‘भजन सुधा’ मार्फत सत्मार्गमा डो-याउने प्रयास



रोहिणी घिमिरे

आध्यात्मिक जागरण र मानवलाई सत्मार्गको पथमा डो¥याउनका लागि विद्वत् व्यक्तित्वहरुबाट समय–समयमा प्रयास भइरहन्छन् । २०५२ सालमा रेडियो नेपालको धार्मिक कार्यक्रम सञ्चालकका रुपमा प्रवेश गरी आध्यात्मिक यात्रा शुरु गर्नुभएका पं. हरिहर पोखरेलले पनि ज्ञान र भक्ति मार्गका विविध सामग्रीको प्रकाशन एवं प्रसारण गरी मानिसलाई सत्मार्गमा डो-याउने प्रयास गर्नुभएको छ ।

यसै सिलसिलामा पं. पोखरेलद्वारा रचित १४२ वटा भजन एवं आरती समावेश गरिएको ‘भजन सुधा’ नामक सङ्ग्रह हालै प्रकाशित भएको छ । उहाँले यस पुस्तकमा आध्यात्मिक चिन्तनले प्रभावित नभएको मानव वास्तविक मानव बन्न सक्दैन भनी हृदयदेखिकै भावना पोख्नुभएको छ । अध्यात्मपरक पुस्तक ‘विशद चिन्तन’ पछि उहाँको यो ‘भजन सुधा’ दोस्रो ग्रन्थ हो ।ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धिविनायक मन्दिर संरक्षण समितिका सल्लाहकारसमेत रहनुभएका पं. पोखरेलले यस कृतिमा सगुण र निर्गुण दुवै किसिमका भजन समावेश गर्नुभएको छ । सगुणमा राम, कृष्ण, शिव, देवी, हनुमान, बुद्धजस्ता पात्रहरुलाई प्रस्तुत गरिएको छ । निर्गुणमा मानिसले ईश्वर प्राप्तिका लागि बाहिर नभौंतारिई आफैंमा खोज्नुपर्छ भन्ने सन्देश दिन खोजिएको कुरा सह–प्राध्यापक अर्जुनध्वज अर्यालले समेत आफ्नो मन्त्यव्यमा व्यक्त गर्नुभएको छ ।

धेरथोर आध्यात्मिक ज्ञानसँग आफूलाई जोडेर भक्तिभाव हृदयमा धारण गर्न सकियो भने कलुषित मनलाई शान्त राखेर वास्तविक सुखको अनुभव गर्न सकिन्छ । सुख भनेको भौतिक सुख होइन, आत्मिक सुख हो । त्यो आत्मिक सुख केही हदसम्म यस पुस्तकमा रहेका भजन–आरतीको गायनबाट पाउन सकिनेमा उहाँले जोड दिनुभएको छ ।२०५२ सालदेखि नै हिट्स एफएमको धार्मिक कार्यक्रमसमेत सञ्चालन गर्दै आउनुभएका ललितपुरको भालटार निवासी पं. पोखरेलका भक्ति रचनाहरु सरल, सरस र अर्थपरक रहेकाले यसको गायन एवं श्रवणले आध्यात्मिकतामा डुबुल्की मारेको आभास नहोला भन्न सकिन्न ।पुस्तकमा सङ्गृहीत १४२ वटा भजनमध्ये ३५ वटा भजनलाई विभिन्न गायक–गायिकाले स्वर दिइसकेका छन् । जसमा आनन्द कार्की, कमल कार्की, मीरा राणा, कमल परियार, रामा मण्डल, रमना श्रेष्ठ, तारा थापा, पुष्कर जङ्गम, शिवप्रसाद देवकोटा, भगवती थापा, रामेर थापा, मधु क्षत्री, रामजी पोखरेल, नरराज ढकाल, रामा मण्डल, सुरेन्द्र श्रेष्ठ, गोविन्दमान श्रेष्ठ, अञ्जु पन्त, शशीकला कटुवाल, लोचन भट्टराई आदिको स्वर रहेको पुस्तकमा जनाइएको छ ।

यी रकेर्ड भइसकेका भजनमा राजु सिंह, भुपेन्द्र रायमाझी, विजयसिंह मुनाल, कमल कार्की ढली, मीरा राणा, कमल परियार, शिवप्रसाद देवकोटा, राजु अग्रवाल, सुरेन्द्र श्रेष्ठ, गोविन्दमान श्रेष्ठ, कृष्णमानलगायतले सङ्गीत दिएको उल्लेख छ । पुस्तकमा समाहित सबै भजनमा प्रविष्ट भएका शब्दहरुको चयनले नै रचनाकार पं. पोखरेलको क्षमता उजागर गरेको देखिन्छ ।सुमधुर स्वरका धनी वरिष्ठ गायक आनन्द कार्की, कोकिल कण्ठकी वरिष्ठ गायिका मीरा राणादेखि अहिलेकी चर्चित गायिका अञ्जु पन्तसमेतले गाएका भजनहरु पनि यस सङ्ग्रहमा समाहित हुनुले पुस्तकको गरिमा बढेको देखिन्छ । एक निर्गुण भजनलाई हेरौं–
‘हे नाथ यो भव हो तिम्रै
मन हो तिम्रै यो सृष्टि सबै सबै तिम्रै ।
के छ र चढाऊँ मसँग नाथ
छन् तिमीमै सबै सबै… ।’
आनन्द कार्कीले गाएको यो निर्गुण भजनमा लेखकले आफ्नो केही छैन, सबै प्रभुकै हो भन्ने भाव व्यक्त गरेको देखिन्छ ।त्यस्तै गायक शिवप्रसाद देवकोटाको स्वरमा लयकृत गरिएको शिव भजनमा– ‘हे नाथ दिगम्बर भोले बाबा, तिमी नै हौ जगका एक सहारा…’ भन्दै बाबा शिवलाई संसारकै सहाराको रुपमा लेखकले चित्रण गर्नुभएको छ ।त्यसै गरी ‘बुद्ध तिमी शान्तिका दूत सत्य धर्म सिकाउँछौ, व्यथा र पीडा हटाई जीवन ज्योति जगाउँछौ…’ भन्दै लेखक भजनमार्फत बुद्धको जीवन दर्शाउनसमेत पछि परेको देखिँदैन । पुस्तकका प्रायः हरेक पृष्ठमा विभिन्न शास्त्रमा उल्लिखित उक्ति एवं ख्यातिप्राप्त विद्वान्हरुका अभिव्यक्तिहरु समावेश गरिएकाले यस भक्ति रचनालाई झनै वजनदार बनाएको महसुस गर्न सकिन्छ ।

कलौ केशव कीर्तनात् अर्थात् यस कलि युगमा मुक्ति मार्गको माध्यम नै भजन–कीर्तन भएकाले भजन–कीर्तनमा रमाउने उपासकहरुका लागि पक्कै पनि यो महत्वपूर्ण सामग्री हुनेछ । यस भजन सङ्ग्रहमा सङ्गृहीत भजनहरुको श्रवण र गायनको माध्यमबाट जनमानसमा आध्यात्मिक र नैतिक आस्थाको दियो जगाउन भरपूर मद्दत मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्