बैतडीमा निषेधाज्ञा दुई हप्ता थप



नेपाल समाचारपत्र, बैतडी

बैतडीमा जारी निषेधाज्ञा दुई हप्ता थप गर्ने निर्णय भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जेठ १७ गतेसम्म जारी रहेको निषेधाज्ञालाई जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोनाको दोश्रो लहर आएपछि अब तेश्रोपटक निषेधाज्ञाको अवधि थपिएको हो ।

यसअघि, वैशाख २० देखि जेठ २ र जेठ ३ देखि १७ सम्म निषेधाज्ञा थपिएको थियो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सिफारिस गरेअनुसार जेठ ३१ गते सम्म निषेधाज्ञा लम्बिने बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘कोरोना संक्रमणदर न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थपिने भएको हो, अहिले संक्रमणदर केही घटेको भए पनि संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञालाई निरन्तरता दिन लागेका हौं ।’हाल जारी निषेधाज्ञा जेठ १७ गते राति १२ बजेसम्म लागू भएकाले र १७ पछि अर्को आदेश जारी हुने जिल्ला प्रशासन कार्यालयले जनाइएको छ ।

बैठकले कोरोना संक्रमितको उपचार र व्यवस्थापन गर्न संक्रमितको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट टे«सिङ गरी कोरोना परीक्षणलाई निरन्तरता दिने निर्णय गरेको छ । होम आइसोलेसनमा बसिरहेका संक्रमितहरूको स्वास्थ्य अवस्था नियमितरूपमा अनुगमन गर्ने, जिल्ला कोभिड व्यवस्थापन समितिलाई बजेटको आवश्यकता भएमा स्थानीय तहहरूले सहयोग गर्नुपर्ने निर्णय पनि भएको छ ।बैतडीको खोड्पेमा आइसोलेसन केन्द्र बनाउने र त्यसको पूर्वाधार निर्माणका लागि सबै पालिकाहरूले सहयोग गर्नुपर्ने निर्णय भएको छ । खोड्पेमा हेल्थ डेस्क स्थापना गरी जिल्ला भित्रिनेहरूको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने र पोजेटिभ आएमा सो आइसोलेसनमा केन्द्रमा संक्रमितहरूलाई राखिने बताइएको छ ।यस्तै, पाटन नगरपालिकाको अनारखोलीमा रहेका सडक डिभिजन कार्यालयका भवनलाई कोभिड अस्पताल बनाउने र त्यसका लागि १ करोड ५० लाख बजेट विनियोजन गर्न केन्द्र र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णयसमेत समितिको बैठकले गरेको छ ।

यसका साथै महामारीको समयमा हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गर्ने कार्यलाई निरन्तरता दिने र स्थानीय तहहरूले पनि बजार अनुगमन गरी जिल्ला कोभिड व्यवस्थापन समितिका प्रतिवेदन पठाउनुपर्ने निर्णय भएको छ । कालोबजारी नियन्त्रण गर्न, अखाद्य खाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन स्थानीयस्तरमा अनुगमन जरुरी रहेकोले स्थानीयस्तरमा अनुगमन गरेर प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पठाउनुपर्ने निर्णय पनि भएको छ ।प्रत्येक पसलहरूमा अनिवार्य मूल्यसूची राख्न लगाउनका लागि उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हाल कोरोनाका ७ सय सक्रिय संक्रमित रहेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्