कोरोना संक्रमितलाई घर-घरमा पुगेर औषधि वितरण गर्दै आँधीखोलाका अध्यक्ष पौडेल



भूपराज बस्याल , स्याङ्जा ।

स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका पंचमुल, चिलाउनेबास , सेतिदोभान र फापरथुमका सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष आफै बिरामीको घरमा पुगेर प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण र बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिनुुभएको छ । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल, स्वास्थ्य शाखा प्रमुख निराजन लामिछाने र आयुर्वेद कार्यालयका स्याङ्जाका कर्मचारी सहितको टोलीले होम आइसोलेसनमा रहेकाहरुलाई औषधि वितरण गरेको हो ।टोलीले सङ्क्रमितहरूलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुुभयो । सङ्क्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क सेनिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिन युक्त औषधि वितरण गर्दा उहाँहरूमा रोगलाई जित्ने आत्मबल बढ्ने पौडेलको भनाइ थियो ।

गाउँपालिकाबासीको जीवन बचाउनका लागि कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुुभयो । कोरोनालाई नै लक्षित गरेर कोभिड १९ अस्थायी अस्पताल सेतिदोभानमा २० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माणको तयारी गरिरहेको र आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च पनि गाउँपालिकाले ब्यहोर्ने अध्यक्ष पौडेलको भनाई छ ।यसअघि पनि सङ्क्रमितहरूको घरमै गएर उहाँहरूको नियमित स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको गाउँपालिकाले बताएको छ । आँधीखोला वडा नं १ पंचमुलमा ३६ जना, वडा नं २ चिलाउनेबासमा मा २१ जना , वडा नं ५ सेतिदोभानमा ४५ जना र वडा नं ६ फापरथुम १० जना कोरोना सङ्क्रमित रहेका छन् ।

कोरोनाको कुनै पनि औषधी पत्ता लगाउन नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधिको रूपमा चिकित्सकसँगको सल्लाह बमोजिम मात्रै आयुर्वेदिक औषधि वितरण गरिएको हो । औषधि वितरण सँगै बिरामीको अवस्था बुझ्ने, उनीहरूको खानपानमा परिवारलाई सचेत गराउँदै सरसफाइमा ध्यान दिन अनुरोध गरिएको आयुर्वेद कार्यालयका स्याङ्जाले बताएको छ । बुधवार ८० जना कोरोना सङ्क्रमितलाई अश्वगन्धा चूर्ण र आमलकी, जेठीमधु, गुड्चीको मिश्रण गरी दुई किसिमको आयुर्वेदिक औषधि वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्