महामारीका बेला किसानलाई मकै छर्ने चटारो



विनोदसिंह विष्ट, बैतडी

कोरोना महामारीका बेला जिल्लाका किसान मकै छर्ने कार्यमा व्यस्त छन् । यसवर्ष समयमै पानी परेकाले किसानलाई मकै छर्ने कार्यमा व्यस्त रहेका हुन् । हाल किसान मकै छर्ने कार्यमा व्यस्त रहेका दोगडाकेदार ३ श्रीकोटका गणेश विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘यसवर्ष समयमै पानी परेको छ, जिल्लाका प्रत्येक गाउँका किसान मकै छर्ने कार्यमा व्यस्त भएका छन् ।’ बर्खेबालीमध्ये मुख्यबालीको रुपमा रहेको मकैबाली छर्नका लागि गाउँ–गाउँमा चटारो परेको हो । जिल्लाको आधाभन्दा बढी भागका किसानले मकै छरीसकेका छन् । केही ठाउँका किसान मकै छर्ने कार्यमा व्यस्त रहेका हुन् । मकै छर्नका लागि यो समय उपयुक्त पनि मानिने कृषि प्राविधिकहरुले बताएका छन् । मकै उत्पादनमा बढावा दिनका लागि जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रमसमेत सञ्चालनमा रहेको छ ।

मकै उत्पादनबाटै किसानलाई आत्मनिर्भर बनाउनका लागि परियोजनाले काम गरिरहेको हो । । बैतडी मकैको पकेट क्षेत्र पनि हो । त्यसैले यो क्षेत्रका किसानलाई मकै उत्पादनबाट आत्मनिर्भर बनाउनका लागि मकैजोन कार्यक्रम सञ्चालनमा रहेको परियोजनाले जनाएको छ ।बैतडीका दशरथचन्द नगरपालिका,पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा रहेको छ । ती स्थानीय तहका किसानहरुलाई परियोजनाबाट बीउ, उपकरण लगायतमा सहयोग गर्ने गरेको छ । मकै लगाउँदा मनकामना, रामपुर कम्पोजिटलगायतका उन्नत जातका मकै लगाउन उपयुक्त हुने जनाएको छ । यस्तै मकै लगाउँदा प्रशस्त मात्रामा प्रांगारिक मलको प्रयोग गर्नुपर्ने पनि बताएको छ । धेरै मानिसले भारतीय रोजगारी गुमाएर घर फर्केपछि अहिले आफ्नै बारीमा कृषि कर्ममा लागिरहेका छन् । बैतडीमा १२ हजार २ सय हेक्टर जमीनमा मकै खेती गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्