अक्षेश्वरको आइसोलेसनमा संक्रमितको बास



नेपाल समाचारपत्र, ललितपुर

ललितपुर पुल्चोकस्थित अक्षेश्वर महाविहारमा आइसलेसन कक्ष सञ्चालनमा ल्याइएको छ ।ललितपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको सहयोग, अक्षेश्वर महाविहार संरक्षण समिति, आरम्भ फाउन्डेसनको सहकार्यमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको हो ।
बेलैमा आइसोलेसन कक्ष नपाएर कोरोना संक्रमित र तिनका परिवारले अनेक दुःख, कष्ट भोग्नुपरिरहेको स्थितिलाई मध्यनजर गरी आइसोलेसन कक्ष सञ्चालन ल्याइएको संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले बताउनुभयो ।

पुल्चोकको अग्लो भागमा अवस्थित सो महाविहारको दक्षिणतर्फको भवनलाई आइसोलेसन कक्षको रूपमा परिणत गरिएको हो । तीन तल्ले सो भवनमा ३० वटा बेडहरू राखिएको छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको छ । आवश्यकताअनुसार थप बेडहरू पनि राखिने संघका वरिष्ठ उपाध्यक्ष एवं व्यवस्थापन समितिका संयोजक विश्वराज बज्राचार्यले जानकारी दिनुभयो ।घरमा कोठा, र अलग शौचालयको अभावले होम आइसोलेसनमा बस्न नसकेका वा पुरै परिवार संक्रमित भएका र स्वास्थ्य अवस्था सामान्य भएकालाई लक्षित गरी सो आइसोलेसन सञ्चालनमा ल्याइएको हो । आइसोलेसनमा बसिरहँदा अकस्मात कुनै बिरामीको स्वास्थ्य स्थिति जटिल बन्दै गएमा तत्काल अस्पताल पु¥याउने व्यवस्था पनि मिलाइएको छ ।

कोरोना संक्रमित मानिसहरू कक्षमा बस्न आइरहेका छन् । वरिष्ठ उपाध्यक्ष बज्राचार्यका अनुसार संक्रमितलाई दैनिक पौष्टिक आहार र निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । आइसोलेसनमा बस्ने प्रत्येक व्यक्तिलाई अलग÷अलग रुमाल, टुथपेस्ट, चप्पल लगायत दैनिक अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । इन्टरनेट र टिभीको सुविधा पनि छ भने हरेक दिन बिहान योगा कक्षा सञ्चालन भइरहेको छ । फाउन्डेसनको सहयोगमा संक्रमितको हेरविचार गर्न दुई जना नर्स २४ घण्टा खटिरहेका छन् भने हरेक दिन एकपटक डाक्टर राउन्डमा आउने गरेका छन् ।

आइसोलेसन कक्षमा प्रदान गरिएको सेवा, वरपरको आध्यात्मिक वातावरणले गर्दा त्यहाँ बस्ने बिरामीले निकै शान्तिको अनुभूति गर्ने गरेको व्यवस्थापन कार्यमा सघाइरहनुभएका संघका कार्यसमिति सदस्य सुजन बज्राचार्यले बताउनुभयो ।ध्यानको अभ्यास, बुद्ध धर्मसम्बन्धी गोष्ठी र प्रवचनका, लागि बनाइएको महाविहारको भौतिक पूर्वाधार महामारीको बेला राम्रो कामका लागि प्रयोगमा आउनुलेविहार सुधारका पदाधिकारीहरू पनि खुसी प्रकट गरेका छन् । ‘महामारीको बेला आइसोलेसन नपाएर मानिसले भोग्नुपरिरहेको कष्ट बयान गरेर साध्यै छैन । यस्तो बेलामा यस कक्षले आइसोलेसनको अभावलाई केही हदसम्म कम गर्ने विश्वास गरेका छौं’ –अध्यक्ष न्याछ्योंले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्