गल्याङ सामुदायिक अस्पतालले कोभिड उपचारको नाममा बढी पैसा अशुल्दै



भूपराज बस्याल,स्याङ्जा  ।

गण्डकी प्रदेशमै कोभिडको दोस्रो भेरिएण्टबाट मृत्यु हुने संख्या उच्च भएको गल्याङ नगरपालिकाले कोभिड बिरामी उपचारको नाममा मनग्ये पैसा लिने गरेको पाइएको छ ।नगरपालिकाको मातहतमा गल्याङ नगरपालिका ३ बल्पुक मा रहेको गल्याङ सामुदायिक अस्पतालले कोभिड उपचारको नाममा ६० हजारसम्म लिने गरेको तथ्य बाहिर आएको छ ।

निजि क्षेत्र बाट संचालन गरिएको उक्त अस्पताल नगरले आफ्नो मातहतमा लिएर नागरिकको सेवा गर्ने बताएपछि नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । उक्त अस्पताललाई नगरपालिकाले हाल कोभिड अस्पतालको रूपमा संचालन गरेको छ । नगरपालिकाको एक मात्रै कोभिड अस्पतालमा पुगेर उपचार गराएका बिरामीले उच्च शुल्क तिर्न परेपछि गुनासो गरेका छन् । आसपासमा स्थानीय तहले कोभिड उपचार निशुल्क गरिरहेका बेला गल्याङ नगरपालिकाको मातहतमा रहेको अस्पतालले रकम लिनु जनताप्रती स्थानीय सरकार जिम्मेवार बन्न नसके स्थानीयको आरोप छ । उक्त अस्पतालमा उपचारकै क्रममा मृत्यु हुनुभएका गल्याङ नगरपालिका ३ तल्लो गल्याङका जगन्नाथ भुसालका आफन्तले दुई रात तीन दिनको १६ हजार रुपैयाँ तिरेको गुनासो गर्नुभएको छ । त्यस्तै उपचार पछि घर फर्किनु भएकी गल्याङ नगरपालिका ११ जिमुवाकि साबित्रा कडेलले ४३ हजार ९ सय २५ तिरेको गुनासो गर्नुभएको छ । त्यस्तै गल्याङ नगरपालिका ११ जिमुवाका राजन अधिकारीले आमाको उपचार गर्दा ३४ हजार तिरेको बताउनुभयो ।

नगरपालिका आसपासकाका स्थानीय तहले एम्बुलेन्स समेत निशुल्क उपलब्ध गराइरहेको बेला गल्याङ नगरपालिकाले कोभिड बिरामीको उपचारका नाममा यत्रो रकम लिन नहुने तर्क छ उधोग बाणिज्य महासंघ गल्याङका अध्यक्ष यज्ञ अर्यालको । “विभिन्न संघ सस्थाले सहयोग गरेको सुनिएकै छ । श्रोत अभाव भए अझै जुटाउन तिर लागौ यस्तो बिषम परिस्थितिमा ब्यापार नगरौ ।” अर्यालको भनाइ छ । गल्याङ नगरपालिकासंग सिमाना जोडिएको वालिङ् नगरपालिकाले कोभिड बिरामीको उपचार मात्रै नभएर एम्बुलेन्स समेत निशुल्क उपलब्ध गराउदै आएको छ । नेपाल समाचारसंग कुराकानी गर्दै वालिङ् नगरपालिका प्रमुख दिलिप प्रताप खाडले बिरामी कुरुवालाई समेत ४ टाइम निशुल्क खाना खुवाउने गरेको बताउनुभयो ।

उहाँ भन्नुभयो “बिरामी अस्पताल आए देखि निको भएर घर जाने समयसम्म एक रुपैयाँ पनि खर्च हुदैन सम्पुर्ण खर्च नगरपालिकाले बेहोर्ने गरेको छ ।” त्यस्तै गल्याङ नगरपालिकासंग अर्को सिमाना जोडिएको कालीगण्डकी गाउँपालिकाले पनि कोभिडको सबै उपचार निशुल्क गर्दै आएको छ । नेपाल समाचार पत्रसंग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष खिम थापाले कोभिड बिरामीको सम्पुर्ण उपचार खर्च पालिकाले बेहोर्ने गरेको बताउनु भएको छ । “हामिले कोभिड अस्पतालको कुनै शुल्क लिएका छौनौ ।” थापाको भनाइ थियो ।

आसपासका अन्य स्थानीयतहले निशुल्क उपचार गराइरहे पनि गल्याङ नगर अस्पतालले निशुल्क उपचार गर्न नसकेको स्वीकार गर्नु भयो गल्याङ नगर अस्पतालका प्रमुख थानापती न्यौपाने । उहाँले अस्पतालको खर्च धान्न नसकिने हुँदा कोभिड बिरामीबाट पैसा लिने गरेको नेपाल समाचारपत्रसंगको कुराकानीमा बताउनुभयो । जिल्लामा कोभिड बिरामीको उपचारमा पैसा लिएको भन्ने गुनासो अहिलेसम्म नआएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको भनाइ छ । “११ स्थानीयतह भएको जिल्लामा कोभिड उपचारको लागि पैसा लिएको भन्ने यो पहिलो गुनासो हो ।”नेपालको भनाइ थियो । उहाँले यसबारेमा आफुले बुझेर मात्रै अन्य प्रतिक्रिया दिने पनि बताउनु भएको छ । हाल अस्पतालमा कोभिड र नर्मल दुबै सेवा संचालन हुँदै आएको छ । केहिदिन पहिले गल्याङ नगर प्रमुख भूपराज अधिकारले कोभिडबाट मृत्यु हुने परिवारलाई रोजगारी दिने प्रेस वक्तव्य मार्फत नागरिकलाई आस्वास्त पारेपनी रोजगारिको ठिलो आश्वासन दिनुभन्दा कोभिड उपचारमा तिरेको रकम फिर्ता गर्न नागरिकको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्