संक्रमित घरमै बस्दा फैलियो संक्रमण



विनोदसिंह विष्ट, बैतडी
संक्रमितहरु संस्थागत आइसोलेसनमा बस्न नमान्दा संक्रमणको दर बढ्दै गएको छ । संस्थागत आइसोलेसन बस्न संक्रमित नमान्ने र होम आइसोलेसनको नियम पूर्णरूपमा पालना नगर्दा संक्रमण दिन प्रतिदिन बढ्दै गएको हो ।

‘स्थानीय तहहरुले आइसोलेसन निर्माण गर्न ढिलाइ गरिरहेका छन् र निर्माण गरिएका आइसोलेसनमा पनि संक्रमित बस्न मानेका छैनन्’, स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्ट भन्नुहुन्छ– ‘घरमा बसेका संक्रमितले होम आइसोलेसनको नियम पालना नगर्दा पनि घर–परिवार र गाउँघरमा संक्रमण बढेको छ ।’ बैतडीमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएसंगै हाल ६ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये हाल १ सय १५ जना मात्रै संस्थागत आइसोलेसनमा रहेका छन् भने अन्य सबै होम आइसोलेसन तथा घरमै रहेका छन् ।आइसोलेसन निर्माण गरेका स्थानीय तहले त्यहाँ बस्ने संक्रमितको व्यवस्थापनमा चाँसो नदिँदा बस्न नमान्ने गरेको प्रमुख भट्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘स्थानीय तहहरुले आइसोलेसन मात्रै निर्माण गरे, त्यहाँ बस्ने संक्रमितको बसाइ तथा खानापिनाको व्यवस्थामा ध्यान दिएका छैनन् ।’ स्थानीय तहहरुले अनिवार्यरूपमा संक्रमितलाई संस्थागत आइसोलेसनमा बस्ने व्यवस्था गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

पाटन नगरपालिकामा १ सय १८ जना सक्रिय संक्रमित रहेकोमा बढीजसो होम आइसोलसनमा रहेका नगारपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । ‘संक्रमितहरु स्वास्थ्य अवस्था सामान्य छ भनेर संस्थागत आइसोलेसन बस्न मान्दैनन्’, उहाँले भन्नुभयो– ‘होम आइसोलसन बस्दा संक्रमण फैलँदै गएको छ ।’यसका साथै निषेधाज्ञा पूर्ण पालना नगर्दा पनि संक्रमण बढेको महराको भनाइ छ ।भारतबाट फर्किएकाहरु सीधै घरमा बस्दा पनि संक्रमणको जोखिम बढेको स्थानीय बासिन्दाको भनाइ छ । भारतबाट आएकाहरु गाउँघरमै घुमिरहेकाले उनीहरुबाट पनि संक्रमण फैलने डर भएको दोगडाकेदारका गणेश विष्ट बताउनुहुन्छ । संक्रमितको संख्या बढ्दै जानुका साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल पनि १३ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये १० जनाको अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ । अक्सिजन सपोर्टमा उपचार भइरहेकामध्ये पनि ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताउनुभयो । स्थानीय तहहरुले आइसोलेसन निर्माण गरिएका भएपनि अक्सिजन बिनाकै रहेका छन् ।

‘सकेसम्म स्थानीय तहहरुले निर्माण गरेका आइसोलसनमा संक्रमित राख्नुपर्ने हो, त्यहाँ अक्सिजनसहितको व्यवस्था गर्नुपर्छ ।’ –उहाँको कथन छ ।यसैबिच कोरोना संक्रमितको उपचारका लागि बैतडीका १८ ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरिएका छन् । जिल्लाका १० वटै स्थानीय तहका विभिन्न ठाउँमा कोरोना संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन सेन्टर स्थापना गरिएका हुन् ।जिल्लाका १८ ठाउँमा गरी २ सय ५६ बेडका आइसोलेसन सेन्टर तयार भएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।जिल्लामा ६ सय बढी सक्रिय संक्रमित भएपनि आइसोलेसनमा भने १ सय १५ जना मात्रै बसेका छन् । अरू सबै होम आइसोलेसनमा बसिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्