रोकिएन मृत्युको सिलसिला



बाँके, (नेस)

देशव्यापीरूपमा कोरोनाको महामारी घटिरहेका बेला बाँकेमा अझै दैनिक आधा दर्जन बढीको मृत्यु हुने गरेको छ । पछिल्लो समयमा मृत्यु हुनेहरु बाहिरी जिल्लाबाट बाँकेको अस्पतालमा उपचार गराउन आउने धेरै छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले १३ घण्टाको अवधिमा आठ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । मृतक सात जना बाँकेभन्दा बाहिरी जिल्लाका छन् ।जसमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–८ का ६३ वर्षीया महिला, बर्दिया गेरुवा गाउँपालिका–१ का ६८ वर्षीया महिला, दाङ तुलसीपुर उपमहानगरपालिका–१४ का २४ वर्षीया महिला, बाँके बैजनाथ गाउँपालिका–७ का ७० वर्षीय पुरुष, दाङ तुलसीपुर उपमहानगरपालिका–४ का ४२ वर्षीया महिला, बर्दिया बाँसगढी नगरपालिका–३ का ४२ वर्षीय पुरुष, सल्यान बागचौर नगरपालिका–८ का ६१ वर्षीय पुरुष, बर्दिया बढैयाताल गाउँपालिका–५ का ५८ वर्षीया महिला रहेका छन् ।

बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा २ सय ८२ जनाले ज्यान गुमाएका छन् भने बाँकेवासी २ सय ८९ जनाले मृत्युवरण गरेका छन् । पछिल्लो हप्तादेखि नै बाँकेमा संक्रमितको दर घट्दा मृतकको संख्या पनि घटेको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टर भएकाले बाँकेका दुई ठूला अस्पतालमा अझै मृत्यकको संख्या नघटेको हो । बाहिरी जिल्लाबाट बिरामी गम्भीर भइसकेपछि अस्पतालमा ल्याउने गरेकाले मृत्यु हुनेको गरेको चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्