कोरोना संक्रमितको सहारा बन्दै ककनी गाउँपालिका

मृतक परिवारलाई २५ हजार र संक्रमितलाई ५ हजार रूपैयाँ राहत



नुवाकोट ।

देशव्यापी महामारीको रूप लिइरहेको कोरोना संक्रमण यतिबेला ग्रामीणस्तरमा समेत अनियन्त्रित बन्दै गएपछि नुवाकोटको ककनी गाउँपालिकाले कोरोना नियन्त्रणका लागि विभिन्न योजनाहरू अघि सारेको छ ।

कोरोनाबाट संक्रमित बिरामी भएकाहरूको पहिचान तथा तिनको उपचार गरी समाधान गर्ने तरिका अप्नाएको गाउँपालिकाले प्रत्येक नागरिकको शीघ्र परीक्षण, छिटो उद्धार, उपचारदेखि कोभिडबाट बच्न संक्रमितलाई प्रोत्साहन र मृतक परिवारलाई राहत लगायतका कार्यक्रम शुरू गरेको हो ।जसअनुसार, कोरोनाको संक्रमणबाट आफ्नो गाउँपालिकाभित्रका नागरिकको मृत्यु भएकाहरूको परिवारलाई राहत तथा किरिया खर्चबापत २५ हजार र संक्रमित भएका जुनसुकै बिरामीलाई ५ हजार रूपैयाँ नगद सहयोग दिइने कार्यपालिकाको बैठकबाट निर्णय गरिएको ककनी गाउँपलिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभयो ।

राहत रकमबाहेक संक्रमितको उपचार र अक्सिजनदेखि औषधिको निःशुल्क व्यवस्था गाउँपालिकाले नै गर्दै आएकोले भविष्यमा पनि यसलाई निरन्तरता दिइने निर्णय गरेको छ । ‘संक्रमित भएपछि रोग प्रतिरोधात्मक क्षमता घट्ने र शारिरिक कमजोरी बिरामीमा हुने भएकोले तन्दुरुस्ती बढाउन पौष्टिक आहार आवश्यक हुन्छ’, अध्यक्ष लामाले भन्नुभयो– ‘हाम्रो गाउँपालिका क्षेत्रभित्रका दूरदराजका बस्ती पनि छन् । सबैको आर्थिक अवस्था मजबुत नहुने भएकोले हामीले उपचार र औषधिसँगै दिने आर्थिक सहयोग उनीहरूका लागि प्रोत्साहनस्वरूपको यो राहत कोरोना संक्रमणलाई जित्ने थप आधार बन्न सक्छ ।’यसका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दिइनेछ भने अपुग भएमा आन्तरिक श्रोत परिचालन गरिने गाउँपालिकाको तयारी छ ।संक्रमण लुकाउने तर, परीक्षण गर्न नमान्नेयसका साथै गाउँघरमा कोही संक्रमित भइहालेमा छरछिमेकी र आफन्तबाटै पनि सामाजिक तिरस्कारको शिकार हुनसक्नेदेखि ‘कोरोनाले मरिहालिन्छ’ जस्ता हतोत्साही व्यवहार भोग्नुपर्ने डर त्रासले पनि धेरैजसोले परीक्षण नै गर्न नमान्ने समस्या आइपरेका कारण गाउँपालिकाले यसको समाधानको उपाय खोजी गरेको थियो ।

यसपश्चात् कार्यपालिकाको बैठकबाट राहत रकम सहयोग कार्यक्रम सञ्चालन थाल्ने निर्णयले गाउँपलिकाका बासिन्दालाई कोभिड–१९ भाइरसको परीक्षणको दायरामा ल्याउन मद्दत पुग्ने ककनीका सबै जनप्रतिनिधिहरूको विश्वास छ ।‘कोभिडको परीक्षणपछि संक्रमित पहिचान भएका बिरामीलाई राहत पुगोस् भन्ने हाम्रो भावना त छँदैछ, सँगसँगै गाउँपालिकाको कोभिड परीक्षण अभियानमा सबैको उत्साहजनक सहभागिता होस् भन्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो’, ककनी गाउँपालिका अध्यक्ष लामाले प्रष्ट पार्नुभयो ।कोरोना महामारीको रोकथामका लागि लागू भएको निषेधाज्ञासँगै व्यापक रूपमा परीक्षण र त्यसपश्चात् पहिचान भएका संक्रमितको उपचार नै पहिलो प्राथमिकता रहनुपर्ने कार्यमा गाउँपालिकाले जोड दिएको योजना राख्दै लामाले कोरोना नियन्त्रणको चुनौतीसँगै समाधानबारे सुनाउनुभयो– ‘गाउँघरमा संक्रमित भएकाहरूले पनि संक्रमण लुकाएर बस्ने र परीक्षण नै गर्न नमान्ने समस्या आइप¥यो । यही नै हाम्रो मुख्य चुनौती देखिएकोले संक्रमितलाई राहत दिने व्यवस्था ग-यौं ।यसबाहेक गाउँपालिकासँग संक्रमितको उपचार गर्न पर्याप्त आइसोेलेसन, अक्सिजन, औषधि, एम्बुलेन्सदेखि प्रयाप्त जनशक्ति तयारी अवस्थामा रहेकोले बढीमा असार महिनाभित्र ककनीमा कोरोनाको संक्रमणलाई निर्मूल पार्ने उहाँको दाबी छ ।

संक्रमित बिरामीको उपचार तथा सेवामा हरेक आइसोलेसन सेन्टरमा पुगेर अध्यक्ष लामा आफैं खटिएका हुन्छन् भने उनीहरूको खानपान, हेरचाह र उपचारमा आफैं उपस्थित भई बिरामी जनताको सहारा बनिरहेको पाइन्छ । अहिलेको संकटकालीन अवस्थामा गाउँपालिकावासी नागरिकको जीवन बचाउन लागिपरिरहेकोमा चिन्ता व्यक्त गर्दै भन्छन्– ‘जनतालाई नै बचाउन सकिएन भने कसका लागि विकास गर्ने ?’गाउँपालिकाले ल्याएको योजनालाई कार्यान्वयनमा ल्याउनुका साथै अझ तीव्ररूपमा कर्मचारी, स्वास्थ्यकर्मीलगायत सम्पूर्ण जनप्रतिनिधिहरू वडादेखि टोल–टोलमा विगत एक महिनादेखि खटिएकोमा थप शसक्त भएर लागिपर्ने उपाध्यक्ष सीता खतिवडा लामाले बताउनुभयो ।

तयारी अवस्थामा श्रोत, साधन र जनशक्ति

राजधानी काठमाडौंसँगै जोडिएको ककनी गाउँ गाउँपालिका कोरोना संक्रमणबाट अति नै संवेदनशील र उच्च जोखिममा छ । हालसम्म ३ सय ३७ सक्रिय संक्रमित पुगिसकेको यहाँ तीन जनाले ज्यान गुमाइसकेका छन् ।बढ्दो संक्रमण नियन्त्रणका लागि पर्याप्त मात्रामा तयारी अवस्थामा राखिएको औषधिदेखि अक्सिजनसम्म निःशुल्क उपलब्ध गराइरहेको छ भने सबै गाउँपालिकावासीको कोभिड परीक्षणका लागि तत्कालै ४ हजार एन्टिजेन किट खरिद गरी काम अघि बढाएको छ ।गाउँपालिका केन्द्र रानीपौवास्थित स्वास्थ्य केन्द्र र ओखरपौवा, चाउथेलगायत अन्य विभिन्न वडामा गरी करिब ४० वटा संख्यामा आइसोलेसन बेड तयारी अवस्थामा राखेको गाउँपालिकाले जानकारी दिएको छ ।

विगतदेखि नै जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीसहितको ८ देखि १० जनासम्मको २४सै घण्टा गाउँपालिकाभर नियमित खटिएका छन् । केही व्यक्ति बिरामी हुनासाथ परीक्षण गर्न र उद्धार गरी उपचारका लागि अस्पताल वा स्वास्थ्यकेन्द्र ल्याउन गाउँपालिकाको आफ्नै सवारी साधनलाई बिरामी ओसारपसार गर्ने एम्बुलेन्सको रूपमा सञ्चालन गरिएको छ ।कोरोना नियन्त्रणको प्रभावकारी र उपयुक्त उपाय खोजी गरेको ककनी गाउँपालिकाले यसप्रकारको विधि, पद्धति र सक्रियताबाट मात्रै जतिसक्दो छिटो महामारीलाई शून्यमा पु¥याउन सकिनेमा आफूहरू विश्वस्त देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर नेपालको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्