स्याङ्जामा नेपालकै पहिलो मिनी अक्सिजन प्लान्ट निर्माण सम्पन्न



अमृत अर्याल, स्याङ्जा ।

नयाँ भेरियण्ट सहितको कोरोना भाइरसको संक्रमणका कारण शुरुका दिनमा जिल्लाका अस्पतालहरुमा अक्सिजनको व्यवस्थापन गर्न नसक्दा कयौं बिरामीहरुको मृत्यू हुन पुग्यो । अब भने अक्सिजनको अभाव नहुने भएको छ । राष्ट्रिय आविष्कार केन्द्र नेपाल र भीरकोट नगरपालिकाको संयुक्त लगानीमा मिनी अक्सिजन प्लान्ट निर्माणगरिएको छ । कोरोना संक्रमणको महामारीमा संक्रमितलाई अक्सिजनको आवश्यकता महसुस गरेर आविष्कार केन्द्र र भीरकोट नगरपालिकाको संयुक्त लगानीमा मिनी अक्सिजन प्लान्ट निमार्ण गरिएको हो । अक्सिजनको अभावमा संक्रमितहरुको मृत्यू भैरहेको बेला भीरकोटमा निर्माण भएको अक्सिजन प्लान्टले अब स्याङ्जावासीलाई सहज हुने बताइएको छ । राष्टिञष्य आविष्कार केन्दको टोलीले नगर प्रमुख छायाराम खनाललाई उक्त प्लान्ट हस्तान्तरण गरेको छ । एक पटक १२ जनालाई अक्सिजन दिन मिल्ने गरी निर्माण गरिएको प्लान्ट करिव २० लाखको लागतमा सम्पन्न भएको नगरप्रमुख खनालले बताउनुभयो ।

सिलिण्डरमा परनिर्भरता भै अक्सिजनको उत्पादन पर्याप्त नभएकै कारण अक्सिजन सिलिण्डरको हाहाकार भएपछि राष्ट्रिय आविष्कार केन्द्रले वैकल्पिक प्रविधिवाट मिनि अक्सिजन प्लान्ट निर्माण गरी स्याङ्जाको भीरकोट नगरपालिका स्थित भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरेको छ । नेपालमै पहिलो पटक परिक्षणका रुपमा आविष्कार केन्द्रले निमार्ण गरेको यो प्लान्ट सफल भएको बताएको छ । राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले काठमाण्डौमा अनुसन्धान गरेको योजनालाई भीरकोट नगर अस्पतालमा परिक्षण गर्दा सफलता हासिल गरेको बताउनुभयो । अब नेपालले अक्सिजन उत्पादनमा कुनै समस्या झेल्न नपर्ने बताउदै इन्जिनियर देवले देशका जुनसुकै भागमा यो प्लान्ट निमार्ण गर्न सकिने बताउनुभयो । लागतको रुप भने फरक फरक हुने भन्दै इन्जिनियर देवले अहिले सम्म गरेको अनुसन्धानले २५ देखि ३० जना सम्मलाई यो प्लान्टले एकै पटक अक्सिजन दिन सकिनेगरी बनाउन मिल्ने बताउनुभयो ।

नगरपालिका र आविष्कार केन्द्रको संयूक्त लागतमा उक्त प्लान्ट निर्माण गरिएको भीरकोट नगरपालिकाका नगर प्रमुख छाँयाराम खनालले जानकारी दिनुभयो । अहिले यसबाट एक मिनटमा १२ जनालाई ५÷५ लिटरका दरले अक्सिजन दिन मिल्ने आबिष्कार केन्द्रका प्रतिनिधिको भनाई छ । यसका लागि ७ वटा अक्सिजन जेनेरेटर जडान गरिएको छ । १० लिटर अक्सिजन उत्पादन गर्ने ६ ओटा र ५ लिटर अक्सिजन उत्पादन गर्ने १ गरी ७ ओटा अक्सिजन जेनेरेटरले एक मिनटमा ६५ लिटर अक्सिजन उत्पादन हुने केन्द्रका इन्जीनियर देवले जानकारी दिनुभयो । अविष्कारका १० जनाको टोली दुईदिनमै यो प्लान्ट बनाउन सफल भएको छ ।

अहिले निर्माण भएको मिनी अक्सिजन प्लान्ट विद्युत अवरुद्ध भएपनि दुई घण्टा सम्म काम गर्ने क्षमताको रहेको छ । भीरकोट नगर अस्पतालमा यो प्लान्ट बनेपछि अब जिल्लाका कुनै पनि नागरिकलाई अक्सिजनको अभाव नहुने बताइएको छ ।महामारी फैलिएको र अक्सिजन सिलिण्डरको चरम अभाव भैरहेको बेला आविष्कार केन्द्रले वैकल्पिक विधिवाट अक्सिजन उत्पादन गरी एकैसाथ अस्पतालका सबै वेडहरुमा पुग्ने गरी नगर अस्पतालमा जडान गरेकोमा नगर प्रमुख खनालले आविष्कार केन्द्र र महाविर पुनप्रति आभार ब्याक्त गर्नुभयो ।

भीरकोट नगर प्रमुख खनालले कोरोना संक्रमणबाट निसास्सीएको स्याङ्जालाई राष्टिञय आविष्कार केन्द्रका प्रमुख महाविर पुनको पहलमा निमार्ण भएको अक्सिजन प्लान्टले जिल्लावासीको ज्यान बचाउन गरेको सहयोगको उच्च प्रशंसा गर्नुभयो । जुनसुकै पालिकाका नागरिकले पनि सेवा लिन पाउने बताउदै नगर प्रमुख खनालले यो प्लान्ट सफल भए पश्चात ९८ शैया रहेको अस्पतालमा सबै शैयामा पुग्ने गरी प्लान्ट बढाउन सकिने बताउनुभयो । हालसम्म जिल्लामा अक्सिजनको आवश्यकता परेका बिरामीलाई धेरैजसो पोखरा रिफर गरिएको थियो ।

अब जिल्लामै अक्सिजन सहितको अस्पताल भएपछि पोखरा र पाल्पा जान नपर्ने भएको खबरले स्थानीयमा उत्साह थपिएको छ । गण्डकी प्रदेश नेपाली काँग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले स्थानीय सरकारको पहलमा बनेको प्लान्टको स्वागत गर्नुभयो । यो महामारीमा राजनीति भन्दा माथी उठेर सेवाभाव गर्नुपर्ने बताउदै प्रदेश सांसद श्रेष्ठले संघिय सरकार र प्रदेश सरकारले यो प्लान्टका लागि आर्थिक सहयोग गर्न आग्रह गर्नुभयो । कोरोनाको दोस्रो लहरको शुरुवातीवाटै आविष्कार केन्द्रका इन्जिनियर उमेश किराँत र रितिश देवले अक्सिजनको वैकल्पिक व्यवस्थाको लागि यो प्रविधिको आविष्कार गरिएको केन्द्रले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, अर्जुनचौपारी गाँउपालिका प्रमुख दिर्घनारायण अर्याल, अस्पताल संचालक समितिका अध्यक्ष तोयनाथ अर्याल, भीरकोट नगरका प्रवक्ता दिपेन्द्र क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुषाल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, भीरकोट नगरपालिकाका योजना शाखा प्रमुख यामप्रसाद रेग्मी लगायतका बक्ताहरुले यो महामारीमा भीरकोट नगरपालिकाले मिनी अक्सिजन प्लान्ट निर्माण गर्नु स्राहनीय काम भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्