वडाध्यक्ष अधिकारी संक्रमितको सेवामा



अमृत अर्याल, स्याङ्जा

भीरकोट नगरपालिका–५ का वडाध्यक्ष यामप्रसाद अधिकारीको दैनिकी अहिले कोरोना संक्रमितको घर–घरमा पुग्ने र उहाँहरुलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान, परामर्श तथा उद्धारमै बित्ने गरेको छ । कोरोनाको त्रासमा होम आइसोलेसनमा बसेका संक्रमितको आत्मबल उच्च बनाउन प्रयत्न गर्दै संक्रमितलाई आपत्कालीन सेवामै उहाँले यो निषेधाज्ञाको समयलाई बिताउने गर्नुभएको छ ।

पछिल्लो समय गाउँ–गाउँमा समेत कोरोना संक्रमितको संख्या बढिरहेका बेला वडाध्यक्ष अधिकारी भीरकोट जेसिजको समन्वयमा गाउँ–गाँउमा पुग्ने गर्नुभएको छ । होम आइसोलेसनमा बसेका संक्रमितलाई आवश्यक स्वास्थ्य सामग्री दिने, संक्रमितको अवस्था बुझ्ने र अन्य रिफर गर्नुपरेमा स्वास्थ्यकर्मीलाई सम्पर्क गरी तुरुन्त अस्पतालसम्म पु¥याउने गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । जिल्लामा निषेधाज्ञा जारी भएसँगै वडाध्यक्ष अधिकारीले वालिङ नगरपालिका र भीरकोट नगरपालिकाका गरी ७३ जना कोरोना संक्रमितलाई स्वास्थ्य संस्थामा पु¥याउनुभएको छ भने १३ जना अन्य प्रकृतिका बिरामीलाई अस्पतालसम्म पु¥याउनुभएको छ । अधिकारी अध्यक्ष भएको वडा नं. ५ मा भने अहिलेसम्म ३० जना संक्रमितमध्ये १८ जना निको भइसकेका छन् । सक्रिय संक्रमित १२ मध्ये १ जना पोखरामा उपचाररत छन् भने ११ जना होम आइसोलेसनमा रहेका छन् ।

‘विपद्का बेला जनताको दुःख–सुखमा साथ दिने कर्तव्य जनप्रतिनिधिको हो । जनताको सेवामा लाग्न जनप्रतिनिधि चुनिएका हुन्’, कोरोनालाई सामान्यरूपमा लिन नहुँने भन्दै वडाध्यक्ष अधिकारीले भन्नुहुन्छ– ‘कोरोना हामीले सोचेभन्दा धेरै फरक छ । सतर्क रहौं, स्वास्थ्य मापदण्ड पालना गरौं । केही स्वास्थ्य समस्या, कोरोनासँग मिल्ने लक्षण देखिएमा टोल विकास समिति, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई सम्पर्क गरौं ।’

भीरकोट नगरपालिकामा २ वटा एम्बुलेन्स छन् भने अध्यक्ष अधिकारीको सवारीलाई समेत आपत्कालीन एम्बुलेन्सका रूपमा प्रयोग गरिएको छ । दुईवटै एम्बुलेन्स नहुँदाको अवस्थामा वडा अध्यक्षको सवारीमा विपन्नवर्गका लागि निःशुल्करूपमा अस्पताल लैजाने–ल्याउने गरिएको छ । साथै निषेधाज्ञाका समयमा अध्यक्ष अधिकारीले गाउँका सवैसाधारणले दैनिक सेवन गर्ने औषधिसमेत घर–घरमा पु-याउने गर्नुभएको छ । उहाँको सवारीमा अक्सिजनसहितको व्यवस्थासमेत गरिएको छ ।यता, भीरकोट जेसिजले पनि हेल्प डेक्स नै सञ्चालन गरीे ‘विपद्मा हामी’ अभियानमा रहेर काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्