नेपालगञ्जमै ‘ड्रपआउट’ को ठूलो चुनौती



बाँके (नेस) ।

नेपालगञ्जको वडा नं. १३ मा रहेको अरुण आधारभूत निमावि, लालापूर्वामा ४ सय ११ जना विद्यार्थी छन् । दैनिक उपस्थिति भने धेरै कम हुन्छन् । ७० प्रतिशत दलित समुदायको बच्चा पढिरहेको यो स्कुलमा बिचैमा विद्यालय छोड्ने (ड्रपआउट) धेरै रहेका छन् । विद्यालय प्रधानाध्यापक राजेन्द्रप्रसाद पाण्डे २५ प्रतिशतसम्म ड्रपआउट हुने गरेको बताउनुहुन्छ ।

एकदेखि सात कक्षासम्म सञ्चालनमा रहेको स्कुलको ‘क्याचमेन्ट एरिया’ पाँच वटा गाउँ छन् । लालापूर्वासँगै लोनियनपुरुवा, लोधईगाउँ, खट्टनपुरुवा, प्रसनपुरुवाका विद्यार्थी यहाँ पढ्न आउँछन् । निरक्षर अभिभावकको संख्या धेरै रहेकाले बच्चाहरू पनि नियमित स्कुलमा आएको पाइदैन । प्रधानाध्यापक पाण्डे भन्नुहुन्छ–भर्नामा अभियानमा नाम लेखाउँछन् । बीचमा गायब हुन्छन् । अर्को वर्ष फेरि तिनै नाम लेखाउन आउँछन् ।’यी बस्तीमा ५० प्रतिशत अभिभावक निरक्षर रहेको प्रधानाध्यापक पाण्डेको भनाइ छ । अभिभावकले बच्चालाई स्कुल पठाउनुभन्दा तत्कालको काम नै ठूलो देख्छन् । घरमा काम परेको बेला बच्चा स्कुल आउँदैनन् ।यो स्कुलमा सात जना स्थायी र तीन जना राहतका शिक्षक छन् । स्कुल आसपासमा ६ वटा बाल विकास केन्द्र चलिरहेको छ । साना विद्यार्थी त्यहाँ पढ्ने र ६ वर्ष पुगेपछि स्कुलमा भर्ना हुन आउने गर्दछन् ।

वडा नं. १३ मा अर्को एउटा स्कु्ल छ, नेराप्रावि सूर्यपुर । प्रधानाध्यापक शशिनाथ भट्टराईका अनुसार, एक सय ५० जना विद्यार्थी छन् । दैनिक उपस्थिति पूरै छैन । ड्रपआउटको समस्या यहाँ पनि रहेको छ । यो स्कुलमा शिशु कक्षा पनि सञ्चालनमा रहेको छ । चार जना दरबन्दी र एकजना बाल विकास शिक्षक रहेका छन् ।वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले वडाका यी दुई स्कुललाई बजेटमा फोकस गर्नु भएको छ । वडाले वर्षेनी नियमित स्कुल आउने, प्रथम, द्वितीय, तृतीय हुनेलाई पुरस्कृत गर्दै आएको छ । सधैं स्कुल जाँदा नै पुरस्कार पाइन्छ भन्ने बच्चा र अभिभावकमा राम्रो प्रभाव पार्न वडाले यो रणनीति अपनाएको छ । प्रथम, द्वितीय, तृतीय हुनेलाई शैक्षिक सामग्री नै पुरस्कारको रूपमा दिने गरेको छ । अरुण आधारभूत निमाविका प्रधानाध्यापक पाण्डेले वडाध्यक्ष शाहले पुरस्कृत गर्न थालेपछि विद्यार्थीर अभिभावकमा राम्रो प्रभाव परेको बताउनुभयो । वडाले विद्यार्थीलाई स्कुलमा आकर्षित गर्न खेलकुद सामग्री दिने गरेको छ ।स्कुलमा बाउन्ड्री नभएकाले विद्यार्थी निस्केर हिड्ने गरे भनेपछि वडा कार्यालयले अरुणमा १३ लाख रुपियाँ खर्च गरेर बाउन्ड्री निर्माण गरेको छ । त्यसमा गेट निर्माण गर्न थप एक लाख रुपियाँ छुट्याइदिएको छ । दुवै स्कुलमा बत्ती जोडेर त्यसको महसुल वडाले तिर्ने गरेको छ । चालु आर्थिक वर्षमा ४० हजार रुपियाँ त्यसमा खर्च भएको छ ।

वडाले बालबालिकालाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्थासँगै विद्यालय राम्रो बनाउनु ठूलो बजेट दिइरहदा पनि ड्रपआउटको समस्या देखिनुलाई चुनौतीको रूपमा लिइएको छ । वडाध्यक्ष शाहले यसका लागि शिक्षक र अभिभावक पनि लाग्नु पर्ने बताउनुभयो ।‘हामीले बजेटको व्यवस्था गरिदिएका छौं । अझै के गर्नु पर्छ गर्छौं, विद्यार्थी स्कुलमा टिक्दैन भने शिक्षकले पनि मेहनत गर्नुपर्छ । व्यवस्थापन समितिमा रहेकाहरूले बढी ध्यान दिनुपर्छ, वडाध्यक्ष शाहले भन्नुभयो, ‘एक÷दुई दिन बच्चा नआउनेबित्तिकै उसको अभिभावकसँग सम्पर्क गरेर किन आएन भनेर खोजी गर्ने परिपाटीको विकास गर्नुपर्छ ।’स्कुलमा बच्चा टिकाउनका लागि दिवा खाजाको व्यवस्था गरिँदैछ । योसँगै स्कुल पोशाकको व्यवस्था गर्नुपर्छ । छात्रवृत्ति, दिवा खाजा, पोशाक, किताब, कापीसमेत दिंदा पनि स्कुल नपठाउने अभिभावकको स्थानीय तहले सेवा रोकेर कडाई गर्न आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्