वंश र कुल परम्पराको सम्मानमा कुलायन पूजा



प्रेममान डंगोल

नेवारहरु सकेसम्म आफ्नो खलक भिन्नै नबसी एकै ठाउँमा संयुक्त परिवारको रुपमा बस्ने गर्छन् । विशेष कारण वा परिवारको संख्या धेरै भएर भिन्नै बसे तापनि कुलायन पूजाका दिन सबैजना एकै ठाउँमा भेला हुन्छन् । आफ्नो वंश परम्परा सफलतापूर्वक चलाइराख्न र पुर्खाहरुले गरेर गएका कुशल कर्मको बाटोमा अघि बढ्न यो कुलायन पूजाको परम्पराले नै नेवारहरुको आफ्नो खलकको महत्व र पहिचान दिइरहेको छ ।वैशाख शुक्लपक्ष प्र्रतिपदादेखि अर्थात् रातो मच्छिन्द्रनाथ रथारोहणका दिनदेखि सिथि नखः अघिल्लो दिन अर्थात् असार शुक्लपक्ष पञ्चमीसम्म करिब ३५ दिनसम्म विभिन्न स्थानमा कुलायन पूजा गरिन्छ । केही गरी देवाली पूजा गर्न नपाएका वा गर्न नहुने गरी रोकिएका भए पनि सिठी चाडका दिन चतांमरी, मासको बारा, मुगको बारा र सानो केराउको बारा राखी कुलदेवताको पूजा गरी हाँसको अण्डासहितको सम्हय् बजी चढाएर भोज खाने गर्छन् । विशेष गरेर काठमाडौंका नेवारहरुले मात्र यो समयमा कुलायन पूजा गर्ने गर्छन् । काठमाडौंबाहिरका नेवारहरुले भने विभिन्न समयमा कुलायन पूजा गर्छन् । पाटनका विभिन्न स्थानमा र ग्रामीण क्षेत्रमा श्रीपञ्चमीका दिन देवाली मनाउँछन् ।

देवाली पूजा गर्नेहरुलाई देवाली खलक भनिन्छ । आखिरमा यो खलक एउटै परिवारका रगत नाताकै हुन्छन् । परिवार धेरै भएर छुट्टिएर जाँदाजाँदै बीस–पच्चीस घरसमेत हुन पुग्छन् । देवाली पूजा खलकहरुका थकालीको घरमा कुलदेवताको किंकिंपा अर्थात् शिरमाथिको गहना र कुलदेवतालाई दिनौं पूजा गरेर राखिन्छ । कुलायन पूजाका दिन जंगलनजिकैको डाँडामा वा अन्य कतै गएर पूजा गर्ने चलन रहिआएको छ । कुलायन पूजाको अघिल्लो दिन बेलुका सम्हय्, जाँड, रक्सी खाई छ्वय्ला भू गरिन्छ । नेवारहरुको जुनसुकै कार्यमा पूजा भोज भतेर गर्नुअघिल्लो दिन छ्वय्ला भू खाने भन्दै छ्वयला सम्हय् बजी र जाँडरक्सी खाएर शुद्धीकरण गर्ने चलन छ । कुलायन पूजाका खलकहरुले छ्वयला भू खाइसकेपछि देवाली नसकेसम्म कतै पनि गएर केही खानुहुँदैन ।कुलायन पूजाका दिन बिहान सबेरै बुहारीले कुचो लगाई मूल ढोकाअगाडि रातो कमेरो र गोबरले लिपेर गोलो बनाउँछन् । त्यसपछि स्नान गरेर चोखोनितो गरी मूल ढोकामा पूजा गरेर भित्र्याउँछन् । अनि सम्हय्को परिकार चढाई फूल, अक्षता, टीका लगाइदिएर ढोकाअगाडिको गोलोमा भ्यलुपाः द्यः भनी पूजा गरिन्छ । यसरी पूजा गरिने देवता प्रथम पुजक कुमार नै हुन् । त्यसपछि टोलमा भएका देवताहरुको पूजा गरेर घरमा आई आगममा नित्य पूजा गर्छन् । त्यसपछि कुलदेवतालाई देवतास्थान क्षेत्रमा लैजान पूजा गरेर सिँगारी, सानो खटमा राखी, खर्पनको एकातिर राखिन्छ ।

अर्कोतर्फ सम्हय् बजी भोज खाने परिकार राखेर खर्पन बोकी बाहिर ल्याइन्छ । एक्लो बाजा म्वाहाली बजाउँदै एकजना अघि लाग्छ । देवाली पूजाका खलकहरु पछि–पछि जान्छन् । कसैले बोका घिच्याउँदै लान्छन् भने कसैले लामा अगरबत्ती बालेर हिँड्छन् । कोही गोकुल धुप मकलमा बालेर देवतासँगै जान्छन् । कुलदेवतालाई देवस्थानमा पु-याए पछि मात्र बिसाइन्छ । नेवारहरुमा पनि विभिन्न जातिअनुसार कसैको गुभाजुले अनि कसैको थकालीले कुलदेवता पूजा गर्ने गरिन्छ ।कुलायन खलकका छोराहरुको व्रतबन्ध गर्दा पनि कुलदेवताको पूजा गराइन्छ । धेरैले त कुलदेवतास्थानमै गएर व्रतबन्ध गराउने चलन छ । त्यस्तै छोरीहरुको बेल विवाह गर्दा र गुफा राख्दा पनि कुलदेवता पूजा गर्ने चलन छ । त्यस्तै चेलीबेटीलाई विवाह गरेर पठाउँदा पनि कुलदेवतालाई सुपारी राख्न लगाएर मात्र आफ्ना आमाबाबु, दाजुभाइ, दिदीबहिनीलगायत आफन्त सबैलाई सुपारी दिने गराइन्छ । त्यस्तै छोराको विवाह गर्दा पनि नयाँ बुहारीलाई कुलदेवताको भाग छुट्याउन लगाएर मात्र सबैलाई सुपारी दिलाउने चलन छ ।नयाँ बुहारीलाई देवाली पूजाका दिन कुलदेवता स्थानमा भित्र्याउने चलन छ । नयाँ बुहारीलाई थकाली बूढी आमैद्वारा पुरानो तालाका साँचो समाउन लगाएर ठूलो करुवाबाट पानी झार्दै स्वागत गरी कुलदेवता स्थानमा भित्र्याउने चलन छ । नयाँ बुहारीलाई राख्न दिएको सुपारी कुलदेवतालाई चढाउन लगाएर देवतासँग सम्बन्ध गाँस्ने गरिन्छ । यसरी नयाँ बुहारीलाई देवतासँग सम्बन्ध स्थापित गराउनु भनेको कुलपुर्खाहरुसँग पनि सम्बध गाँस्नु हो । त्यसपछि मात्र नयाँ बुहारी आफ्नो कुलमा भित्रेको ठानिन्छ ।

थकालीबाट कुलायन पूजा खलक सबैलाई कुलदेवतालाई फूल–अक्षताले पूजा गराइन्छ । यो पूजामा पूजा सामग्री र चढाउने फलफूल, मिठाई, दही, जाँड रक्सी, चतांमरि, मासको बारा, मुंगको बारा, मासुका साथै हाँसको अण्डा, तारेको माछा र सम्हय् बजि, स्याः बजि, उसिनेको बोडी साँधेको, भटमास साँधेको, साँधेको आलु, छुवय्ला, अदुवा लसुन स–साना टुक्रा पारेर साँधेको राखेर पूजा गरिन्छ । पहिला गणेशको पूजा गरिन्छ अनि कुलदेवतालाई पूजा गरिन्छ । धेरैले तान्त्रिक पूजाअनुरुप हाँस वा बोका बलि दिने गर्छन् । रातो कपडा देवतालाई चढाई प्रसादको रुपमा सबैले कोखा मालाको रुपमा पहिरिने गर्छन् ।अन्त्यमा थकालीले सबैलाई टीका लगाइदिएर कुलधर्म थाम्न सकुन् भनी आशिर्वाद दिन्छन् अनि सबैले देवताको प्रसाद सम्हय् खान्छन् । देवतालाई चढाएको हाँसको अण्डा तारेर सबैलाई एक–एक टुक्रा प्रसादको रुपमा दिइन्छ । सम्हय् खाँदा जाँडरक्सी खाने गर्छन् । प्रायः धेरैजसो नेवारहरु बौद्ध भएकाले पनि कुलदेवतालाई हाँसको अण्डा चढाउने गरिन्छ । पञ्चदान गरेका नेवारहरु र अन्य बौद्ध नेवारहरुले आजसम्म पनि कुखुराको अण्डा र मासु नखानेहरु पनि छन् । यो कुरा यहाँ किन उल्लेख गरेको भने, कुलदेवतालाई हाँस र हाँसको अण्डा चढाए पनि बौद्ध नेवारहरु धेरैले कुखुराको मासु खान थालिसकेका छन् ।प्रायः कुल देवताको मूर्ति हुँदैन । कतै ३ वटा, कतै ५ वटा दर्शन ढुंगा स्थापना गरी राखिएको हुन्छ ।

त्यही ढुंगामा किंकिंपा चाँदीको चँदुवा राखेर फूल, टीका, माला चढाई पूजा गर्छन् । काठमाडौंका ज्यापूहरुले आ–आफ्नो क्षेत्रमा कुलदेवता स्थापना गरी राखेको देखिन्छ । जस्तै– रत्नपार्कको मूल ढोकासँगै, टुँडिखेलको सैनिक मञ्च भएको स्थान, भद्रकाली मन्दिर परिसरमा कुलदेवता स्थापना गरी राखेको छ । तल्लो टोल अर्थात् जोशी देगलका ज्यापूहरुका कुलदेवता सिन्धुलीको दुम्जा महादेव स्थानमा छन् । त्यहीँबाट देवता तानेर ल्याई काटमाडौंको कुलेश्वरमा कुलदेवता स्थापना गरी राखेको छ । जोशी देगल ब्रह्मटोलका कुम्हालेहरुका कुलदेवता भने धुम्बाराही देवता हुन् । त्यस्तै माथिल्लो टोल ज्याठाका कुम्हालेहरुको कुलदेवता ज्याठामै रहेको विश्वकर्माको रुपमा मान्दै आइरहेको गणेश हो । जमलका जमःमि ज्यापूहरुले जमलमै कुलदेवता स्थापना गरिराखेका छन् ।यसरी नेवारहरुले मान्दै आइरहेको कुलदेवता पूजा विभिन्न जातिअनुसार फरक भए तापनि आ–आफ्ना कुल, धर्म, संस्कार र परम्पराको सम्मानमा मान्दै आइरहेका छन् । आफ्ना पुर्खाले देखाएका असल कर्ममा लाग्नु नै कुलदेवता खलकहरुको कर्तव्य हो भनी मान्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्