६० नम्बर पिलरमा सीमा नमिचिएको दाबी



चिरञ्जीवी मास्के, दोलखा ।

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यससम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशन प्रसारण गरेको सरोकारवालाले बताएका छन् ।

युरोपोर्टर अनलाइनको मे १८, २०२१ को संस्करणमा कोलिन स्टेभेन्सले नेपाल–चीन सिमानाको ६० नम्बर पिलर हराएको विषयमा समाचार प्रकाशित गरेका छन् । त्यसअघि, अन्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत सोसम्बन्धी समाचार प्रकाशित गरेका थिए । उल्लेखित अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ६० नम्बर पिलर हराएपछि चीनले १०.५ मिटर अगाडि नेपालपट्टि नयाँ पिलरसहित झन्डा गाडेको समाचार प्रकाशित गरेका छन् ।चीन तिब्बतको टिङ्रीस्थित फलाक र दोलखा लामाबगरको ङयाङलुङ खोला किनारमा रहेको ६० नम्बर सीमा पिलर दुई वर्षको आसपास बाढीले बगाएको कारण हराएको हुन सक्ने स्थानीयको भनाइ छ । २०७४ सालको स्थानीय निर्वाचनसम्म ६० नम्बर पिलर रहेको भए पनि अहिले सो पिलर हराएको स्थानीयले बताए ।

सो पिलर हराएपछि अहिले चीनले करिब १० मिटर वर नेपालपट्टि भीरको एउटा ढुङ्गामा चाइनिज अक्षरले लेखेर ६० नम्बर पिलर स्थापना गरेको छ । पहिले पिलर भएको ठाउँमा लेख्ने कुनै ढुङ्गा नभएकाले केही वर दक्षिणतिर रहेको ढुङ्गामा अस्थायी रुपमा ६० नम्बर पिलर लेखिएको हुन सक्ने स्थानीय बताउँछन् । सीमा भएको ङयाङलुङ खोलाआसपास दुवैपट्टि निकै टाढासम्म पनि बस्ती नभएकाले चीनले नियतवश नेपालको सीमा मिचेर १० मिटर वर नेपालपट्टि ६० नम्बर पिलर बनाएको आशङ्का गर्ने अवस्था नभएको स्थानीयको भनाइ छ ।नेपाल–चीन सीमाको ६० नम्बर पिलर पुग्न नेपालपट्टि बस्ती भएको लामाबगरबाट झन्डै दुई दिन लाग्छ भने उक्त स्थानबाट चीनको फलाक पुग्न ३/४ घण्टा लाग्छ । चीनको तिब्बतमा पर्ने फलाकमा उनीहरूको सीमा कार्यालय र सानो बजार रहेको छ । सवारीसाधनमा फलाकबाट झन्डै ३/४ घण्टाको यात्रापछि मात्र तिब्बतको टिङरी बजार पुग्न सकिने लामाबगरका स्थानीय बताउँछन् । माथिबाट एकधारमा बगेको ङयाङलुङ खोला ६० नम्बर पिलर भएको ठाउँमा आइपुगेपछि दुईधार बनेकाले उक्त पिलर बगाएको र अहिले उक्त ठाउँमा पिलर राख्ने अवस्था नै नभएको स्थानीयको भनाइ छ ।

६० नम्बरको पिलर हराएर विवाद भएपछि जिल्ला प्रशासन कार्यालय दोलखाले सोही ठाउँमा नयाँ पिलर राख्ने विषयमा गृह मन्त्रालयमा जानकारी गराएको र मन्त्रालयले चीन सरकारसँग कुरा गरेपछि सो प्रक्रिया अघि बढ्ने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । तर, चीनले सीमा मिचेर नयाँ पिलर बनाएको कुरा भने सत्य नभएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।सीमा प्रशासन कार्यालय दोलखाको प्रमुख विष्णुकुमारी भुसालले पनि सीमा मिचिएको कुरामा सत्यता नभएको बताउनुभयो । अहिले उक्त ठाउँमा पुग्न मौसमका कारण सम्भावना नहुने भएकाले मौसम अनुकूल हुनासाथ आफूहरू स्थलगतरूपमा पुग्ने र थप कुरा भन्न सकिने प्रमुख भुसालले बताउनुभयो ।दोलखा जिल्लामा नेपाल–चीन सिमाना १ सय १३ किलोमिटर रहेको छ । जसमा ५५ नम्बर पिलरदेखि ६१ नम्बर पिलरसम्म रहेको र ६० नम्बर पिलरबाहेक अन्य सबै पिलरमा कुनै समस्या नरहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्