लायन्स क्लबले नगर अस्पताल दियो अक्सिजन मेसिन



अमृत अर्याल, स्याङजा ।

लायन्स क्लब अफ गल्याङ सिटीले गल्याङ नगर अस्पतालका लागि हाई फ्लो अक्सिजन मेसिन हस्तान्तरण गरेको छ । गल्याङ नगर अस्पतालमा गरिएको एक कार्यक्रमका बीच लायन्स क्लब अफ गल्याङ सिटीले अस्पतालका अध्यक्षसमेत रहनुभएका नगरपालिका प्रमुख भूपराज अधिकारीलाई सो मेसिन हस्तान्तरण गरेको हो ।

मेसिन ग्रहण गर्दै नगरप्रमुख अधिकारीले महवपूर्ण सामान सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘अहिले सबै मिलेर महामारीको सामना गर्नुपरेको अवस्था छ । सबै पक्षबाट यस्तै सहयोगको लागि म अपिल गर्न चाहान्छु ।’नगरप्रमुख अधिकारीले विपन्न परिवारका लागि अस्पतालमा लाग्ने खर्च पूर्णरूपमा मिनाहा गर्ने गरिएको जानकारी पनि दिनुभयो । उहाँले नगरपालिकाकै श्रोतबाट अस्पताल चलाउनुपर्ने अवस्था रहेको भन्दै अक्सिजन र बेड निशुल्क गरिएको र औषधिको शुल्क मात्रै लिने गरिएको स्पष्ट पार्नुभयो ।नगरप्रमुख अधिकारीले भन्नुभयो –‘अस्पतालको समितिले यस बारे निर्णय गरेको छ, वास्तविक विपन्न भएमा नगर अस्पतालमा कुनै शुल्क लाग्दैन । तर, पैसा हुनेहरूले विपन्नलाई बचाउनका लागि पनि यस अवस्थामा औषधिको रकम लिने निर्णय भएको छ ।’ सबै नगरवासीलाई बचाउनु नै अहिलेको मुख्य काम भएको भन्दै उहाँले यस अवस्थामा अरू कुरामा अलमलिनुभन्दा सबै मिलेर महामारीको सामना गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा गल्याङ नगरपालिका– ३ का अध्यक्ष एवम् ‘लायन्स क्लब अफ डिस्ट्रिक अन्तर्राष्ट्रिय ३२५ वि वान’ का एड्भाइजर महेश भट्टराईले नगर अस्पतालमा विपन्नहरूका लागि निःशुल्क गरिएको भन्दै सबैभन्दा महत्वपूर्ण स्वास्थ्य रहेको बताउनुभयो ।

अस्पतालका सदस्य समेत रहनुभएका भट्टराईले महामारीको मिलेर सामना गर्नुपर्ने भन्दै अन्य विषयमा अल्झिन नहुनेमा जोड दिनुभयो ।५ लाख २५ हजार रुपैयाँ मुल्य पर्ने उक्त मेसिन स्याङ्जा जिल्लामा पहिलोपटक गल्याङ भित्रिएको अस्पतालका चिकित्सक निरञ्जन चौधरीले बताउनुभयो । चौधरीले हाल अस्पतालमा उपलब्ध अक्सिजनले ५÷६ लिटर र बढिमा १५ लिटर सम्म फ्लो गर्न सक्ने भएकोमा यो मेसिनले ६० लिटरसम्म अक्सिजन फ्लो गर्न सक्ने जानकारी दिनुभयो ।यो मेसिन अक्सिजनको तह घटेर गम्भीर अवस्थामा रहेका बिरामीका लागि निकै प्रभावकारी हुने उहाँको भनाइ छ । गल्याङ नगरपालिका– ३ का अध्यक्ष एवम् लायन्स क्लब अफ डिस्ट्रिक अन्तर्राष्ट्रिय ३२५ वि वान का एड्भाइजर भट्टराईको पहलमा उक्त मेसिन प्राप्त भएको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्