गर्मी याममा पानी धरै पिउनुहोस्



गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनुपर्छ । गर्मीको समयमा शरीरमा पानीको कमी हुने समस्या भइरहन्छ । गर्मीमा शरीरको तापमान नियन्त्रित गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । यसैले यो मौसममा पानी अझ बढी आवश्यक हुन्छ । पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या निम्तन्छन् । यति मात्र नभई प्रतिदिन व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्छ ।

पानी खाना खानु आधा घण्टाअघि या खाना खाएको आधा घण्टापछि पिउनुपर्छ । गर्मीबाट आउनेबित्तिकै पानी पिउनुहुन्न, केही बेर आराम गरेपछि मात्र पिउन सकिन्छ । यदि छाती पोल्ने या कब्जियतको समस्या छ भने पानीमा एक चम्चा कागतीको रस मिसाएर पिउन सकिन्छ ।खाना खाएलगत्तै पानी पिउनुहुन्न, यसले खाना पचाउन समस्या हुन्छ । बिहान उठ्नेबित्तिकै पानी पिउनु लाभदायी हुन्छ । पानी पर्याप्त पिउनाले पेटको क्यान्सर, मूत्राशयको क्यान्सर तथा स्तन क्यान्सरजस्ता गम्भीर रोगबाट सजिलै बच्न सकिन्छ ।
– सूर्य नेपाल, राजविराज ।

प्रतिक्रिया दिनुहोस्