उपत्यकासहित देशभर कोरोना सङ्क्रमण र मृत्युदर घट्दै



काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ । यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट सङ्क्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने २१४ रहेको थियो । जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा एक हजार ७८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट तीन हजार ७०२ तथा एन्टिजेनबाट ६६७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या नेपालमा पाँच लाख ५३ हजार ४२२ पुगेको छ । हाल ७६३ सङ्क्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म चार लाख ४० हजार ९५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर छ हजार २०५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७९ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख आठ हजार ८९७ सक्रिय सङ्क्रमित रहेका छन् । पिसिआर परीक्षण गराउनेको सङ्ख्या ३० लाख ४२ हजार ३६९ पुगेको छ ।

काठमाडौँ उपत्यकामा पनि घट्दै सङ्क्रमितको सङ्ख्या

काठमाडौँ उपत्यकामा पनि पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । यही जेठ ९ गते उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८२१ रहेकामा आज सो सङ्ख्या घटेर एक हजार ९३ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८०४, ललितपुरमा १६८ तथा भक्तपुरमा ११३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३७७ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ७० हजार ३६२ सङ्क्रमित निको भएका छन् भने एक हजार ५९९ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल छ हजार ५२५ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २६ हजार १२५ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ४३० सङ्क्रमितको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा चार हजार ५०१ सक्रिय सङ्क्रमित छन् । निको हुनेको सङ्ख्या १४ हजार ९६६ रहेको छ भने ३२१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्