वीरगन्जमा कोभिड अस्थायी अस्पताल



वीरगन्ज, (नेस)
वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव भएपछि वीरगन्ज महानगरपालिकाले २ सय ३० शय्याको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । वीरगन्ज–१० घडीअर्वास्थित गोपाल मण्डली अतिथि सदनमा, महानगरपालिकाले शुक्रबारदेखि २ सय ३० शय्याको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।
गोपालमण्डली अतिथि सदनमा एक कार्यक्रम गरेर महानगर प्रमुख विजयकुमार सरावगीले कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टरको औपचारिकरूपमा उद्घाटन गर्नुभएको थियो । महानगरले सञ्चालनमा ल्याएको कोभिड अस्थायी अस्पतालमा पहिलो बिरामीका रूपमा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की भर्ना हुनुभएको छ । कार्कीमा दुई दिनअघि संक्रमण पुष्टि भएको थियो । पर्सा जिल्लामा संक्रमितको संख्या अप्रत्याशीतरूपमा बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र डीसीसीएमसीको मंगलबार बसेको बैठकले महानगरपालिकामा कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार वीरगन्ज महानगरपालिकाले भने २ सय ३० शय्याको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
महानगरले सन्चालनमा ल्याएको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टरमा सामान्य लक्षण भएका र लक्षण नदेखिएका संक्रमितलाई भर्ना गरी उपचार गरिने महानगर प्रमुख सरावगीले बताउनुभयो । सरावगीका अनुसार कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टरमा डीएम १ जना, एमडी २ जना र मेडिकल अफिसर ८ जना गरी ११ जना चिकित्सक खटाइएको छ । यसका साथै प्यारामेडिकल स्टाफ २१ जना, सरसफाइकर्मी ८ जना र १० जना प्रशासनिक कर्मचारी पनि खटाइएको नगर प्रमुख सरावगीले जानकारी दिनुभयो । यसैबीच वीरगन्ज महानगरपालिकाले शुक्रबारदेखि समुदायस्तरमा कोरोना परीक्षण कार्य पनि शुरु गरेको छ । संक्रमण दर बढ्दै गएपछि महानगरपालिकाले महानगरका वडा–वडामा पुगेर स्वाब संकलन अभियान शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्