कोभिड संक्रमित पहिचान गर्न गाउँ-गाउँमा जनप्रतिनिधि



दिलकुमार लिम्बू, ताप्लेजुङ ।

कोभिड-१९ संक्रमण बढ्दै गएपछि ताप्लेजुङको स्थानीय जनप्रतिनिधि र स्वास्थ्य टोलीसहित गाउँ—गाउँमा संक्रमितको पहिचान गर्न पुग्न थालेका छन् । संक्रमण नियन्त्रणका लागि गाउँ-गाउँमा कोभिड पहिचान गर्न थालिएको हो ।

कोभिड-१९ संक्रमण गाउँ-गाउँमा बढ्दै गएपछि स्थानीय जनप्रतिनिधि नियन्त्रणका लागि सक्रियरूपमा लागेका छन् । फुङ्लिङ नगरपालिकाभित्रका विभिन्न गाउँ–गाउँमा जनप्रतिनिधि र स्वास्थ्य टोली पुगेर कोभिडसँग मिल्दो जुल्दो लक्षण भएकाहरूलाई परीक्षण गर्न थालेको छ । मेयर छत्रपति प्याकुरेल र उपमेयर बमबहादुर भट्टराई (तारा) र नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख मुञ्जु गुरुङ जिल्ला अस्पताका स्वास्थ्य प्राविधिकहरू फुङ्लिङ नगरपालिका—११ फावाखोला गाउँमा पुगेर ६९ जनाको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । एन्टिजेन किटद्वारा कोभिड परीक्षण गरिएकोमा ६ जनाको कोभिड संक्रमित पुष्टि भएको फुङ्लिङ नगरपालिकाका उपमेयर भट्टराईले बताउनुभयो ।

फुङ्लिङ नगरपालिका—१० फुरुम्बो गाउँमा कोभिडसँग मिल्दोजुल्दो लक्षण भएकाहरूका परीक्षण गर्न पुग्नुभएको थियो । फुङ्लिङ नगरपालिका बजारभित्रका नागरिकहरूलाई परीक्षण गर्ने भट्टराईले बताउनुभयो । यसअघि, क्याम्पस लाइन, बालमन्दिर क्षेत्र, तोक्मे क्षेत्रमा कोभिड परीक्षण भइसकेको छ ।सिरिजंघा गाउँपालिकामा संक्रमितको घर—घरमा गएर आवश्यक स्वास्थ्य सामाग्री र भिटामिन उपलब्ध गराउँदै आएको सिरिजंघा गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाभित्रका कोभिड संक्रमित बिरामीलाई उपचारका लागि नेपालको जनसुकै अस्पतालसम्म एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय समेत गाउँपालिकाले गरेको पालिकाले जनाएको छ ।सिदिङवा गाउँपालिकाले कोभिड कन्ट्रोल रुम स्थापना गरेर कोभिड नियन्त्रणको पहल गरिरहेको सिदिङवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन लिङदेनले बताउनुभयो ।

प्रत्येक वडामा कोभिड लक्षण देखा पर्न थालेलगत्तै कोभिड कन्ट्रोल रुममा खबर हुने र निन्त्रणका लागि पहल हुने लिङदेनले बताउनुभयो । पालिकामा पाँच शय्या कोभिड अस्थायी अस्पताल पनि सञ्चालनमा रहेको सिदिङवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्येन्द्रप्रसाद यादवले बताउनुभयो ।पाथीभरा–याङवरक गाउँपालिकाका जनप्रनिधि संक्रमण फैलिन नदिनका लागि एक गाउँदेखि अर्को गाउँ जान निषेधाज्ञा लागू गरेको पाथिभरा–याङवर गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिले पनि गाउँ—गाउँमा गएर कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाको पहिचान गरेर परीक्षण गराउँदै आएको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले बताउनुभयो । गाउँपालिका आफ्नो एम्बुलेन्समार्फत कोभिड संक्रमित बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवासमेत दिँदै आएको सिटौलाले बताउनुभयो ।ताप्लेजुङमा गत वैशाख ११ गतेदेखि निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासनले २४ जेठसम्म निषेधाज्ञा लागू गरेको छ । ताप्लेजुङको नौ स्थानीय तहले अत्यावश्यक सेवाबाहेक अरू सबै सेवा स्थगित गरेर कोभिड नियन्त्रणमा लागेका छन् ।

ताप्लेजुङमा मंगलबारसम्म एक हजार ९ सय ४९ पिसीआर परीक्षण भएको छ । जसमा ६८ जनाको परीक्षणको रिपोट आउन बाँकि रहेको जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।पीसीआर परीक्षणबाट ४ सय ९६ मा कोभिड पुष्टि भएको ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताउनुभयो । एन्टिजेन किटमार्फत ९ सय २४ परीक्षण भएकामध्ये १ सय ८९ जनाको कोभिड पुष्टि भएको खरेलले बताउनुभयो ।दोस्रो लहरमा ताप्लेजुङमा ६ सय ९४ जना कोभिड संक्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालको तथ्यांकमा छ । मंगलबारसम्ममा ४ सय ८७ जना संक्रिय संक्रमित रहेका छन् । यही अवधिमा १० जना कोभिड संक्रमणबाट मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्