स्थापित गरी निकासीजन्य वस्तु उत्पादन गर्न प्रोत्साहन गरिनेछ उहाँले जानकारी दिनुभयो ।गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार संरचनाहरु निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।पर्यटकिय गाँउ छोम्रोङ माथि अन्नपूर्ण आधार शिविरका पदमार्गमा कुनैपनि पूर्वाधार विकासका नाममा मेशिनरी औजारको प्रयोग नगरिने र यस क्षेत्रलाई पर्यावरण प्राकृतिक कुमारी क्षेत्र कायम राख्दै विपत् अवस्थामा तुरुन्त उद्धार गर्न सकिने व्यवस्था मिलाउनका लागि आवश्क पहल गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

एक गाउँ एक सडक निर्माण कार्यलाई निरन्तरता दिई अधुरा सडक ट्रयाकहरुको पूणर्ताका साथै गाउँपालिका केन्द्र एवमं मध्य पहाडी लोकमार्गदेखि वडा केन्द्रहरू जोड्ने रणनीतिक महत्वका सडक स्तरोन्नती गरी बाह्रै महिना सञ्चालन हुने अवस्थामा ल्याइने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।मानव विकासका लागि प्राविधिक सिप सहितको गुणस्तरीय शिक्षा सार्थक बनाउका लागि शिक्षा क्षेत्रमा लगानी वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कोभिड-१९ महामारी र दैविक प्रकोपका कारणले पठनपाठनमा सिर्जना भएको अवरोधलाई दृष्टिगत गरेर सम्भव भएसम्म भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवम् रेडियोमार्फत,दूर तथा बैकल्पिक शिक्षा कार्यक्रमबाट अध्ययन अध्यापनको लागि पहल गरिने जनाइएको छ ।

संघीय सरकारबाट खोप खरिदको लागि अनुमति प्राप्त भएमा खोप खरिदको लागि आवश्यक रकमको कमी हुन नदिई गाउँपालिकाबाट आर्थिक स्रोतको व्यवस्थापन गरी क्रमशः सबै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाईने उहाँले बताउनुभयो ।नेपाल सरकारको सुशासन सम्बन्धी “म भ्रष्टचार गर्दिन, म भ्रष्टचार हुन दिन्न र जनताका लागि इमान्दार भएर काम गर्नेछु” भन्ने प्रतिज्ञा सहितको कार्यसंस्कृतिको प्रवद्र्धन गर्दै गाउँपालिकाबाट हुने सबै सेवा छिटो, छरितो र भ्रष्टचार रहित तुल्याउँदै भ्रष्टचारमा शुन्य सहनशिलता कायम गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्