‘तरकारीको राजधानीबाट आलु निर्यात

नेपाल समाचारपत्र, हेटौंडा



नेपाल समाचारपत्र, हेटौंडा

बेमौसमी तरकारीको ‘राजधानी’ का रुपमा परिचय बनाउन सफल मकवानपुरको थाहानगरस्थित पालुङमा यस वर्षको आलु उत्पादन शुरू भएको छ । गत सोमबार सम्भवतः यस वर्षको पहिलोपटक करिब ४ हजार किलो आलु निर्यात गरिएको छ । उक्त क्षेत्रमा आलुखेती २०१८ सालदेखि शुरु गरिएको स्थानीयको भनाइ छ ।

थाहा–१, ओखरबजारस्थित हरिशरण एन्ड सन्स भेजिटेबल सप्लायर्सले बुटवलमा करिब २ हजार ५ सय र विराटनगरमा करिब १ हजार ७ सय किलो सेतो आलु निर्यात गरेको हो । सप्लायर्सका राजन लामिछानेका अनुसार सेतो कुखुरे ज्योति ग्रेडिङअनुसार १८ रुपियाँदेखि २० रुपियाँसम्म खरिद गरी २१–२२ रुपियाँमा बिक्री गरिएको हो ।गत वर्ष जेठ १८ गते पहिलोपटक प्रतिकिलो २१ रुपियाँमा निर्यात गरिएको थियो । रातो कार्डिनल आलु २६–२७ रुपियाँमा खरिद गरिएको छ भने गत वर्ष जेठ १८ गते प्रतिकिलो २८ रुपियाँमा निर्यात गरिएको थियो । पुस अन्तिम सातादेखि माघ पहिलो साता खेती शुरु गरिएको ओखरबजार र बसन्तका खेतका आलु उत्पादन शुरु भएको हो ।
गत वर्षको तुलनामा यस वर्ष धेरै फलेको भए पनि वैशाख ३ र १६ गतेको असिनाले आलुका बोटमा क्षति पु¥याएका कारण आकार भने सानो भएको किसानको अनुभव छ । उत्तरी मकवानपुरमा उत्पादित आलु काठमाडौं, हेटौंडा, वीरगन्ज, नारायणघाट, बुटवल, पोखरा, विराटनगरलगायत भारतको सिलीगुडीसम्म निर्यात हुने गरेको छ । वैशाखमा परेको असिनाले बोट नै सखाप पारेपछि कतिपय किसानले खेतमा ट्रयाक्टर जोतेर अन्य बाली लगाइसकेका छन् ।

असिनाका कारण किसानले लगाएको तरकारी बालीमा क्षति पुगेको थियो । थाहानगरमा करिब ७ सय हेक्टरमा लगाइएको आलु नष्ट भएको नगरपालिका कृषि शाखा प्रमुख सञ्जय तिवारीले जानकारी दिनुभयो । ‘गत वर्ष लकडाउनका कारण तरकारीमा मार खाइयो । हाल असिनाले तरकारी नोक्सान भयो’, थाहानगर–९ स्थित चित्लाङका किसान विष्णुलाल वाइबाले भन्नुभयो ।‘नगरका १२ वटै वडाका बासिन्दाले आलु रोपेका छन्,’ नगरपालिका कृषि विकास अधिकृत तिवारीले भन्नुभयो–‘स्थानीयले वर्षौंदेखि आलु खेती गरिरहेका छन् । आलु खेती गर्न स्थानीयहरु सामान्य प्राविधिकसरह ज्ञान राख्छन्,’ तिवारीले भन्नुभयो–‘रोगका विषयमा कम जानकारी छ भने विषादी प्रयोगबारे पनि थोरैमात्र ज्ञान छ । अब त सबै सिकिसकेका छन्, आलु खेतीमा रासायनिक मल र विषादी प्रयोग गर्न हुन्न भन्ने कुरा जानकारी भइसकेको छ । कृषि शाखाका अनुसार थाहा नगरपालिकाबाट वर्षेनी करिब एक अर्ब रुपियाँको आलु निर्यात हुने गर्दछ । नगरका मेयर लवशेर विष्टले नगरपालिकाले आलुबाट मात्र वार्षिकरुपमा ५७ देखि ६० लाख रुपियाँ राजस्व संकलन गर्ने बताउनुभयो । त्यहाँबाट निर्यात हुने आलुलगायत तरकारीमा लामो समय अघिदेखि स्थानीय कर लगाइँदै आएको छ । २०३१ सालदेखि दामन÷पालुङमा आलुमा कर लगाउन शुरु गरिएको थियो ।

त्यही करबाट संकलन भएको रकम उक्त क्षेत्रको शैक्षिक विकास एवम् भौतिक पूर्वाधारका निम्ति खर्च गरिँदै आएको छ । उक्त कर हाल थाहा नपाले लगाउने गरेको छ । थाहानगरको आलु तराईमा लोकप्रिय हुँदै गएपछि ग्राहकहरुको मागलाई ध्यानमा राखी वीरगञ्जका व्यापारीहरु थाहानगरमा उत्पादित आलुलाई प्राथमिकतामा राखेर यसको व्यापार गर्ने गर्दछन् । वीरगन्जको बजारबाट आलुको माग बढ्दै गएपछि टाँगामा दैनिक करिब १५ लाख मूल्य बराबरका थाहानगरका करिब ५० टन आलु भारतको सीमावर्ती रक्सौल बजारमा जाने गरेको व्यापारीहरु बताउँछन् । खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हुँदै गएपछि यसको माग पनि बढेको उनीहरु बताउँछन् । आलु लेकाली क्षेत्रको मुख्य बाली हो । तराई तथा बेंसीमा फलेको आलुभन्दा लेकमा फलेको आलु निकै स्वादिलो र पौष्टिक मानिन्छ । आलुमा प्रोटिन, कार्बोहाइड्रेड, आइरनलगायत तत्व पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्