बाँकेका आइसोलेसन सेन्टर खाली हुँदै



बाँके(नेस)।

बाँकेमा कोभिडको दोस्रो महामारी शुरू भएपछि सञ्चालन गरेका २२ वटा अस्पताल-आइसोलेसन सेन्टरमध्येमा नौ वटा खाली भएका छन् ।नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजदेखि कोभिडका लागि स्पेसल वार्ड सञ्चालन गरेका केही अस्पताल र गाउँपालिकाहरूले सञ्चालन गरेको अस्पताल वा आइसोलेसन सेन्टरमा खाली भएका हुन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, नेपालगञ्ज मेडिकल कलेजको ३० वटै बेड खाली भएको छ । कोहलपुर मेडिकल कलेजमा छुट्याइएको सयमध्येमा २७ बेड खाली रहेको छ ।नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको इन्द्रेणी होटल आइसोलेसन केन्द्र खाली भएको छ । वडा नं. ४ को आइसोलेसन सेन्टर, वडा नं. १२ को आइसोलेसन सेन्टर खाली भएका छन् । कोहलपुरको कृषि विकास तालिम केन्द्र, पिपिरीको आइसोलेसन केन्द्र खाली भएको छ । बैजनाथको प्राकृतिक स्वास्थ्य केन्द्र, वनकटवा खाली भएको छ । राप्तीसोनारीको शहीद पार्क भवन र सेल्टर हाउस खाली भएको छ । नरैनापुरको नेराप्रावि मोतिपुर आइसोलेसन केन्द्र खाली भएको छ ।

भेरी अस्पतालमा एक सय २४, कोहलपुर मेडिकल कलेजमा ७३ जनासहित १३ वटा अस्पताल तथा आइसोलेसन केन्द्रमा २ सय ३५ जना बिरामी रहेका छन् । नेपालगञ्ज र कोहलपुरको अस्पतालसहित गाउँपालिकाले सञ्चालन गरेको कोभिड वार्ड एवं आइसोलेसन सेन्टरमा ८ सय ४६ बेड थिए ।शहरका ठूला अस्पतालदेखि गाउँहरूमा सञ्चालन गरिएका कोभिड वार्ड र आइसोलेसन सेन्टर खाली हुँदै जानुले संक्रमण दर घटेको प्रमाणित गरेको छ । कोभिड फोकलपर्सन वलीले अहिले बाँकेमा ३ सय ८६ जना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।नेपालगञ्ज उपमहानगरपालिकामा ७९, कोहलपुर नगरपालिकामा एक सय २८, बैजनाथ गाउँपालिकामा २९, खजुरा गाउँपालिकामा ३०, जानकी गाउँपालिकामा ९, डुडुवा गाउँपालिकामा ६२, राप्तीसोनारी गाउँपालिकामा ४७ र नरैनापुर गाउँपालिकामा २ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

यसैबीच, शनिबार बाँकेमा एक सय पाँच जना संक्रमित थपिएका छन् । तीमध्येमा बाँके जिल्लाका ४३ जना रहेका छन् ।भेरी अस्पतालमा एक सय ७८ जनाको पीसीआर गर्दा ७३ जना, कोहलपुर मेडिकल कलेजमा एक सय २ जनामा १० जना र वागेश्वरी ल्याबमा ५६ जनामा २२ जनालाई कोरोना पुष्टि भएको हो । बाँकेमा ४० महिला र ३९ पुरुष गरी ७९ जना डिस्चार्ज भएका छन् । केही दिनयता बाँकेमा बाहिरी जिल्लाका संक्रमितको मृत्यु बढी देखिएको छ । पछिल्लो चौविस घण्टामा ७ जनाको मृत्यु भएकोमा चार जना बाहिरी जिल्लाका रहेका छन् । यहाँका अस्पतालहरूमा नयाँ थपिएका भन्दा पनि लामो समयदेखि उपचारमा रहेका वा बाहिरी जिल्लाबाट सिकिस्त भईसकेपछि ल्याइएकाहरूको मृत्यु भइरहेको सम्बद्धहरूले बताएका छन् ।
केही दिनयता भारतबाट नेपाल फर्किनेहरूमा संक्रमण देखिएको छैन । भारतका विभिन्न शहरबाट फर्किनेहरूलाई नेपालगञ्ज नाकामा एन्टिजेट परीक्षण हुने गर्दछ । भारतमा महामारी फैलिएपछि र खेतीको सिजन भएकाले यो नाकाबाट नेपाल फर्किने बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्