निर्माण सामाग्री ढुवानीमा कास्की प्रहरीको अबरोध, मध्यपहाडी लोकमार्गको काम ठप्प



दुर्गाप्रसाद शर्मा, पर्वत

कोभिड १९ को प्रकोपका कारण लक डाउन भएपनि निर्माण कार्य भैरहेको राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य रोकिएको छ ।तनहुँबाट कास्की हुँदै निर्माण समाग्री आपुर्तिमा प्रहरीले अबरोध गरेपछि सडक कालोपत्रे गर्ने काम प्रभावित भएको हो ।

कालोपत्रेका लागि डिबिएसडी गिटी ढुवानी गर्न नसक्दा काम रोकिएको निर्माण कम्पनीले जनाएको छ । कास्की प्रहरीले पोखराको सिमपानीबाट निर्माण सामाग्री ढुवानी गर्न सवारी साधनलाई जिल्ला प्रबेश गर्न नदिएपछि पर्वतबाट पठाएका ट्रिपर पोखराको सिमपानीमा रोकिएका छन । बिहीबार साँझ पुगेका ट्रिपरका चाबी ट्राफिक प्रहरीले खोसेको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले जानकारी दिएको छ । कालोपत्रेका लागि चिप्स तनहुँको कोत्रेबाट ढुवानी हुँदै आएको छ । लक डाउनको समयमा पनि राष्ट्रिय गौरबका आयोजना र अन्य बिकास योजनाको काम नरोक्ने जिल्ला प्रशासन कार्यालय पर्वतको निर्णय अनुसार काम भैरहेको छ । पर्वतबाट अनुमति भएपनि कास्कीमा ढुवानी गर्ने साधनको चाबी समेत ट्राफिक प्रहरीले खोसेको लामा कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधी राजाराम आचार्यले गुनासो गर्नुभयो । ‘कास्की प्रहरीले पर्वतबाट ट्रिपरलाई प्रबेश गर्न नदिएपछि कालोपत्रेको काम रोक्नुपर्ने अबस्थामा पुग्यौ’ आचार्यले भन्नुभयो ‘राष्ट्रिय गौरबको आयोजनाको काम नरोक्ने भनिएपनि सहजीकरण नहुँदा अलपत्र पर्ने अबस्था आयो।’

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले गरिरहेको छ । बैशाख मसान्त सम्म ९० प्रतिशत काम सकिएको कम्पनीका प्रतिनिधी आचार्यले बताउनुभयो । अहिले पर्वतको कुस्माबजारमा २ किलोमिटर र केही ठाउँमा छिटफाट रुपमा बाहेक सबै ठाउँमा कालोपत्रे गर्ने काम सकिएको छ । मनसुन सुरु भएपछि कालोपत्रे गर्ने काम प्रभावित हुने भएकाले जेठ महिनामा मै सक्ने लक्ष्य सहित काम भैरहेको छ । कालोपत्रेका लागि अत्यावश्यक कच्चा पर्दाथ नै ढुवानी गर्न नपाएको अबस्थामा भने कामबाट हात झिक्नुको बिकल्प नभएको कम्पनीका प्रतिनिधी आचार्यले बताउनुभयो । ‘काम गर्छु भन्दा पनि प्रहरीले सहजीकरण गर्नुपर्नेमा उल्टै अबरोध गर्ने काम भयो।’ उहाँले भन्नुभयो ‘डिबिएसडी गिटी नै नभएपछि निर्माणको काम स्थगित गर्नुको बिकल्प रहेन।’

कास्की प्रहरीका प्रमुख जीवनकुमार श्रेष्ठ भने मध्यपहाडी लोकमार्ग, पोखरा बिमानस्थल लगायतका राष्ट्रिय गौरबका आयोजनाको काममा अबरोध गर्ने निति नभएको बताउनुहुन्छ । उहाँले समन्वय नभएका कारणले रोकिएको भए सहजीकरण गरेर आयोजनाका लागि निर्माण सामाग्री ढुवानीमा अबरोध नहुने स्पष्ट पार्नुभयो । ‘राष्ट्रिय गौरबको आयोजनाको कामलाई सहजीकरण गर्ने निर्णय भएको छ।’ उहाँले भन्नुभयो‘आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट सहजीकरण गरेर काम अगाडी बढाउनुपर्छ, तर आयोजनाको कामका नाममा गलत फाइदा उठाउन भएन।’

प्रतिक्रिया दिनुहोस्