परिवार नियोजनका लागि अस्थायी साधनको अभाव



विनोदसिंह विष्ट, बैतडी ।

बैतडीमा परिवार नियोजनका अस्थायी साधनको अभाव भएको छ । जिल्लाभरिका स्वास्थ्य संस्थामा महिलाहरूले प्रयोग गर्ने अस्थायी साधन तीनमहिने सुई डिपोको अभाव भएको हो ।महिलाहरूले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपोको आपूर्ति बन्द भएकोले जिल्लाका सबै स्वास्थ्य संस्थामा डिपो सुईको अभाव देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

देशभरिका विभिन्न जिल्लामा अभाव खेपेको परिवार नियोजनको अस्थायी साधन डिपोको अभाव बैतडीमा पनि भएको छ । उहाँले भन्नुभयो– ‘डिपोको माथिबाट नै आपूर्ति बन्द हुँदा स्थानीयस्तरमा पनि अभाव देखिएको छ, देशभरिकै अभाव हो, यसको असर हाम्रो जिल्लामा पनि हो तीन महिनाका लागि काम गर्ने डिपो सुईको जिल्लाभरि अभाव भएपछि सेवाग्राहीहरू समस्यामा परेका छन् । गएको तीन महिनादेखि डिपो सुईको अभाव भएसँगै अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्दै जाने बताइएको छ ।बैतडीका कुनै पनि स्वास्थ्य संस्थामा अहिले डिपो नभएकोले नियमित सेवा लिँदै आएका महिलाहरूलाई समस्या भएको हो । अहिले देशभरि नै डिपो अभाव हुँदा परिवार नियोजनका अन्य साधन अपनाउनुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयबाट आपूर्ति हुँदै आएको डिपो नआएका कारण बैतडीका ६८ वटा स्वास्थ्य संस्थामा अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन शाखा प्रमुख हरिश भट्टले बताउनुभयो ।

अनिच्छित गर्भ रोक्ने सुई लगाउँदै आएका हजारौं महिलालाई समस्या भएको गुनासो आइरहेको छ । डिपो सुई प्रयोगकर्ताहरूलाई परिवार नियोजनका अन्य अस्थायी साधन प्रयोग गर्न सुझाब दिने गरिएको छ उहाँले भन्नुभयो– ‘कोरोनाका कारण जारी बन्दाबन्दीमा अनिच्छित गर्भ रहन नदिनका लागि परिवार नियोजनाका अस्थायी साधन कण्डम प्रयोग गर्न सल्लाह दिन थालेका छौं ।तीनमहिने सुई लगाउँदै आएका महिलाले विकल्पका रूपमा नयाँ सेवा लिन आग्रह गरिएको भए पनि बन्दाबन्दीका कारण तोकिएको स्वास्थ्य संस्थामा महिलाहरूलाई आवत जावत गर्न समस्या भएको महिलाहरूले बताएका छन् ।यसका साथै स्वास्थ्य कार्यालय बैतडीले परिवार नियोजनका स्थायी साधन तीनमहिने डिपो सुईको सट्टा पाँचवर्षे इम्पलान्ट, १२ वर्षे आइयूसीडी लगायतका अस्थायी साधन प्रयोग गर्न आग्रह गरेको छ ।स्वास्थ्य कार्यालय बैतडीको तथ्यांकअनुसार बैतडीमा तीनमहिने सुई प्रयोग गर्ने महिलाहरूको संख्या अत्याधिक रहेको छ । तीन महिने सुई ९डिपो० प्रयोग गर्ने १५ हजार ७ सय ९७, इम्लान्ट प्रयोग गर्ने एकहजार ४ सय २६ र आइयूसीडी प्रयोग गर्ने दुई सय ९७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्