मेयर महतको नागरिकप्रेम सबैले पाउनुपर्ने भन्दै रोके खोप



हेटौंडा , नेस ।

हेटौंडा उपमहानगरमा बुधबार विवादका बीच कोरोनाविरुद्ध चिनियाँ भेरोसेल खोप लगाउन थालिएको छ । उपमहानगरका ६२ वर्षदेखि ६४ वर्ष उमेरका नागरिकलाई भेरोसेल खोप लगाउने कार्य हेटौंडामा केही समय रोकिएको थियो ।विहान १० बजे खोप लगाउने सम्पूर्ण तयारी पूरा भएको अवस्थामा नगर मेयर हरिबहादुर महतले तत्काललाई खोप रोक्न निर्देशन दिएलगत्तै रोकिएको थियो । मेयर महतले ६२ वर्षमाथिका नागरिकलाई मात्र नभएर अन्य उमेरकाले पनि खोप पाउनुपर्ने भन्दै पत्रकार सम्मेलन गरेर खोप लगाउने कार्य रोकेका थिए ।

मेयर महतले भन्नुभयो–६० वर्षमाथिका नागरिकलाई मात्र कोभिड हुने हो र रु अन्य उमेरकाले पनि खोप पाउनुपर्छ । वडाध्यक्ष र स्वास्थ्यकर्मीहरु अन्यौलमा परे नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो–सबै नागरिक हुन् । सबैले खोप पाउनुपर्छ । कोही रिसाएर केही हुँदैन ।हेटौंडाका १९ वटै वडामा खोपका लागि टोली परिचालन भइसकेको अवस्थामा मेयर महतको आदेशमा खोप लगाउन रोकिएपछि स्वास्थ्यकर्मी, लक्षितवर्ग र वडाध्यक्षहरु अन्यौलमा परेका थिए । खोप लगाउन शुरु हुनुभन्दा करिब ५ मिनेटअघि मेयर महतको आदेशमा खोप लगाउन रोकिएपछि तयार भएका स्वास्थ्यकर्मी र उपस्थित वडाध्यक्षहरु अन्यौलमा परेका थिए ।संघीय सरकारले उमेर तोके पनि कोरोनाको जोखिममा रहेका सबै नागरिकलाई खोप लगाउनुपर्ने उपमहानगर मेयर महतले बताउनुभयो । नगरका नागरिक सबै आफ्ना लागि बराबर भएकाले खोप सबै उमेर समूहका नागरिकलाई लक्षित गरेर लगाउनुपर्ने मेयर महतको माग छ ।संघीय सरकारले खोप पठाउँदा कोहीलाई लगाउने र कोहीले लगाउन नपाउने समस्या हटाउनुपर्ने उहाँले बताउनुभयो । हेटौंडाका सबै नागरिकलाई पालैपालो खोप लगाउन पहल गरिरहेको मेयर महत बताउनुहुन्छ ।

कोरोनाको महामारीमा खोप कार्यक्रम प्रभावकारी भएकाले यसलाई पक्ष-विपक्ष बनाउन नहुने उहाँको कथन छ । अधिकांश हेटौंडेलीले भने मेयर महतको भनाइ र उनको विचारको कदर गरेका छन् उपहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले ‘प्राविधिक कारण’ खोप कार्यक्रम ढिला सुरु भएको बताउनुभयो । नगरका ६२ वर्ष देखि ६४ वर्षसम्म उमेर समूहकालाई खोप लगाउने कार्यक्रम छ चीनबाट आएको कोरोना भाइरसविरुद्ध भेरोसेल खोप स्वास्थ्य मन्त्रालयबाट मकवानपुरका लागि ६ हजार ५ सय डोज आएको छ । हेटौंडाका लागि २ हजार ७ सय डोज पठाइएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । थाहा नगरपालिकालाई ६ सय ८५ डोज, मनहरी गाउँपालिकालाई ५ सय ३९, बकैया गाउँपालिकालाई ४ सय ८६ डोज, बामगती गाउँपालिकालाई ४ सय ३४ डोज, मकवानपुरगढी गाउँपालिकालाई ३ सय ९३ डोज, भीमफेदी गाउँपालिकालाई ३ सय ९३ डोज, कैलाश गाउँपालिकालाई ३ सय ७८ डोज, राक्सिराङ गाउँपालिकालाई २ सय डोज, इन्द्रसरोवर गाउँपालिकालाई १ सय ९२ डोज खोप पठाइएको कार्यालयले जनाएको छ ।मकवानपुरमा हाल घरमा १ हजार ७ सय ९८ जना र १ सय ८ जना अन्य आइसोलेसनमा गरी १ हजार ९ सय ६ जना सक्रिय संक्रमित उपचाररत् छन् । जिल्लामा हालसम्म ९ हजार ४ सय ९६ जनामा कोरोना पुष्टि हुँदा ७ हजार ४ सय ७० जना संक्रमणमुक्त भइसकेका छन् । जिल्लामा कोरोनाका कारण हालसम्म १ सय ८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्