तातो फलामले श्रीमतीलाई डाम्नेविरुद्ध उजुरी



धादिङ (नेस) ।

नीलकण्ठ नगरपालिका –१२ की सन्तोषी गौलीलाई सुतेको अवस्थामा उनका पति कपिल भट्टले तातो फलामले पोलेर घाइते पारेका छन् ।पतिले दुई वर्षदेखि लागातार कुटपिट गरेर ज्यान मार्न खोजेका कारण घटनापछि प्रभावित महिलाले घर छाडेर सुरक्षित आवास गृहको शरण लिन पुग्नुभएको छ ।

घर छाडेर सहयात्री समाजले सञ्चालन गरेको सुरक्षित आवास गृहमा पुग्नु भएकी गौलीले अब आफ्नो माइती घरसमेत जान नस्कने र बस्ने ठाउँ नभएको बताउनुभयो ।पीडितले आरोपितलाई कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिनुभएको छ । सोही दिन धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र आफू अब कुनै पनि हालतमा त्यो घर फर्कन नसक्ने पीडितले बताउनुभएको छ ।घटना भएको दिन पीडितले १०० मा कल गरेर आफूलाई पतिले तातो फलामले पोलेर मार्न खोजेकोले बचाउन आग्रह गर्दा प्रहरीले श्रीमान् श्रीमतीको झगडा रहेछ मिलेर बस्नु भनेकोले आफूले सुरक्षाको अनुभवसमेत गर्न नसकेको पीडितको गुनासो छ ।

यसअघि, २०७७ पुस १५ गते पनि आफूमाथि आरोपितले कुटपिट गर्दै घाँटी थिचेर मार्न खोजेपछि जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको समेत छानविन नभएकोले आफूलाई न्याय दिलाउन पीडित गौलीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्