किन मृत्युपछि मात्र चिनिन्छ ?



कमल भट्ट

हार्दिक श्रद्धाञ्जलि उज्ज्वल, अलबिदा उज्ज्वल, हिजोआजका सामाजिक सञ्जालका मुख्य भनाइ तथा कमेन्टहरु हुन् । यो बाट थाहा हुन्छ कि उज्ज्वल थापा निष्कलंक थिए र उनलाई सबैले मन पराउँथे । धेरैले उनलाई गुमाउँदा नरमाइलो मानेको देखिन्थ्यो तर यो हो भने उनलाई सम्मान दिन हामीले किन उनको मृत्यु कुरेको ? हामी नेपालीको एउटा बानी छ, सुखमा नभए पनि दुःखमा चाहिँ सहानुभूति देखाउने ।

त्यही भएर होला कि ? तर उज्ज्वल थापा एक राजनीतिज्ञ थिए, उनको एउटा राजनीतिक धार थियो, जुन वैकल्पिक थियो । त्यही भएर होला कि ? उनी कहिल्यै पनि लाभको पदमा पुगेका थिएनन् र अपजश पाउने ठाउँमा पुगेका पनि थिएनन् । त्यो भएर पो हो कि ?तर हामी नेपाली मतदाताको एउटा विचित्रको चरित्र छ । रुखले शीतल दिन्छ, रुखको घाँसले वस्तुभाउलाई खान दिन्छ, रुख नभई त जीवन चल्दैन, म त रुखलाई भोट दिन्छु भन्ने । त्यस्तै सूर्य त भगवान् हुन्, अर्घ चढाउनुपर्छ, हामीलाई जाडोमा न्यानो दिन्छ, म त भगवान्लाइ भोट दिन्छु भन्ने । अनि अर्को हँसिया–हथौडा त हामी क्रान्तिकारी कम्युनिस्टहरुको प्रतिक हो भनी कुल देवताजस्तो मान्ने । कोही छाताले ओत दिन्छ, हातले के दिन्छ भन्ने । अरु केले के दिन्छ रे ! यस्तै–यस्तै गरी मुख्य त ३/४ थरीका भोटरहरु पाइन्छन् अरु कुनै चुनाव चिह्न (खासै नचिनेको) मा भोट हाल्ने जमात खासै छैन । त्यसको एउटा उदाहरण गत चुनावमा स्व. उज्ज्वल थापाको तराजुले रुख र घामभन्दा धेरै कम मत ल्यायो ।

यदि उज्ज्वल थापा र उनको सोचलाई भोट दिएको भए त घामवाला र रुखवालाको भन्दा राम्रो थिएन र ? कतिपयलाई त्यो थाहा नै छैन कि उज्ज्वल र अरुको राजनीतिक मुद्दाको फरकबारेमा । र, कतिपयलाई थाहा छैन कि त्यो रुखको आवरणमा आलमहरु, सूर्यको आवरणमा भष्मासुरहरु, हँसिया–हथौडा, छाता, हात आदिको आवरणमा हसुरे हुँडारहरु आउँछन् । केही गर्छु भन्ने उज्ज्वलहरु ठूला–ठूला चिह्नको छायामा परेर किनारामा बसी माथि उल्लिखितहरुले गरेको ब्रह्मलुट हेर्दै–हेर्दै चाहिएको बेलामा उपचारसमेत नपाएर मृत्युवरण गर्न पुग्छन् ।मलाई लाग्छ, नेपालमा अरु उज्ज्वलहरु नचिनिएर, उपेक्षित भएर वा नाम चलेका चिह्न लिन नचाहेको कारणले देशमा केही गर्न पाएका छैनन् । रुख, सूर्य, हँसिया–हथौडा, छाता, हात, तराजु आदिभित्र पनि स्वच्छ छवि भएका, काम गर्न सक्ने (भाषण नगर्ने), परिवर्तन गर्न सक्ने र देशको मुहार फेर्न सक्ने सोचाइ भएका उज्ज्वलहरु पक्का छन् ।

माफ गर्नुहोला नेपालवासी मित्रहरु ! मलाई नेपालको बारेमा सोच्न मन भए नेपाल आउन नभनिदिनुहोला । मातृभूमिको पीर र दुःखमा दुख्दो रहेछ । न अब उज्ज्वललाई भोट दिएर जिताउन सकिन्छ, न उनले सोचेजस्तो नेपाल निर्माण गर्न सक्छन् । मृत्यु भएका उज्ज्वलको सम्मान गर्नु छ भने जिउँदा उज्ज्वलहरुलाई चिन्नुस्, जिउँदो हुँदै मौका दिनुस् । राजनीति धर्म होइन, कुलदेवता होइन । चिह्नलाई होइन, मुद्दालाई भोट दिनुस् । अल बिदा उज्ज्वल, हार्दिक श्रद्धाञ्जलि !

प्रतिक्रिया दिनुहोस्