इथानोलबिनाको गुणस्तरहीन सेनिटाइजर धमाधम उत्पादन



हरिहर नेपाल, विराटनगर

सरोकारवाला निकायले उद्योगहरूको अनुगमन नगर्दा गुणस्तरहीन सेनिटाइजर उत्पादन गरी तोकिएभन्दा अत्यधिक मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ । अनुगमनका क्रममा मोरङको बूढीगंगास्थित एक उद्योगले एकदमै न्यून गुणस्तरको सेनिटाइजर उत्पादन गरेर बढी मूल्यमा बिक्री गर्ने गरेको भेटिएको छ ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित कास्यव ऋषि आर्युवेद कम्पनी प्रालिले गुणस्तहीन सेनिटाइजर उत्पादन गर्ने गरेको पाइएको छ ।

सेनिटाइजरमा इथानोल आरएस स्प्रिट प्रयोग नगरी उत्पादन गरेको ‘कास्यव ऋषि हेण्ड सेनिटाइजर’ गुणस्तरहिन रहेको तथ्य बाहिरिएको छ । भाइरसलाई नष्ट गर्ने क्षमताको सेनिटाइजर उत्पादन गर्न इथानोल आर.एस.स्प्रिट महत्वपूर्ण हुन्छ । तर, कम्पनीले इथानोलको साटो मिथानोल प्रयोग गर्ने गरेको पाइएको छ । इथानोल खरिद गर्न आन्तरिक राजस्व कार्यालयको अनिवार्य सिफारिस चाहिन्छ । कम्पनीले हालसम्म आन्तरिक राजस्व कार्यालयबाट इथानोल आर.एस. स्प्रिट खरिद गर्नका लागि कुनै पनि सिफारीस नलिएको विभागका प्रमुख कर अधिकृत विमल सापकोटाले बताउनुभयो ।कोरोनाको कहरका कारण अनुगमन नहुँदा उद्योगहरूले गुणस्तरहीन सेनिटाइजर उत्पादन गरिरहेको उहाँको भनाइ छ । औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले कम्पनीले उत्पादन गरेको ‘कास्यव ऋषि हेन्ड सेनिटाइजर’ नमूना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गर्न पठाएको जानकारी दिनुभयो ।

ल्याब परीक्षणबाट गुणस्तरहीन प्रमाणित भए विभागले थप कारवाहीको प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो । स्प्रेसहितको १ हजार एमएल सेनिटाइजरको मूल्य ७ सय १० देखि १५ रुपैयाँ हुन आउँछ । तर, कास्यव ऋषि सेनिटाइजरमा विभागले तोकेको भन्दा १ सय १० देखि १ सय १५ रूपैयाँ बढी प्रतिलिटर एक हजार एमएलको सेनिटाइजर ८ सय २५ रूपैयाँ मूल्य कायम गरी बजार पठाउने गरेको छ । कास्यव ऋषि हेन्ड सेनिटाइजमा लेबल पनि पुरानो लगाउने गरेको पाइएको छ । उद्योगका सञ्चालक सन्तोष साहले दर्ता प्रक्रियाका लागि विभागमा निवेदन दिइसकेको बताउनुभयो । विभागले तोकेभन्दा बढी मूल्य कायम गरी सेनिटाइजर बजार पठाउँदा पनि नियमकारी निकाय बेखबर छ ।

प्रतिक्रिया दिनुहोस्