मदन भण्डारी फाउन्डेसनको ५० लाख फिर्ता



हेटौंडा, (नेस)

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने निर्णय फिर्ता लिइएको जानकारी दिनुभएको छ । बजेट अधिवेशनको दोस्रो बैठकमा सोमबार सदनलाई मुख्यमन्त्रीले यसबारे जानकारी गराउनुभएको हो ।

यसको प्रमुख प्रतिपक्ष दल माओवादीका नेता शालिकराम जम्कट्टेलले स्वागतयोग्य भएको बताउनुभएको छ । प्रतिपक्षले सरकारको गलत कामलाई ठीक मार्गमा ल्याउन सफल भएको जम्कट्टेलले बताउनुभयो । फाउन्डेसनलाई ५० लाख दिने निर्णय फिर्ता लिन माग गर्दै माओवादी, कांग्रेस, विवेकशील र नेमकिपाले मोर्चाबन्दी गरेर संसद् अवरुद्ध गरेका थिए ।प्रदेश सरकारले कार्यविधिबिना मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिएको भन्दै विरोध भएको थियो । नागरिकको स्वास्थ्यस्तर सुधार ल्याउन ऋण माग्नुपर्ने स्थितिमा कार्यकर्ता पोस्न फाउन्डेसनमा ५० लाख दिएको भन्दै प्रदेशसभाको अघिल्लो बैठकमा आलोचना भएपछि सत्ता पक्ष र प्रतिपक्षका नेताबीच बैठकमा केही समय विवाद सिर्जना भएको थियो ।

सत्तारूढ नेकपाभित्र विवाद बढेर समर्थन र विरोधमा देशभर विभिन्न कार्यक्रम भइरहेका बेला वागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले पार्टीनिकट फाउन्डेसनका नाममा नगद ५० लाख उपलब्ध गराउने निर्णय गरेको थियो ।मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयमार्फत मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपिया“ दिने निर्णय गरेको थियो । फाउन्डेसन संस्थापक अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारी र केन्द्रीय अध्यक्षमा भण्डारीकी छोरी उषाकिरण रहेको बताइएको छ । फाउन्डेसन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृतिमा खोलिएको संस्था हो ।

विविध सामाजिक काममा खर्च गर्ने गरी फाउन्डेसनलाई रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । अन्य सामाजिक संघसंस्थालाई पनि नगद सहयोग उपलब्ध गराइएको उहाँको दाबी छ ।पार्टीनिकट फाउन्डेसन भएका कारण मात्र नभएर सामाजिक क्षेत्रमा क्रियाशील संस्था भएका कारण सहयोग गरिएको एक मन्त्रीले बताए । उत्पादनमूलक र सामाजिक क्षेत्रमा गरिने कार्यक्रम पेस भए अन्य संघसंस्थालाई पनि सहयोग उपलब्ध गराउन सकिने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्