यी हुन् धूमपानबाट लाग्ने भयानक रोगहरु



धूमपानका धेरै असर छन् । अझ भनौं यसका फाइदा त केही छँदै छैनन्, नकारात्मक असरै मात्र छन् । धूमपान गर्ने व्यक्ति प्रत्यक्ष असरबाट प्रभावित हुन्छ भने उसका परिवारका सदस्य र साथीभाइ पनि अपत्यक्ष प्रभावित भइरहेका हुन्छन् । धूमपानले एकातिर विभिन्न खाले स्वास्थ्य समस्या निम्त्याउँछ भने अर्कातिर पारिवारिक, समाजिक र आर्थिक समस्या पनि थपिन्छ । यसबाट लाग्न सक्ने रोगहरु निम्न छन् ।

क्यान्सरः

सुर्तीमा ४० वटाभन्दा बढी क्यान्सरजन्य तत्व हुन्छन् । धूमपानका अम्मलीलाई धूमपान नगर्ने व्यक्तिलाई भन्दा २२ गुणा बढी फोक्सोको क्यान्सरको सम्भावना हुन्छ । जिब्रोको क्यान्सर दुई गुणा बढी, मुखको -यालग्रन्थि तथा श्वासनलीको क्यान्सर ६ देखि २७ गुणा बढी, घाँटीको क्यान्सर १२ गुणा बढी र भोजननलीको क्यान्सर ८ देखि १० गुणा बढी हुन्छ । त्यस्तै स्वरनली, आमाशय, मृगौला, प्यान्क्रियाज, आन्द्रा, मलद्वारको क्यान्सर पनि हुन सक्छ ।

मुटुसम्बन्धी रोग:

संसारमा एक तिहाइ मृत्यु मुटुसम्बन्धी रोगले हुने गर्दछ । मुटुरोग लाग्ने कारणमध्ये धूमपान एउटा प्रमुख कारण हो । हरेक वर्ष मुटुसम्बन्धी रोगका कारण विकासोन्मुख देशहरूमा १० लाखभन्दा बढी व्यक्ति मर्ने गरेका छन् । धूमपानले मुटुको धड्कन तीव्र पार्छ, उच्च रक्तचापको सम्भावना बढाउँछ । धमनीलाई अवरोध गर्दै हृदयाघातको कारण बन्न सक्छ । यसको असरले कोरोनरी आर्टरीसम्बन्धी रोग, हृदयाघात, एओर्टिक एनुरिजम, क्यारोटिड आर्टरीजस्ता रोग लाग्न सक्छ । जसबाट मानिसको अकालमै मृत्यु हुन सक्छ ।

मूत्रथैलीको क्यान्सर तथा गर्भपात:

धूमपानले पाठेघर तथा मूत्रथैलीको क्यान्सर हुने सम्भावना रहन्छ । गर्भ रहन नदिने समस्यासँगै धूमपानले गर्भावस्था र प्रसव अवस्थामा जटिलता ल्याउँछ । धूमपान गर्ने महिलाको शिशु कम तौलको जन्मने र पछि पनि स्वास्थ्य कमजोर हुने गर्छ । धूमपानका अम्मली गर्भवतीहरूमा गर्भपतनको सम्भावना दुई गुणा बढी हुन्छ । धुवाँमा भएको कार्बनमोनोअक्साइड र निकोटिनले भ्रूणलाई सास फेर्न कठिन पार्छ तथा सालनालबाट रक्तसञ्चारमा अवरोध ल्याई मृत बच्चा जन्मने गर्छ । अचानक गर्भमा शिशुको मृत्यु हुने (एसआईडी) रोग पनि धूमपानसँग सम्बन्धित छ । धूमपानले एस्ट्रोजिन नामक हर्मोन पैदा गर्न बाधा पु¥याउने हुनाले उमेर नपुगी महिनावारी बन्द गराउन सक्छ ।
कमजोर शुक्रकीट:

धूमपानले शुक्रकीट कमजोर बन्छ र शुक्रकीटको डीएनएलाई ह्रास गर्दछ । जसकारण बाँझोपन तथा जन्मजात खोट भएको शिशु जन्मने सम्भावना बढ्छ । धूमपानका कारण शुक्रकीटको संख्यामा कमी आउँछ र लिंगवरिपरि हुने रक्तसञ्चार कम गराउँछ । यसले अन्ततः नपुङ्सकता बढाउन सक्छ । धूमपान गर्नेहरूमा बाँझोपन बढी हुन्छ ।

टाउको खुइलिने:

धूमपानले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउने हुनाले विभिन्न रोग लाग्ने खतरा बढ्छ । कपाल झर्ने, मुखमा घाउ हुने, टाउको खुइलिने तथा हातमा पाप्रा आउने रोग लुपस इराइथेमाटोसस् धूमपानकै कारण हुने गर्छ ।

मोतिविन्दु:

धूमपानका अम्मलीमध्ये ४० प्रतिशतभन्दा बढीलाई मोतिया विन्दु भएको तथ्यांक छ । धुवाँले दुई किसिमबाट मोतिया विन्दु गराउन सक्छ । पहिलो, आँखालाई पीडा तथा बढी संवेदनशील बनाएर र दोस्रो, फोक्सोमा सोसिएका रसायन रक्तसञ्चारमार्फत आँखामा पुगेर । धूमपानले आँखाको दृश्यपटल (रेटिना) को मध्यभागमा क्षति पु¥याँउछ । धूमपान गर्नेहरूलाई आँखाको समस्याले छिटो सताउँछ । जसका कारण पढ्न, सवारी चलाउन, अनुहार चिन्न, रङ छुट्याउन र कुनै वस्तुलाई स्पष्ट देख्न कठिन पर्छ ।

चाउरी पर्नु:

धूमपान गर्नेहरूको बुढ्यौली लाग्नुअगावै छाला चाउरी पर्न थाल्छ । धूमपानले छालालाई चुस्त बनाउने भिटामिन ‘ए’ को शोषण गर्छ । रक्तसञ्चार प्रणालीलाई व्यवस्थित गर्ने प्रोटिनलाई नाश गर्छ । धूमपानका अम्मलीको खासगरी ओठ र आँखाको छेउमा छाला फुस्रो, अररो र स–साना मुजा पर्ने हुन्छ ।

श्रवणशक्ति कम:

धूमपानको धुवाँले रक्तनलीको भित्री सतहमा जमेर कानभित्र हुने रक्तसञ्चारमा कमी ल्याउँछ । जसले गर्दा अम्मलीको श्रवणशक्ति छिट्टै कमजोर हुने र बहिरो नै हुने सम्भावना रहन्छ । धूमपानका अम्मलीहरूमा अन्य व्यक्तिको तुलनामा कान पाक्ने रोग तीन गुणा बढी हुन्छ । कानको यस्तो संक्रमणले मेनिन्जाइटिस र अनुहारको पक्षघातसमेत हुन सक्छ ।

छालाको क्यान्सर:

धूमपानले छालाको क्यान्सर गराउँछ । धूमपानका अम्मलीहरूमा धूमपान नगर्ने मानिसमा भन्दा दुई गुणा बढी छालाको क्यान्सर हुने गर्छ ।
दाँत बिग्रने:

धूमपानले दाँत र मुखको स्वास्थ्य बिगार्छ । अत्यधिक मात्रामा दाँतमा लेउ जमाउनुका साथै दाँत पहेँलो हुने र अन्त्यमा दाँतमा संक्रमण भएर झर्न सक्छ । सामान्य मानिसभन्दा धूमपान गर्नेहरू झन्डै डेढ गुणा बढी छिटो थोते हुन्छन् ।

दम बढ्ने:

धूमपानले फोक्सोको क्यान्सरका साथै दम बढाँउछ । यसले फोक्सोमा अक्सिजन पु¥याउने नलीहरू अवरोध गरेर सास फुलाउँछ । धूमपानले दीर्घखोकी गराई पीपयुक्त खकार पैदा गर्दछ । बिस्तारै खोक्न र सास फेर्न गाह्रो हुन्छ ।

हाड कमजोर:

चुरोटको धुवाँमा कार्बनमोनोअक्साइड ग्यास हुन्छ । यो ग्यासले रगतको अक्सिजन बोक्ने क्षमतालाई १५ प्रतिशतले घटाउँछ । जसले हड्डीको घनत्व कम गराउँछ र सजिलै भाँचिन सक्ने बनाउँछ । घाउचोट लागेमा निको नहुने समय ८० प्रतिशतले वृद्धि गर्दछ । धूमपानका अम्मलीलाई ढाड दुख्ने समस्याको सम्भावना बढी हुन्छ ।

पेटको अल्सर:

धूमपानले ब्याक्टेरियाविरुद्धको पेटको प्रतिरोध क्षमता घटाउने हुनाले पेटको अमलपित्त र अल्सर हुन सक्छ । यसले खाना खाएपछि पेटको अम्ललाई निष्क्रिय पार्ने, पेटको क्षमता घटाएर पेटमा घाउ पार्छ । यस्तो घाउ निको हन गाह्रो हुन्छ र बारम्बार बल्झिरहने गर्दछ ।

स्नायु, नसा तथा धमनी सुन्निने रोग:

धूमपानले रक्तसञ्चारलाई असर पु-याउँछ । राम्ररी रक्तसञ्चार नहुँदा शरीरमा स्नायु, नसा तथा धमनी सुन्निने गर्छ । यस्ता समस्या आए शरीरको कोष तथा तन्तुहरू मर्ने गर्दछन् ।
– सनम शाक्य, नेपालगन्ज ।

प्रतिक्रिया दिनुहोस्