हेटौंडा अस्पतालमा संक्रमितसँगै रातभर रहन्छ शव



हेटौंडा, (नेस) ।

गएको बिहीबार राति हेटौंडा अस्पतालको आईसीयु कक्षमा एक वृद्धले छट्पटिँदै संसार त्यागे । उनी थिए हेटौंडा–६ का ७४ वर्षीय बृद्ध ।
ती बृद्धको पीडा र उनले अन्तिम सास लिँदै गरेको त्यो दृष्य देखेपछि सँगैको बेडमा कोभिडसँग जुधिरहनुभएकी ५९ वर्षीया सीता गुरुङको सात्तो गयो । आत्तिएर उहाँले बाहिर रहेका कुरुवा छोरालाई आईसीयु कक्षमा बोलाउनुभयो । र, भन्नुभयो–बाबु, मलाई अस्पतालबाट छिटै घर लैजाऊ । घर गएँ भने बाँचुला । यहाँ बसें भने त मर्छु । मेरो मन नै कमजोर भइसकेको छ ।

उहाँसँगैको बेडमा उपचाररत् ती बृद्ध संक्रमितको राति करिब पौने १२ बजे मृत्यु हुँदा शव भने शुक्रबार विहान ७ बजेपछि मात्र उठाइएको थियो ।११ दिनदेखि आईसीयुमै रहेका पूर्वी मकवानपुरको छतिवनका करिब ४४ वर्षीय अर्का एक संक्रमितले अस्पतालको बेडबाटै कुरुवा भतिजलाई फोन गरे । र, भने–बाबु, मलाई अर्कै अस्पतालमा लैजाऊ । सँगै बेडका मान्छे आँखैअगाडि मरेको देख्दा मेरो मन आत्तिइसकेको छ ।हेटौंडा बस्दै आएका भतिज कृष्ण घिमिरेले अस्पताल सार्ने वा हेलिकोप्टरबाट काठमाडौं लैजाने भन्ने प्रयास जारी राख्दा दोस्रो दिन मध्यरात ती संक्रमितले अस्पतालको बेडबाटै संसार छाडे । राति १२ बजेर ३३ मिनेट जाँदा अस्पतालका एक स्वास्थ्यकर्मीले सूचित गरे–उहाँको मृत्यु भयो ।सम्झँदै कृष्ण भन्नुहुन्छ–कोभिडका कारण छट्पटिएर आँखैअगाडि ज्यान गुमाएकाहरु देख्दादेख्दा सँगैको बेडमा रहेका संक्रमितहरुको मानसिकता नै कमजोर बन्ने गरेको देखियो । हेटौंडा अस्पतालमा शवको व्यबस्थापन पक्ष निकै फितलो भएका कारण पनि संक्रमितको आत्मबल कमजोर बनेको देखिन्छ ।

‘कतिपय अस्पतालमा संक्रमितको आत्मबल बढाउन अनेक उपाय गरिएका खबर सुन्दा र देख्दा हेटौंडा अस्पतालमा भइरहेका यस्ता घटनाले चिन्तित बनाएको छ,’ घिमिरेले भन्नुभयो–मृतकलाई रातभर अस्पताल राख्दा जिउँदाको मनोबल गिर्ने गर्दछ । शवसँगै एउटै कोठामा कसरी बस्न सक्छन् संक्रमित ?,’ उहाँको प्रश्न छ ।राति मृत्यु भएको शवलाई राति नै बाहिर निकालेर उपचाररत् संक्रमितलाई मानसिक परामर्श दिनुपर्ने उहाँले सुझाउनुभयो । उपचारका क्रममा मृत्यु भएका संक्रमितको शव अन्य संक्रमितले नदेख्ने गरी व्यबस्थापन गर्न उहाँको आग्रह छ ।संक्रमितको उपचारमा निकै प्रयास गरिएको दाबी गर्ने मकवानपुरको ठूलो एकमात्र सरकारी हेटौंडा अस्पतालमा कोभिड संक्रमणका कारण प्रतिदिन कम्तिमा ४ जनाको ज्यान जाने क्रम रोकिएको छैन ।अस्पताल भर्ना भएको तीन दिनमै आँखैअगाडि ३ संक्रमितको मृत्यु भएको देख्नुभएकी गुरुङका छोरा दिवसले भन्नुभयो–आफ्नो छेऊमा रातभरि संक्रमितको शव रहनाले उपचाररत् संक्रमित डराएका छन् । ‘त्यो देखेर आमालाई रातभर निद्रा लागेन ।,’ दिवस भन्नुहुन्छ–अस्पताल बाहिर बसेकालाई त हाम्रा मान्छेलाई पनि केही हुने त होइन नि भन्ने डरले सताउँछ ।

संक्रमितहरु छट्पटाइरहेका हुन्छन् । आफन्तहरु पनि पीडामा हुन्छन् । अस्पतालले सकेसम्म निको बनाएर घर पठाउन पाए हुन्थ्यो भन्ने प्रयास भने नगरेको होइन, तर शवको व्यबस्थापन समयमै नहुँदा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेसँगै अस्पतालमा उपचाररत् संक्रमित शवसँगै त्रासपूर्ण बाँचिरहेका छन् ।बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् समावेश गरेर आवश्यक भौतिक तथा प्राविधिक सहयोग जारी राखेको हेटौंडा अस्पतालमा उपचाररत् संक्रमित भने यस्ता पीडादायी दृष्य देख्नु नपरोस् भन्दै तत्काल शवको व्यबस्थापन चाहेका छन् । जुन अस्पतालले गरिहेको छैन । हेटौंडा अस्पतालमा दोस्रो चरणको संक्रमणका कारण हालसम्म ४३ जनाले ज्यान गुमाइसकेका छन् ।

राति ९ बजेपछि संक्रमितको मृत्यु भए हरियो पर्दाले एकातिर छोपेर तर तीनतिर ह्वाङ्ग पारेर शवलाई रातभर राख्ने गरिएको छ । भोलिपल्ट विहानमात्र त्यसको व्यबस्थापन हुने गरेको अस्पतालका कोभिड फोकलपर्सन डा. सागर काफ्लेले बताउनुभयो ।‘जुन वार्डमा मृत्यु भएको हो त्यहीँ नै पर्दाले छेकेर राख्छौं,’ डा. काफ्लेले भन्नुभयो–उपचाररत् वार्डमा संक्रमितलाई केही समय परामर्श दिने गरिएको छ । शव त्यहाँबाट उठाउने काम अस्पतालले गर्न मिल्दैन । संक्रमितको विहान ७ बजेदेखि राति ९ बजेसम्म मृत्यु भएमात्र नेपाली सेनाको शव व्यबस्थापन टोलीले शव व्यबस्थापन गर्ने गरेको डा. काफ्लेको भनाइ छ ।अस्पताल व्यबस्थापन समिति सदस्य उत्सव चौलागाईंले राति नै शव व्यबस्थापनका लागि भिडियो एक्सरे कक्षलाई प्रयोगमा ल्याउनेबारे सोचिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्