संकटका सारथी बन्दै काभ्रेली पत्रकार



सन्तोष तिमल्सिना

गएको हप्ता दिनअघि हामी नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कार्यलयमा पुग्दा अध्यक्ष बद्रीराज तिमल्सिना अलि हतारमा थिए । महासंघ काभ्रे शाखाले स्थापना गरेको आपतकालीन राहत कोषमा नेपाल प्रेस युनियनको तर्फबाट सहयोग रकम हस्तान्तरणका लागि पुगेको टोलीलाई छोटो समय दिएर उनी बिदा भए । महामारी नियन्त्रणका लागि स्थानीय, सरकार र स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरी थप हौसला प्रदान गर्नु उहाँको अर्को अभियान रहेछ ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड महामारीले काभ्रे जिल्लालाई पनि निकै प्रभाव पारेको थियो । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिन थालेपछि यसको व्यवस्थापन, रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रसाशन कार्यलयहरुले निषेधाज्ञा गरको थियो । केही पालिकाहरु सिल गरिएका थिए । सडकमा साइरन बजाउँदै प्रहरी र एम्बुलेन्सहरु गुडिरहेका थिए ।

कोरोनाको कहर सामुदायिक स्तरसम्म फैलिएको थियो । कोभिडका बिरामीहरुले अस्पस्तालमा बेड पाउन सकिरहेका थिएनन् । अक्सिजन, आईसीयु र भेन्टिलेटरको अभाव सिर्जना भएको थियो । कतिले अकालमा ज्यान गुमाइरहेका थिए, कति जना त अक्सिजन नपाएर छट्पटाइरहेका थिए । बिरामीका आफन्तहरुको आँसु रोकिएको थिएन । हरेक पत्रकारहरुको कलमले मृत्युको खबर लेखिरहेको थियो ।सबै पत्रकारहरु घरभित्रै रहेर प्रविधिको उपयोग गरी समाचार संकलन र प्रकाशन गरिरहेको समयमा पत्रकारिता र समाजसेवालाई समानान्तररुपमा अघि बढाई संकट निवारण कार्यमा निरन्तरता दिँदै संकटका सारथीका रुपमा महासंघका अध्यक्ष तिमल्सिनाले खेलेको भूमिका प्रशंसनीय छ ।पत्रकारिता पेसाको संवद्र्धन, पत्रकारहरुको संरक्षण र हितका लागि विभिन्न सामाजिक संघसंस्था, व्यक्ति तथा शुभेच्छुकहरुसँग समन्वय गरी आपतकालीन राहत कोषको स्थापना गरेर यसलाई मजबुत बनाउने अभियानमा सिंगो कार्य समिति प्रतिबद्ध ढंगबाट लागेको छ । आफ्नो पेसा, आबद्ध सदस्य, संगठनका साथै सामाजिक हितका कार्यहरु गर्नु कुशल नेतृत्वमा हुनुपर्ने एउटा गुण हो ।पत्रकार महासंघ काभ्रेको समन्वयमा प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउन्डेसन तथा सिंगापुर रेडक्रसद्वारा कोरोना विशेष अस्पताललाई भेन्टिलेटर मेसिन उपलब्ध गराइयो । कोभिड–१९ बाट संक्रमितहरुको जीवन रक्षार्थ सक्रिय रहेको अस्पताल, स्वास्थ्य संस्थालाई भेन्टिलेटर, हाइफ्लो अक्सिजन कन्सन्ट्रेटर, पीपीई सेटलगायतका अत्यावश्यक सामग्रीहरु वितरण गरेर उदाहरणीय कार्य गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय पालिकाहरुसमेत सक्रियरुपमा लागेको देखिन्छ । साथै स्वास्थ्य सामग्री वितरण गर्ने दायित्व पत्रकारिता पेसा गर्नेहरुको पनि हो भन्ने कुरा काभ्रेली पत्रकारको भूमिकाले प्रमाणित गरेको छ । पत्रकार पनि समाजप्रति पूर्ण उत्तरदायी हुन्छन् भन्ने यो बलियो प्रमाण पनि हो ।हरमानिसको स्वास्थ्य र ज्यान उत्तिकै महत्वपूर्ण छ । महामारीको सन्त्रासमा रुमलिएको सामाजिक मानसिकताभन्दा बाहिर निस्केर त्रासदी र चुनौतीपूर्ण दैनिकीलाई चिर्दै मस्तिष्कमा समाजको चिन्ता, हृदयमा मानवीय सेवाका साथ युद्धभूमिमा होमिएका यी पत्रकार युद्धभूमिको सिपाहीसरह महामारीविरुद्ध लडिरहेका छन । शायद उनीहरुलाई कोरोनाले मर्छु भन्ने डर पटक्कै लाग्दैन । उनीहरुको समाज सेवाको भावनालाई बुझ्ने हो भने यस्तो लाग्छ कि, यो विषम परिस्थितिमा कसैले पनि ज्यान गुमाउनु नपरोस् ।सूचना विभागले जारी गरेको पत्रकार परिचय–पत्र गलामा भिरेर अस्पताल, स्वास्थ्य केन्द्रका साथै स्थानीय तहहरुले सञ्चालन गरेका अस्थायी कोभिड अस्पताल एवम् आइसोलेसनसम्म पत्रकारहरु पुगे । पत्रकारहरुले त्यहाँबाट समाचार लिएर हैन, त्यहाँ आवश्यक स्वास्थ्य सामग्री दिएर फर्किए । संकटको घडीमा पत्रकारका अभिभावकलाई समाचारको कन्टेन हैन, नागरिक सुरक्षाको प्रत्याभूति चाहिएको छ । पत्रकार महासंघ काभ्रेका अध्यक्ष नै महामारीविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर मानवीय सेवामा सक्रिय रहँदा पत्रकारिता पेसा र मर्यादालाई अझ उचाइमा पु¥याएको छ ।

(लेखक तिमल्सिना काभ्रे सन्देश साप्ताहिकका सह–सम्पादक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्