ग्रामिण क्षेत्रमा पनि आइसोलेसन



अमृत अर्याल  स्याङ्गजा, 

स्याङ्जाको गल्याङ नगरपालिकाको ग्रामिण क्षेत्रमा आवश्यकताको आधारमा सार्बजनिक आइसोलेसन निर्माण हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले सबै वडाहरुमा आइसोलेसन निर्माणका लागि पत्र पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार वडाहरुमा रहेका अस्पताल आउन नचाहने कोरोना प्रभावित विरामीहरुका लागि ग्रामिण क्षेत्रमा नै आइसोलेसन निर्माण गर्नु उपयुक्त हुने भएकाले सम्बन्धित ठाउँमा नै आइसोलेसन निर्माण गर्ने तयारी भएको बताउनुभयो ।

अब सम्बन्धित वडाध्यक्षहरुले कोरोना प्रभावितहरुका लागि नजिकका सार्बजनिक स्थललाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्न सक्ने भएका छन् । कोरोना प्रभावित विरामीहरुबाट अन्य विरामीमा रोगको संक्रमण फैलन नदिन यस्तो उपाय अपनाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाई छ । उहाँले भन्नुभयो –‘ग्रामिण क्षेत्रमा रहेका विरामीहरुलाई नियमित उपचारका लागि स्वास्थ्यकर्मीको निगरानी राखिनेछ ।’ थप समस्या आएमा नगर अस्पताल वा अन्य ठाउँमा समेत उपचारको प्रबन्ध गरिने शर्माले बताउनुभयो ।

यस्तै ग्रामिण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्यकेन्द्रहरुमा आएका विरामीको चापलाई हेरी थप संक्रमण फैलीन नदिनका लागि पनि पहल गरिने भएको छ । दैनिक रुपमा स्वास्थ्य चौकीमा आएका विरामीहरुको तथ्याङ्क नगरपालिकामा पेश गर्ने र बढि प्रभावित रहेका क्षेत्रमा शिल गरी उपचारको प्रबन्ध मिलाउन यस्तो व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

उहाँले सम्बन्धित क्षेत्रमा आएका विरामीहरुको उपचारका लागि नगरपालिकाको स्वास्थ्य टिमलाई २४ सै घण्टा सक्रिय राखिएको बताउनुभयो । नगरपालिकाबाट उपलब्ध जनशक्तिलाई अधिकतम प्रयोग गरी जोखिम कम गर्नलाई विभिन्न उपायहरु अपनाइएको भन्दै शर्माले रोग नलुकाउन र जानकारी गराई उपचारमा लाग्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्