‘हेलो विर्घा’ महासंकटमा जुटौ



अमृत अर्याल , स्याङ्गजा

सामाजिक सञ्जाललाई सहि सदुपयोग गरियो भने सामाजिक विकासमा टेवा पुग्ने उदाहरण देखिएको छ । स्याङजाको कालिगण्डकी गाँउपालिका बिर्घाका युवाहरुले यसको उदाहरण देखाएका छन् । गाँउमा व्यवस्थित र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि यहाँका युवाहरुले शुरु गरेको सामाजिक सञ्जाल फेसबुक अभियान सफल उदाहरण भएको छ । युवाहरुले “बिर्घामा अस्पताल समय मै उपचार” भन्ने नारासहित शुरु गरेको फेसबुक मार्फत सहयोग आब्हान अभियानले एक हप्तामा नै नगद ८ लाख र लाखौंका समाग्री संकलन भएको छ । कोरोना भारइरसको दोस्रो भेरियन्ट शुरु भएसँगै जिल्लाका शहरी क्षेत्रमा भन्दा गाँउमा सक्रमणको दर बढेको तथ्याङ्कले देखाएको छ ।
कोरोनाको संक्रमण छल्न गाँउ आएका युवाहरुले गाँउको स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउन फेसबुक मार्फत सहयोग आब्हान गरेको अभियान्ता अनन्त पाण्डेले बताउनुभयो ।

गाँउमा ठूलो स्वाथ्यचौकीको भवन त भयो तर प्रभावकारी स्वास्थ्य सेवा र सामाग्री भएन भनेर युवाहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग आब्हान गरेका थिए । कोरोना संक्रमण बढ्दो छ, गाँउको स्वास्थ्य चौकीमा सामाग्री अभाव छ, यसको जोहो गर्न देश बिदेशमा बसेका दाजुभाईलाई फेसबुक मार्फत सहयोगको अपेक्षा राखेका थियौ, पाण्डेले भन्नुभयो सबैबाट सहयोग जुटाउन सफल भएका छौं । सहयोग आउने क्रम अझै जारी रहेको अभियान्ताहरुको भनाई छ ।विर्घा स्वास्थ्य चौकीलाई तत्काल कोभिड–१९ का विरामीको उपचार गर्न सक्षम बनाउने गरी कम्तीमा २५ ओटा अक्सिजन सहितको शैया, सामान्य रोगको पहिचान गर्नसक्ने प्रयोगशाला, एक्स–रे मेसिन लगायत अन्य आवश्यक मेडिकल सामग्री जुटाउने अभियान अन्तर्गत हेलो बिर्घा नामक फेसबुक समूह बनाईएको थियो । अभियान अन्तर्गत प्राप्त भएको नगद तथा सामाग्रीहरुको बिबरण हेलो बिर्घा फेसबुक पेज मार्फत नै सार्वजनिक गरिएको छ । युवाहरुले कोरोना संक्रमणको प्रभाव कम होस् भन्दै स्वास्थ्यचौकीको सरसफाई तथा व्यवस्थापनको काम समेत निरन्तर गरिरहेका छन् ।

गाँउ गाँउमा सक्रमण बढिरहेको अवस्थामा गाँउमा नै व्यवस्थित अस्पताल बनाउने अभियानलाई सार्थकता प्रदान गर्न गृह मन्त्राालयका सहसचिव तथा कोरोना नियन्त्रण केन्द्रिय समिति सिसिएमसीका सदस्य टोकराज पाण्डेले समेत यसको सहजीकरण गरिरहनु भएको छ । अहिले सम्म ठूलो तथा सानो साईजका बेडहरु, अक्सिनज सिलिन्डरहरु, अक्सिजन कन्सन्ट्रेटर मेसिन, नेवुलाईजर, पीपीई लगायतका महत्वपूर्ण सामाग्रीहरु हेलो विर्घा नामक फेसबुक मार्फत प्राप्त भएको बताइएको छ ।कोरोना संक्रमणको यो महामारीका बेला स्वास्थ्य सामाग्रीमा देखिएको यो संकटलाई समाधान गर्न यहाँका युवाले चलाएको फेसबुक अभियान महत्वपूर्ण मानिएको छ । तिन तहका सरकारले समेत यो संकटलाई थेग्न नसकेका बेला युवाहरुले सामाजिक दायीत्व निर्वाह गरेकोमा स्थानीयहरु पनि खुशी भएको संघिय सांसद मोहोन प्रसाद पाण्डेले बताउनुभयो । सामाजिक भावना बोकेर हिडेमा सफलता भइन्छ भन्ने उदाहरण यहाँका युवाले प्रस्तुत गरेको सांसद पाण्डेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्