साउदीमा रहेका काभ्रेलीले उपलब्ध गराए अक्सिजन कन्सन्ट्रेटर



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रे सेवा समाज, साउदी अरबले कोभिड–१९ महामारी नियन्त्रणका लागि काभ्रेपलाञ्चोक जिल्लाका लागि १२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।जिल्ला संकट व्यवस्थापन केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै सदुपयोगका लागि सेवा समाजले अनुरोध गरेको छ ।काभ्रे सेवा समाज, साउदी अरबका अध्यक्ष जेन लामा, महासचिव सुरेशराज त्रिपाठीलगायत साउदी अरबमा रहेका काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरूले संकलन गरेको रकमबाट अक्सिजन कन्सन्ट्रेटर खरिद गरी जिल्लाका लागि पठाइएको अध्यक्ष लामाले बताउनुभयो ।

नेपालमा कोरोना संक्रमणका बिरामी बढिरहँदा अक्सिजन अभावका कारण मृत्यु हुने अवस्थामा पुगेपछि विदेशमा रहेका नेपालीहरूले जीवन रक्षाका लागि स्वास्थ्य सामग्री खरिद गरी पठाउन थालेका हुन् । ‘केही साताअघि अक्सिजन नभएकै कारण बिरामी भर्ना गर्न सकिने अवस्था थिएन, अहिले केही सहज भएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झाले भन्नुभयो– ‘बिरामीका लागि अस्पतालको श्यया र अक्सिजन अभाव हुन नदिने गरी व्यवस्थापनको कार्य शुरू भएको छ ।’ काभ्रे सेवा समाज साउदी अरबबाट पठाइएका अक्सिजन कन्सन्ट्रेटरको सही सदुपयोग गर्ने उहाँले बताउनुभयो ।

सेवा समाजका कोषाध्यक्ष त्रिपाठी लगायतको समुहले प्रमुख जिल्ला अधिकारी एवं संकट व्यवस्थापन केन्द्रका संयोजक शिवराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, संकट व्यवस्थापन केन्दका सदस्यहरू विष्णु दल गणका गणपति कर्णेल मिलन थापा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झा, सशस्त्र प्रहरी कार्यालय काभ्रेका एसपी महेश केसी, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका प्रमुख अरुण कार्की, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाको सहभागिता रहेको थियो । काभ्रे सेवा समाजका पूर्वअध्यक्ष प्रल्हाद केसी, महासचिव मधुसुदन गुरागार्इं, सचिव राघव सिं खड्का लगायतको सहभागिता रहेको थियो ।प्रमुख जिल्ला अधिकारी पोखरेलले काभ्रे सेवा समाज साउदी अरबले उपलब्ध गराएका सामग्रीहरूलाई जिल्लाका पालिकाहरूमा रहेका आइसोलेसन सेन्टरहरूमा रहेको जनशक्तिका आधारमा उपलब्ध गराउँदै कोभिड नियन्त्रणमा उपयोग गरिने बताउनुभयो ।

प्रजिअ पोखरेलले जिल्लाबाट वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेर जिल्लाका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले संकलन गरिएको रकमबाट सामग्री उपलब्ध गराएकोमा विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । काभ्रे सेवा समाज साउदी अरबका अध्यक्ष जेन लामाले विपत्मा जहाँ पुगे पनि सँगै रहेको आभाष दिलाउन उक्त रकम संकलन गरी सामान खरिद गरी पठाइएको बताउनुभयो । संक्रमणको जोखिममा अति उपयोगी गुणस्तरीय ५ लिटर क्षमता भएको २१ किलो वजन, ९३ प्रतिशत अक्सिजन आउटपुट प्युरिटी दिने ओब्गेल्स कम्पनीको मेडिकल अक्सिजन कन्सट्रेटर १२ वटा उपलब्ध गराइएको छ । प्रतिगोटा ७९ हजार रूपैयाँमा १२ वटाको ९ लाख ४८ हजार रूपैयाँ खर्च भएको सेवा समाजका महासचिव सुरेशराज त्रिपाठीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्