जापान पुगेका स्याङजालीद्धारा स्वास्थ्य सामाग्री सहयोग



अमृत अर्याल, स्याङजा ।

स्याङ्जा समाज जापानले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । अध्ययन तथा रोजगारका शिलशिलामा जापान पुगेर बिभिन्न क्षेत्रमा छरिएर रहेका यहाँका दाजुभाई तथा दिदीवहीनीको सहयोगबाट संकलित रकमले कोष स्थापना गरी ती सामाग्री उपलब्ध गराइएका हुन । स्याङ्जा समाज जापानले स्थापना गरेको कोरोना राहत कोषबाट उपलब्ध गराइएका स्वास्थ्य सामाग्री जिल्लाका बिभिन्न स्थानीय पालिका, सुरक्षाकर्मी र अपांग समाजलाई प्रदान गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङजाको समन्वयमा पालिका, अपांग समाज र सुरक्षाकर्मीलाई लक्षित गर्दे ती सामाग्री प्रदान गरिएको हो । कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएका बेला आफ्नै पालिकामा निर्मित अस्थायी कोभिड अस्पताल संचालन गरेका जिल्लाका ८ वटा पालिका, अपांग समाज स्याङ्जा सहित जिल्ला प्रहरी कार्यालयलाई सामाग्री उपलब्ध गराईएको हो । समाजले आधीखोला सामुदायिक अस्पताल, कालिका सामुदायिक अस्पताल भीरकोट, चापाकोट अस्पताल, गल्याङ अस्पताल, कालीगण्डकी अस्पताल, वालिङ अस्पताल, विरुवा सामुदायिक अस्पताल, जिल्ला अस्पताल स्याङ्जा र जिल्ला सुरक्षा निकायलाई उपलब्ध सामाग्री बितरण गरिएको अन्तराष्ट्रिय स्याङ्जा सहयोग समाजका सल्लाहकार सुरेश रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार रोजगारका शिलशिलामा नेपालबाट जापान पुगेका नेपालीद्धारा संकलित ३ लाख २८ हजार ३ सय ५८ मध्ये स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको कोरोना राहत कोषमा उपलब्ध १ लाख ५० हजार रुपैंया प्रदान गरेकोे थियो ।

समाजले प्रत्येक पालिकालाई १० थान पिपिइ, १० लीटर सेनीटाइजर, २० प्याकेट मास्क, फेस सिल ५० वटा बितरण गरेको छ । अपांग समाज स्याङ्जालाई भने १० प्याकेट मास्क , १० लीटर सेनीटाइजर र ३० प्याकेट सेनेटरी प्याड प्रदान गरिएको छ । झण्डै २ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको समाजले जनाइएको छ । स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य कार्यालय स्याङ्गजाका प्रमुख बिष्णुप्रसाद सुवेदीले जिल्लामा कोरोना संक्रमित बढेसंगै अभाव रहने यस्ता सामाग्रीले स्वास्थ्यकर्मी तथा संक्रमितहरु प्रत्यक्ष लाभान्वित हुने बताउदै स्याङजा सहयोग समाज जापानलाई धन्यवाद दिनुभयो ।कार्यक्रममा अन्तराष्ट्रिय स्याङ्जा सहयोग समाजका सल्लाहकार सुरेश रेग्मी, संरक्षक अध्यक्ष अनन्तकुमार श्रेष्ठ लगायतले स्वास्थ्य सुरक्षाका निम्ति अत्यावश्यक सामाग्रीको सही सदुपयोग गर्दै सुरक्षित रहनु पर्नेमा जोड दिनुभयो ।

यसैबीच, अन्तरािष्ट्रय स्याङ्जा सहयोग समाजले १ सय थान सिलीण्डरमा अक्सिजन भरी बितरण गरिरहेको छ । जापानमा रहेर पनि आफ्नो मातृभूमिप्रति समाजले यसअघि पनि बिभिन्न समयमा सहयोग गर्दे आएको छ । बिनासकारी भूकम्प होस् वा अन्य कुनै आपत्ती वा विपत्तीमा पनि सहयोग गरेको छ । समय समयमा समाजका तर्फवाट स्वास्थ्य सामाग्री, अपांगका लागि आवश्यकता अनुरुपमा सामाग्री, विपन्न तथा अपांग परिवारलाई आर्थिक सहयोग, भूकम्प पिडितलाई सहयोग लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दे आएको स्याङजा समाज जापानका अध्यक्ष धु्रव ज्ञवालीले बताउनुभयो । ज्ञवालीका अनुसार आउदा दिनमा पनि समाजले सहयोगलाई निरन्तरता दिनेछ ।विश्व महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि विपदको समयमा मानवीय सहयोगार्थ समाज यस कर्ममा जुटेको बताउनुहुन्छ महासचिव बेद कार्की । स्याङजाबासी ७५ जनाको सहयोगले यी सामाग्री खरिद गरिएका हुन् । सानो प्रयासले पनि केही परिवारलाई राहत पुग्ने र कोरोना संक्रमणबाट जोगाउन सकिन्छ की भन्ने उदेश्य रहेको कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्