संक्रमितलाई घरघरै च्यवनप्राश



हेटौंडा, (नेस) ।

कोभिड हेल्पडेस्क मकवानपुरले शनिबारबाट सेवा शुरु गरेको छ । शनिबार १ सय ३० जना कोभिड संक्रमितलाई फोन सम्पर्कमार्फत् उनीहरुको अवस्था बुझ्ने र समस्या परे सम्पर्क गर्न आग्रह गरिएको छ ।

समस्याग्रस्त संक्रमितलाई यथोचित सहयोग तथा समन्वय गरी हौसला र उपचारमा सहजीकरण गर्ने डेस्कको लक्ष्यअनुसार काम अघि बढाइएको हो । मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय रहेको कोभिड हेल्पडेस्क मकवानपुरका अनमी दिव्या बस्नेत पोखरेल, सिनियर अहेब प्रवीण पुडासैनीलगायतद्वारा फोन सम्पर्कमार्फत् अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको हो ।शनिबार कोभिड हेल्पडेस्क मकवानपुरबाट घरदैलो कार्यक्रमअन्तर्गत् होम आइसोलेसनमा रहेका ८ जना कोभिड संक्रमितको घरमा गएर अवस्था बुझ्ने काम गरिएको छ ।

भेटमा सामान्य स्वास्थ्य जाँच तथा परामर्श, च्यवनप्राश र मेडिकल मास्क १० थान बितरण गरिएको थियो । घरदैलो कार्यक्रममा कोभिड हेल्पडेस्क मकवानपुरका सचिवालय संयोजक कृष्णकुमार गुप्ताको नेतृत्वमा लायन्स क्लबका प्रतिनिधि, मारबाडी एसोसिएसन अध्यक्ष पवन अग्रवाललगायत डेस्कका प्रतिनिधिको सहभागिता थियो । यो क्रम जारी रहने गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्