कोरोना कालमै स्वास्थ्य मन्त्रालय सबैभन्दा अस्थिर



भगवती तिमल्सिना,काठमाडौं  । 

कोरोना संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको भूमिका सर्वाधिक खाँचो परिरहेको बेलामा यो मन्त्रालयलाई अस्थिरताले गाँजेको छ । डेढ वर्षको अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन जना मन्त्री फेरिएका छन् ।

कोरोना महामारीको पहिलो चरणमा भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । उहाँको पालामा स्वास्थ्य उपकरण, औषधिलगायतका सामग्री खरिद प्रक्रियामा घोटाला भएको मुद्दा चर्किएपछि छानविन समिति गठन गर्ने, स्वास्थ्य सामग्री आपूर्ति गर्ने कम्पनीलाई कालो सूचीमा राख्ने काम भयो । स्वास्थ्य उपकरणलगायतका सामग्री खरिद प्रक्रियामा घोटाला भएको विषय अदालतसम्म पुग्यो । त्यसपछि, स्वास्थ्य मन्त्रालयमा ढकाललाई हटाएर हृदयेश त्रिपाठीलाई ल्याइयो । उहाँकै कार्यकालमा नेपाल दक्षिण एसियामा नै कोरोना खोप लगाउने दोस्रो मुलुकका रूपमा चिनियो । छिमेकी मुलुक भारत र चीनबाट खोप ल्याउनुका साथै रूसलगायतका मुलुकको सहयोग र सद्भाव प्राप्त गर्ने अवसर पाउनुभएका मन्त्री त्रिपाठी शुक्रबार मन्त्रालयबाट बिदा हुनुभएको छ । मन्त्री त्रिपाठी खोप खरिदमा बिचौलियाको प्रवेश, समन्वयात्मक भूमिकामा कम

जोर र कोरोना संक्रमणको औषधि उपकरण सहयोग लिने नाममा दर्ता नै नभएका पतञ्जलीका सामग्री बुझेर लिएको जस्ता विषयमा विवादित बन्नुभयो ।
उहाँको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर तामाङलाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ३ वर्षको अवधिमा सबैभन्दा बढी चलखेल गरेको मन्त्रालयका रूपमा स्वास्थ्य मन्त्रालय पर्न गएको छ । त्रिपाठीले मन्त्रालय सम्हाल्नुभएको ६ महिना पनि पुगेको छैन । स्वास्थ्य मन्त्रालय सम्हाले लगत्तै मन्त्री त्रिपाठीले प्रधानमन्त्री ओलीकै निर्देशनमा कोरोना विरुद्धको खोप भारतको सेरम इन्स्टिच्यूटबाट पहिलोपटक १० लाख डोज निःशुल्क र दोस्रो चरणमा २० लाख डोज खरिद गर्ने निर्णय गर्नुभएको थियो । खोप खरिद गरी १० लाख डोज खोप नेपाल भित्रिएसँगै प्रधानमन्त्री ओली र मन्त्री त्रिपाठीबीच असमझदारी शुरू भएको हल्ला चलेको थियो ।

मन्त्री त्रिपाठी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितको कूटनैतिक पहलमा २०७७ माघ ८ गते भारतबाट कोभिसिल्ड खोप भित्रिएको थियो । उक्त खोप पहिलो चरणमा माघ १४ गतेदेखि फागुन दोस्रो सातासम्ममा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, यूएन एजेन्सी, पत्रकार र ६५ वर्ष माथिका नागरिकले लगाए । सांसद, नेता र स्थानीय जनप्रतिनिधीहरूले पनि उक्त खोप लगाउने अवसर पाएका थिए । यसैबीच, खरिद गरिसकेको १० लाख डोज खोप नेपाल ल्याउन नसक्दा ९ लाख जेष्ठ नागरिक कोभिसिल्डको दोस्रो डोज खोप लगाउनबाटै वञ्चित भएका छन् ।

मन्त्री मात्र नभई स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयमा ओली प्रधानमन्त्री बनेयता सचिव पनि सात जना फेरिएका छन् । यतिमात्र नभई स्वास्थ्य मन्त्रालयमा चिकित्सकबाट नै स्वास्थ्य सचिव बन्दै आएकोमा दुई वर्षअघि मन्त्री परिषद्को निर्णयअनुसार प्रशासनतर्फका कर्मचारीलाई पनि स्वास्थ्य मन्त्रालयको सचिवको रूपमा दरबन्दी थप गरियो । यो निर्णयपछि फेरिएका छ जना सचिवले स्वास्थ्य मन्त्रालयमा एक महिनादेखि तीन महिना, ६ महिना मात्र जिम्मेवारी वहन गर्न पाए । पछिल्लो समय भने एक वर्षदेखि लक्ष्मण अर्यालले स्वास्थ्य मन्त्रालयको सचिव पद सम्हाल्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्