बैतडीका ४६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, सेवा प्रभावित



विनोदसिंह विष्ट–बैतडी ।

बैतडीमा कोरोना संक्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी नै कोरोना संक्रमणको चपेटामा पर्न थालेपछि कोरोना संक्रमितको उपचारमा समस्या उत्पन्न भएको छ । बैतडीमा हालसम्म ४६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १६ जना,पुर्चौडी नगरपालिकाका १५, पाटन नगरपालिकाका ११, सिगास गाउँपालिकाका २, मेलौली नगरपालिकाका १ र डिलाशैनी गाउँपालिकाका १ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि भएकामध्ये अधिकांश संक्रमणमुक्त भइसकेका छन् भने संक्रमित अवस्थामै रहेका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था पनि गम्भीर नरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले संक्रमित स्वास्थ्यकर्मीहरू आइसोलेसनमा रहेको जानकारी पनि दिनुभयो ।

भट्टले स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवानै प्रभावित भएको बताउँदै संक्रमण देखिएका स्वास्थ्य संस्थामा आसपासका स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गरिरहेको बताउनुभयो ।बैतडीमा दोस्रो लहरको कोरोना संक्रमणबाट ९ सयभन्दा बढी संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमण तीव्र रुपले फैलिरहेकोले स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।बैतडीमा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जेठ १७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्