वैशाख पूर्णिमा र बुद्ध जयन्ती विशेष



प्रेममान डंगोल
गौतम बुद्धको जन्मदिन भएकाले वैशाख शुक्ल पूर्णिमाको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिइन्छ । यसै दिन गौतम बुद्धले बोधिज्ञान र महापरिनिर्वाणसमेत प्राप्त गर्नुभएको हो । यसरी तीनवटा संयोग परेकाले पनि वैशाख पूर्णिमाको अत्यन्तै महत्व भएको हो । विश्वमा छरिएर रहेका अर्बौं बौद्धमार्गीले यस दिन अत्यन्तै श्रद्धाभावले गौतम बुद्धको जन्मजयन्ती मनाएर उहाँका ज्ञानको चर्चा–परिचर्चा गर्छन् । विश्व शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम चलाएर शान्तिका अग्रदूत गौतम बुद्धलाई श्रद्धापूर्वक नमन गर्छन् ।

नेपालमा रहेका चैत्य, गुम्बा र विहारहरुमा यस दिन बुद्ध–पूजा गरिन्छ । विभिन्न कार्यक्रमहरु गरेर विश्व शान्तिको कामना पनि गरिन्छ । भगवान् बुद्धका मूर्ति भएका ठाउँमा मेला पनि लाग्छ । गौतम बुद्ध जन्म भएको स्थान लुम्बिनीमा ठूलै मेला लाग्छ । यहाँ राष्ट्रिय स्तरमै बुद्ध जयन्ती मनाइन्छ । देशी–विदेशी बौद्धमार्गीहरु आएर श्रद्धापूर्वक बुद्ध जयन्ती मनाउँछन् । प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिले लुम्बिनी क्षेत्र शोभायमान भएको हुन्छ । बुद्धध्वजा–पताकाले लुम्बिनी मायादेवीको क्षेत्र नै ढाकिएको हुन्छ भने विभिन्न किसिमले त्यहाँ सजाइएका सजावटले आकर्षण थपेको हुन्छ ।काठमाडौं उपत्यकामा पनि विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्छ । घर–घरमैं बुद्धको झन्डा फहराइएको हुन्छ । बौद्ध झन्डामा भएका पाँच थरी रंगले पञ्चतत्व– आकाश, जल, पृथ्वी, अग्नि र हावाको प्रतिनिधित्व गरेको मानिन्छ । त्यस्तै नीलो, सेतो, पहेँलो, गेरु र रातो रंग भएको बौद्ध झन्डा पञ्चबुद्धको प्रतीक मानिन्छ । विश्व ब्रह्माण्ड चराचर जगत्मा यिनै पाँच तत्व नै व्याप्त छ । संसारमा जति पनि प्राणी छन् ती सबै पञ्चतत्वबाटै सृष्टि भएर त्यसैमा विलिन भई जाने गर्छन् । त्यसै भएर नै प्राणी मात्रको जीवन चक्रमा जन्म र मृत्यु भइरहने हो ।

भगवान् गौतम बुद्धले मानिस दुःखी हुने, जन्म–मृत्युको चक्रमा परिरहने हुँदा त्यसको उद्धारका लागि सबैले बुझ्ने गरी विभिन्न किसिमको ज्ञान दिनुभएको छ । यो संसारमा मानिसहरु भौतिक सुख–सुविधाले सम्पन्न र गरिब हुनाले मात्रै सुख÷दुःख हुने होइन । वास्तवमा मानिसमा भएका दूषित चित्तले गर्दा नै दुःख हुने हो । काम, क्रोध, लोभ, मोह, अहंकारजस्ता विकारले नै मानिसलाई दुःख भइरहने हो । यही चित्तको विकारले गर्दा नै मानिसले जन्म भइरहनुपर्ने र मरिरहनुपर्ने हो । जन्म र मृत्युको दुःखको चक्रमा मानिसहरु अल्झिरहन्छन् ।
मानिस जन्मिनु दुःख, बिरामी हुनु दुःख, वृद्ध हुनु दुुःख, आफ्ना प्रियजनसँग छुट्टिएर बस्नुपर्ने हुनु दुःख, मन नपर्नेहरुसँग बस्नुपर्ने पनि दुःख अनि अन्तिममा मर्नुपर्ने अवस्थालाई पनि दुःख मानिन्छ । यिनै सम्पूर्ण दुःखको वास्तविकताबाट पार पाउन नै सजिलो मार्ग अष्टांग मार्ग हो भनी भगवान् गौतम बुद्धले बाटो देखाउनुभएको छ । साथै पञ्चशील र अष्टशीलजस्ता अत्यन्तै महत्वपूर्ण लोक कल्याणका लागि ज्ञान दिनुभएको छ । भगवान् गौतम बुद्धले दिनुभएको मार्गमा अगाडि बढ्दै विश्वशान्तिको कामना गर्नुले नै गौतम बुद्धको जयन्ती मनाएको सार्थक हुनेछ ।

बुद्ध जयन्तीको अवसरमा विभिन्न देशमा विभिन्न किसिमका कार्यक्रमहरु गरी बुद्धलाई सम्झने, बुद्ध पूजा गर्ने र बुद्धका ज्ञानका चर्चा–परिचर्चा गर्ने गरिन्छ । विशेष गरेर दक्षिण कोरियामा भिक्षुहरुले बुद्ध जन्मभूमि नेपालको लुम्बिनीमा आई विशेष कार्यक्रमको आयोजना गर्ने गर्छन् । एउटा उल्लेखनीय कार्य दक्षिण कोरियाका भिक्षुहरु २०७० साल वैशाखमा गौतम बुद्ध जन्म भएको स्थान विश्वशान्तिको उद्गम स्थल नेपालको लुम्बिनीमा आएका थिए । उनीहरले त्यहाँ भएको अखण्ड शान्तिदीपलाई आफ्नो देशमा लगी दक्षिण र उत्तर कोरियाको सिमाना मुन्साननजिकै रहेको शान्ति पार्कमा प्रज्वलन गरेर शान्तिका निम्ति प्रार्थना गरेका थिए । दुई कोरियाका बीच द्वन्द्ध बढिरहेको समयमा शान्तिदीप यात्रा र दीप प्रज्वलनले शान्ति स्थापनामा बल पुग्ने विश्वास गरिएको आयोजकहरुले बताएका छन् । शान्तिदीप स्थायीरुपमा राख्न कोरियाको १०८ वटा विहारमा शान्तिदीप प्रज्वलन गरिएको थियो । वैशाख पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने क्रममा कोरियामा लोटस लाल्टिन फेस्टिवलमा पनि शान्तिदीपलाई नगर परिक्रमा गराइन्छ ।हाम्रो देश नेपालमा चैत्र शुक्ल पूर्णिमा, वैशाख शुक्ल पूर्णिमा र नमोबुद्धको मेला लाग्ने पूर्णिमाका दिन गरी वर्षमा तीनपटक गौतम बुद्धलाई विशेषरुपमा सम्झेर विभिन्न कार्यक्रमको आयोजना गरी मेला भर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्