बन्दाबन्दीमा वन्यजन्तुको खुलेआम तस्करी



विमल विष्ट डोटी ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञा अर्थात् बन्दाबन्दीका कारण जिल्लामा वन्यजन्तुको चोरी शिकार बढेको छ ।
यहाँका ग्रामीण क्षेत्रवाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी सिकारी हुने गरेको पाइएको हो । वन्यजन्तुको चोरी सिकारी व्यापक भए पनि हालसम्म चोरीसिकारी नियन्त्रणको प्रभावकारी अभियान सञ्चालन हुन नसकेको स्थानीयको आरोप छ । जिल्लाका बिभिन्न सामुदायिक र सरकारी वनहरूमा खुलेआम रतुवा, बदेल, घोरल, कालिज लगायतका वन्यजन्तु र बहुमूल्य जडिबुटीसमेत तस्करी हुने गरेको स्थानियवासीको आरोप छ । यहाँका ग्रामीण क्षेत्रहरूवाट तस्करले जङ्गली जनावरको मासुको सुकुटी बनाई राख्ने गरेको स्थानीयवासीहरू बताउँछन् ।

वन्यजन्तुको चोरी सिकारी हुने गरेको व्यापक जनगुनासो आउने गरेको भए पनि कोरोना कहरका कारण नियन्त्रण तथा रोकथामकालागि टोली खटाउन नसकिएको डिभिजनल वन कार्यालयले जनाएको छ । यहाँको महाभारत शृङ्खला अन्तर्गतको तेलेलेक वनमा, खप्तड राष्ट्रिय निकुञ्ज आसपासका वनमा चोरी सिकार बढेको सायल गाउँपालिकाका स्थानीय रमेश कामीले बताउनुभयो । उहाँले भन्नुभयो–बन्दाबन्दीले सबै ठाउँ बन्द छ, जङ्गलतिर कोही जादैनन्, अहिले वन्यजन्तु चोरी शिकार गर्न तस्करलाई निकै सजिलो भएको छ ।केही हप्तादेखि मौलाएको वन्यजन्तु चोरी सिकारका कारण जङ्गली वन्यजन्तु लोप हुने अवस्थामा पुगेको शिखर नगरपालिका–१ नापानीका यज्ञ बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो–वन्यजन्तुको चोरी सिकार गर्नेहरू खुलेआमरूपमा दैनिक वन्यजन्तु मारीरहेका छन्, रोक्न सकिएको छैन, अब त वन्यजन्तु नै लोप हुने स्थिति आएको छ ।तस्करहरूले चोरी सिकारीका लागि महिनौं पहिलेदेखि घरेलु हात हतियारसहित जङ्गलमा निगालोका डोको बुन्ने बाहानामा बास बस्ने र शिकार गर्ने गरेको स्थानीयासीहरू बताउँछन् । शिकार गरी मारिएका वन्य जन्तुको मासु यहाँका विभिन्न राजमार्ग लगायत सदरमुकामका होटलहरूमा समेत बिक्री बितरण हुने गरेको छ ।

जिल्लाको खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएका वन र माहाभारत शृङ्खलाअन्तर्गत रहेको तेलेलेक वनवाट बढी मात्रामा वन्यजन्तु चोरी सिकारी हुने गरेको पाइएकोे छ । कर्णाली किनार हुँदै डडेल्धुराको गन्यापधुरादेखि डोटीका विभिन्न स्थानीय तहलाई तेलेलेको वनले समेटेको छ ।चोरी सिकारी बढी हुने क्षेत्रका रूपमा चिनिएको तेलेलेक वनक्षेत्रलाई जिल्लाको शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान शुरू गर्ने बताएको छ । डिभिजन कार्यालयसँग मिलेर चोरी शिकारी नियन्त्रण र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा चोरी शिकारी निरुत्साहित गर्ने सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको शिखर नगरपालिका– १ का वडाअध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो–तेलेलेकमा हुने वन्य जन्तुको चोरी सिकार नियन्त्रणका लागि हामी पुरै योजनाबद्ध तरीकाले अगाडि बढ्ने भएका छौँ,चोरी शिकार गर्नेलाई नियन्त्रणमा लिई कारवाहीका लागि अगाडि बढ्ने छौं ।

प्रतिक्रिया दिनुहोस्