किसानको पिडामा स्थानीय सरकार



अमृत अर्याल , स्याङ्जा ।

जिल्लाको गल्याङ नगरपालिका–११ जिमुहाँका किसान व्यावसायिक रुपमा मौसमी एवं बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्ने योजना अनुसार तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाटै आफ्नो दैनिकी चलाउने योजनाका साथ यो पेशामा लागेका किसानलाई भने यतिबेला कोरोना संक्रमणका कारण लम्बिदै गएको निषेधाज्ञाले चिन्तित बनाएको छ । स्थानीय सरकार पनि किसानको पिडालाई सकेसम्म हल गर्ने अभियानमा लागेका छन् । कोरोना संक्रमणका कारण अस्पतालमा श्रीमतीको मृत्यु भएपछि काजकिरियामा रहेका किसान चन्द्रकान्त डुम्रे आफूले दुःख गरी लगाएको तरकारी बारीमै कुहिएर जाने अवस्था आएको बताउनुहुन्छ ।

गल्याङ्ग नगरपालिकाले डुम्रेको तरकारीबारीमा फलेका तरकारी नगरपालिकाकै सवारी साधनमा बारीमै पुगेर संकलन गरी बजारमा बिक्री वितरण गरिदिएपछि केही राहतको महशुस भएको छ । परिवारमा मृत्युको पिडा भोगिरहेको डुम्रे परिवारको लागि गल्याङ नगरपालिकाले खेतबारीमै कुहिएर जाने अवस्थामा रहेको तरकारी बजारमा लैजाने व्यवस्था मिलाएपछि केही राहत मिलेको छ ।नगरपालिकाको सवारीसाधन सहितको टोलीले डुम्रेको तरकारीबारीमा उत्पादन भएका गोलभेडा, घिरौला, सिमी, करेला, लौका लगायतका विभिन्न तरकारी गरी करिब ४ सय किलो तरकारी बजारमा विक्रिवितरण गरेको छ । डुम्रेको परिवारमा श्रीमतीको निधन संगै आएको समस्या समाधानका लागि यस क्षेत्रका अगुुवा कृषक अर्जुन भुजेलको पहलमा गल्याङ नगरपालिकाले समस्या समाधानको लागि तत्कालै खेतमा पुगेर उत्पादित तरकारी बिक्रीको व्यवस्था मिलाएको हो । किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएर जाने अवस्था आएपछि तुलसी भञ्ज्याङ सानाकिसान कृषि सहकारीका अध्यक्ष दलबहादुर सिंजालीले गल्याङ नगरपालिकासँग समन्वय गरेर नगरपालिकाको जीप प्रयोग गरी उत्पादित तरकारीलाई बजार पु-याउने काम गरिएको बताउनुभयो ।

गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरपालिका किसानको साथमा रहेकोले किसानले उत्पादन गरेका वस्तु खेर जान नदिने बताउनुभयो । नगरपालिकाले किसानलाई परेको यो दुःखको समयमा गरेको सहयोगले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका किसान चन्द्रकान्त डुम्रेलाई राहत मिलेको भन्दै दुःखको बेला स्थानीय सरकारले देखाएको सक्रियता निकै प्रशंसनीय रहेको स्थानीय कृषकहरुको भनाई छ ।लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएका कृषक डुम्रेले करिव १० रोपनी जमीनमा तरकारी खेती गररे वार्षिक ४ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको बताउनुभयो । दुःखमा परेको बेला नगरपालिका लगायत स्थानीय बासिन्दाले गरेको सहयोगले आफुमा कामको लागि थप आत्मबल बढेको समेत डुम्रेले बताउनुभयो । यहाँका किसान आलुखेती, कुुखुुरापालन, गाईभैंसीपालन लगायतका नगदे कृषिबाली र कृषिजन्य उत्पादनमा सक्रिय हुुदै आएका छन् । किसानहरुले तरकारी खेतीका साथै धान, मकै र गहुुँको बिउको उत्पादनका लागि समेत पकेट क्षेत्र बनाएर उत्पादनमा लागेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्